३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

पत्रकारलाई निर्मम प्रश्न गर्नुस् भने, प्रश्नै नसुनी हिंडे

३२ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पत्रकारलाई निर्मम प्रश्न गर्न आग्रह गरे पनि प्रश्नै नसुनी कार्यक्रम स्थगित गरेका छन् ।

गृह मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा उपलब्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले पत्रकारलाई निर्ममभन्दा निर्मम प्रश्न गरिराख्न आग्रह गरे । तर कार्यक्रमको अन्त्यमा पत्रकारको एउटा पनि प्रश्न नसुनी उनी कार्यक्रम हलबाट बाहिरिए ।

‘यहाँहरूले निरन्तर हाम्रा कुरा, काम सार्वजनिक गरिदिएर नागरिककहाँ पुर्‍याइदिएर जुन साथ र सहयोग दिनुभएको छ, त्यसको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ लामिछानेले भने, ‘आगामी दिनमा तपाईंहरूको निर्ममभन्दा निर्मम प्रश्नहरू रहुन् । तपाईंका विश्लेषण कडाभन्दा कडा रहुन् । यो के भएको, कसो भएको चुनौतीका साथ भन्नुहोला ।’

यति भनिसकेपछि गृहमन्त्री लामिछानेले मन्त्रालय मातहतका निकायलाई धन्यवाद दिएर कार्यक्रम रोके । कार्यक्रम हलबाट उनी निस्कन लागेपछि पत्रकारहरूले प्रश्नको जवाफ दिन आग्रह गरे । उनी बाहिरिन लाग्दा एक पत्रकारले भने, ‘गृहमन्त्रीज्यू, तपाईंले जवाफ दिनुपर्दछ ।’

उनको प्रश्नमा गृहमन्त्री लामिछाने केही बोलेनन् । अर्का पत्रकारले सोधे, ‘निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? गृहमन्त्रीज्यू तपाई किन भाग्नुभयो । किन डराउनुभयो ।’ उक्त प्रश्नको पनि गृहमन्त्रीले जवाफ दिएनन् ।

गृहमन्त्रीसँग दोहोरो सवाल जवाफ पत्रकारको हुन पाएन । आफ्नो सय दिने कार्यकालको उपलब्धि सुनाएका गृहमन्त्रीले प्रश्न सुन्नै चाहेनन् ।

उपलब्धि सुनाउने क्रममा उनले अनुसन्धानमा भइरहेका कुरा बाहिर ल्याउन नमिल्ने हुनाले त्यसबारेमा बोल्न नहुने बताए । लामिछानेले भने, ‘कुनै पनि विषय होस् । त्यसमा कम्प्रमाइज हुँदैन । कतिपय केसमा जटिलताका कारणले समय लागेको छ । अनुसन्धान भन्ने चिज पूर्वाग्रह राखेर गरिने चिज होइन ।’

अब बोलेर होइन, आफ्ना कामले जवाफ दिने सोचमा आफू रहेको उनले सुनाए । लामिछानेले भने, ‘हामीले जे गर्‍यौं, भयंकर गर्‍यौं । ऐतिहासिक गर्‍यौं भन्ने पक्षमा हामी छैनौं । ऐतिहासिक त अब गर्नुपर्नेछ । सय दिनमा आधार बनाउने काम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्