३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार

अभिनेता सुनील शेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे

५ असार, काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टी बलिउडको उत्कृष्ट एक्सन हिरोमा पर्छन् । उनले सन् ९० को दशकको सुरुवातमा फिल्म ‘बलवान’बाट आफ्नो करियर सुरु गरेका थिए । हालैमात्र एक अन्तरवार्तामा सुनीलले पहिलो फिल्म रिलिज हुनुअघि आफूले ४० फिल्म साइन गरेको खुलासा गरेका छन् ।

भारतीय सिंह र हर्ष लिंबाचियाको पोडकास्टमा सुनीलले यो कुराको खुलासा गरेका हुन् । ‘११ या १२ वर्षको उमेरमा म मार्सल आर्ट गर्थें । मैले ब्रुस लीलाई देखेर मार्सल आर्ट गर्नुपर्छ भन्ने सोचें । मलाई जसरी पनि ब्रुस ली बन्नु थियो, किनकी म त्यसमा उपर्युक्त थिएँ । मलाई कसैले सहयोग गरेको खण्डमा म हरेक काम दुई दिनमै सिक्थें । १६ वर्षको उमेरमा दुई वर्ष मार्सल आर्ट सिकेर मलाई सिनियर बनाइदिए । अनि मैले इण्डो–टिबेटियन बोर्डर पुलिस र महाराष्ट्र पुलिसलाई सेन्सेई परवेज मिस्त्रीको अधिनमा रहेर तालिम दिन्थें’, सुनीलले भनेका छन् ।

 

उनले अगाडि भनेका छन्, ‘एकपटक लामो समयपछि महाराष्ट्र पुलिसको डेमोमा राजीव राय(निर्देशक)ले मलाई देखे । शब्बीर मेरो साथी थियो । राजीवले शब्बीरलाई ‘यो केटा को हो, राम्रो एक्सन गर्छ’, भनेर सोधेछन् । त्यो बेला भिडियोको समय थियो, फिल्महरु चलेका थिएनन् । उनलाई मास फिल्म चाहिएको थियो । एक्सन मासको थियो, त्यहीकारण मैले मौका पाएँ । राजीवले मलाई आफ्नो बनिरहेको फिल्ममा हिरो बिरामी भएकाले ऊ ठीक भएपछि काम गर्ने सहमति भयो ।’

सुनीलले कैयौं फिल्मको अफर पाए, तर सबै फिल्महरु सुटिङ नभई रोकिन्थे । ‘जेपी दत्ताले मेरो फोटो बाहिर ल्याएका थिए । उनले मेरो ठूलो–ठूलो पोस्टर बनाएका थिए, कैयौं निर्देशकले मलाई देखे । प्रहलाद(कक्कड)जीले मलाई साइन गरे । प्रहलादजीको फिल्म ‘आरजू’ दीपक शिवदसानीका साथ सुरु गरें । म दीपक, राज बब्बर, शत्रु(शत्रुघ्न सिन्हा)जीको अभिनय रहेको यो फिल्म ९९ प्रतिशत सुटिङ भइसकेको थियो । तर केही समस्या भएर यो फिल्म रोकियो । त्यो मेरा लागि अभिनय कक्षा नै थियो, किनकी म कहिल्यै अभिनय एकेडेमी गइनँ’, उनले भनेका छन् ।

 

उनले अगाडि भनेका छन्, ‘फेरी प्रहलादजीले ‘एक और फौलाद’ घोषणा गरे । यो फिल्मका निर्देशकको फिल्म हिट भएकाले उसले आफूले ठूलो हिरो पाएको बताए । अनि नयाँ हिरोसँग काम नगर्ने भनेपछि त्यो फिल्म पनि बन्द भयो । त्यसपछि ‘वक्त हमारा है’ र ‘बलवान’ आयो । त्यहाँबाट मेरो यात्रा सुरु भयो । आफूलाई असफल त ठान्दिनँ, तर धेरै निराशा देखें । तर मानसिक रुपमा म बलियो थिएँ, किनकी म एथलेट थिएँ । हार्न जान्दथें । कहिले हार्ने र कहिले जित्ने थाहा थियो ।’

सुनीलका अनुसार ‘बलवान’ रिलिज अघि उनका ४० प्रोजेक्ट थिए । ‘तर जब बलवानको रिपोर्ट बाहिर आयो र एक्सनको रिपोर्ट निस्कियो, मैले त पहिलो फिल्म रिलिज अघि नै ४० फिल्म साइन गरिसकेको थिएँ । हामी एकै वर्षमा २५ देखि ३० फिल्म सुट गथ्र्यौं । एकै दिनमा तीनवटा फिल्मको सुटिङ भ्याउँथें । पेन्ट त्यही, तीनवटा अलग टीसर्टका साथ । फिल्मिस्तानमा सेट नम्बर १, २, ३ तीनवटै मेरो सेट थियो,’ उनले भनेका छन् ।

सुनीलका पिता वीरपा रेष्टुरेन्टका मालिक थिए । उनको पिताको यात्रा निकै संघर्षपूर्ण थियो । सुनील तीन सन्तानमध्ये कान्छा थिए । उनको पिता ९ वर्षको उमेरमा घरबाट भागेका थिए । एक होटल मालिकले उनलाई पालेको काम दिए । त्यसपछि विस्तारै उनी रेष्टुरेन्ट व्यवसायी बने ।

 

प्रतिक्रिया दिनुहोस्