७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाज

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह

४ असार, काठमाडौँ ।  राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत चुरेवासीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले मधेसवासीहरु चुरे बचाउ तथा खानेपानीको माग राख्दै धर्नामा बसिरहेको उल्लेख गर्दे उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराए।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेसवासी पानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसे पनि खानेपानीको विषयमा र चुरे दोहन नियन्त्रणका लागि सरकार गम्भीर नरहेकामा असन्तुष्टि जनाएका छन् । “चुरे दोहनका कारण मधेसमा खानेपानीको अभाव भइरहेको, यसमा सरकारको ध्यान जाओस,” उनले भने ।
सांसद किरणबाबु श्रेष्ठले सरकारी कर्मचारीहरु न्यून तलबमा काम गरिरहेको उल्लेख गर्दै यस वर्ष पनि तलब नबढेकोमा असन्तुष्टि जनाएका छन् । सांसद पदमबहादुर परियारले स्वास्थ्य बीमा कार्यक्रम सफल भए पनि तर बीमा गराउने कर्मचारीले प्रोत्साहन रकम पाउन नसकेको गुनासो गरे । सांसद रुक्मिणी कोइरालाले ताप्लेजुङमा बाढीपहिरोको कारण मुत्यु भएका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन माग गरे ।
सांसद रेणु चन्दले कर्मचारीहरुलाई अतिरिक्त काम गरेबापत प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिए । सांसद विष्णुकुमारी सापकोटाले विगत १२ दिनदेखि छोरीको न्यायको खोजीमा अनशनरत रुवी खानको जीवनरक्षाको माग गरे ।

प्रतिक्रिया दिनुहोस्