८ आश्विन २०८१, मंगलवार
मनोरन्जन मुख्‍य समाचार

मंसिर १ मा अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’

३२ जेठ, काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले प्रतिष्पर्धा गर्ने बताए । ‘म नेपाली कलाकारिता र कलाकारप्रति उच्च सम्मान गर्दछु । त्यसैले यो क्षेत्रको विकास, विस्तार र समृद्धिका लागि केही पहल गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागेको हुँ,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

अवार्ड आयोजक टिममा अभिनेता शिव श्रेष्ठ, अभिनेता सुनील थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार सुनील कटवाल र पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा समाजसेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन गरियो । अभिनेत्रीत्रय भुवन चन्द, वसुन्धरा भुसाल, चैत्य देवी, अभिनेता नीर शाह, शिव श्रेष्ठ, चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का र सिन्धुपाल्चोक समाजका संस्थापकसमेत रहेका यज्ञलालले संयुक्त रुपमा समाजको उद्घाटन गरे ।

संस्थाका अध्यक्ष फुर्वा ग्याल्बो लामाले आफूहरुले संसारभर छरिएर बसेका सिन्धुपाल्चोकबासीलाई एकत्रित गरी समाजसेवाको कार्यलाई तीव्रता दिनका लागि समाज गठन गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्