७ आश्विन २०८१, सोमबार
समाज

सुर्खेतका तीन किसान पुरस्कृत

 ४ असार , भेरीगङ्गा (सुर्खेत) । त्यहाँका तीन किसान मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पुरस्कृत भएको छन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसायबाट राम्रो आम्दानी गरेको भन्दै  त्यहाँका तीनजना किसानलाई पुरस्कृत गरेको हो ।
भैँसीपालन र तरकारीखेती गर्दै आउनुभएका गुर्भाकोट नगरपालिकाका गोविन्द ओली, च्याउखेती गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेत र श्याम कृषि फार्म सञ्चालन गर्दै आएका वीरेन्द्रनगर-३ का श्याम पुरी पुरस्कृत भएको मन्त्रालयले जनाएको छ ।
उहाँहरुलाई नमूना किसानका रुपमा छनौट गर्दै क्रमशः रु ४० हजार, रु ३० हजार र रु २० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले जनाएको छ ।
पुरस्कारले आफूलाई हौसला मिलेको किसान ओलीले बताए । “यस सम्मानबाट कृषि क्षेत्रमा अझ धेरै केही गरौँ भन्ने उत्साह थपिएको छ”, उनले भने । चार वर्ष वैदेशिक रोजगारीमा बिताएपछि स्वदेशी फर्किएर कृषिमा आबद्ध भएको  उनले कृषि व्यवसायमार्फत मासिक रु दुई लाख रकम बचत गर्दै आएको सुनाए । उनले १० जनालाई रोजगारी पनि दिएका छन् ।
वीरेन्द्रनगर-११ मा च्याउखेती गर्दै आउनुभएका इमानसिंह बस्नेतले पुरस्कार प्राप्त गरेपछि आफूले कृषिमा राम्रो काम गरेको रहेछु भन्ने महसुस भएको भन्दै खुसी व्यक्त गरे। पुरस्कृत श्याम पुरीले पनि यो सम्मानले आफूलाई उत्साहित बनाएको बताए । उनले  कृषिबाट मासिक रु एक लाख रकम बचत गर्दै आएका छन् ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कृत किसानलाई बधाई दिँदै प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । “हामीले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँ”, उनले भने , “व्यावसायिक कृषिमा लाग्ने किसानलाई सरकारले सहयोग गर्छ ।” उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर प्रदेश सरकारले आगामी आवको बजेट बिनियोजन गरेको भन्दै स्वदेशमै कृषि व्यवसायमा रमाउन सके विदेशिनु नपर्ने धारणा राखे।
सो अवसरमा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले सुर्खेत जिल्ला पछिल्लो समय कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै गएको भन्दै युवाको कृषिमा आकर्षण बढ्दै गएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्