३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

अष्ट्रेलियालाई स्कटल्यान्डको १८१ रनको लक्ष्य

२ असार , अमेरिका । स्कटल्यान्डले आईसीसी टी२० विश्वकप २०२४ मा अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।

युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । जर्ज मुन्शे २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए ।

ओपनर माइकल जोन्स २ रनमै आउट भएका थिए । त्यसपछि जर्ज मुन्शे र ब्रेन्डन म्याकमुलेन ४८ बलमा ८९ रनको सानदार साझेदारी गरेका थिए ।

मुन्शे म्याक्सवेलको नवौं ओभरको अन्तिम बलमा डीप मिडविकेटमा क्याच आउट हुँदा स्कटल्यान्ड ९२-२ को अवस्थामा थियो । त्यसपछि भने आक्रामक क्रिकेट खेल्न सकेन ।

कप्तान रिची बेरिंग्टन ३१ बलमा १ चौका र २ छक्कासहित ४२ रनमा नट आउट रहे । म्याथ्यु क्रस १८ र माइकल लिक्स ५ रनमा आउट भए । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । एश्टन अगर, नाथन एलिस र एडम जाम्पाले १-१ विकेट लिए ।

समूह बी मा स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ खेल नतिजाविहीन हुँदा ५ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । ४ खेलमा ५ अंक भएको इंग्ल्यान्डको नेटरनरेट ३.६११ र स्कटल्यान्डको २.१६४ छ । स्कटल्यान्ड विजयी भएमा सुपर-८ मा पुग्नेछ । स्कटल्यान्ड पराजित हुँदा इंग्ल्यान्ड सुपर-८ मा पुग्नेछ । अष्ट्रेलिया सुरुवाती तीन खेलमा जितका साथ सुपर-८ मा पुगी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्