४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो, बुवा र आमासहित चार जनाको मृत्यु

३२ जेठ,ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत्यु भएको हो ।

गाउँपालिकाको वडा नं. २, खेजेनिममा रहेको सो घरमा गाउँपालिका उपाध्यक्ष विकास साम्रा भने बस्थेनन् । वडाध्यक्ष भुपेन्द्र चौलागाईले पहिरोमा परेर चार जनाको मृत्यु भएको पुष्टि गरे । ‘पहिरोले उपाध्यक्षज्यूको घर बगाएको छ । बुवाआमा र बहिनीहरुको ज्यान गएको छ,’ उनले भने, ‘ढुंगा माटोको दुई तले घर पुरै बगाएको छ । हामी खोज तथा उद्धारको काम गरिरहेका छौँ ।’

वडाध्यक्ष चौंलागाईका अनुसार उपाध्यक्ष लिम्बू भने गाउँकै अर्को घरमा बस्दै आएका थिए । पहिरोले घरमा रहेका करिब ५० वटा बाख्रा र कुखुरा लगायत चौपाया पनि बगाएको छ ।

वडाध्यक्ष चौंलागाईका अनुसार बाढीका कारण फक्ताङलुङ गाउँपालिकामा बुधबार पनि दर्जनौँ पुलहरु बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्