३१ भाद्र २०८१, सोमबार
ब्लग समाज

नगरपालिकाको शिक्षा शाखाले नपत्याएको शिक्षक म

-अनिल लामा 

शिक्षा भनेको हामी मानिसलाई बाटो देखाउने एउटा बाटो हो । शिक्षा भनेको ज्ञान हो र शिक्षा विना हामी मानिसको जीवन पूर्ण हुन सक्दैन । हामी मानिसलाई हाम्रो जीवनयापन गर्नका लागी तयार पार्ने प्रमुख माध्यम नै शिक्षा हो । शिक्षाको उज्यालो माध्यमबाट कुनै पनि मानिस बञ्चित हुनु भनेको उसको जीवनको गहिराइहरुलाई बुझ्न नसक्नु हो । असल, राम्रो शिक्षारुपी ज्ञानबाट नै हामी मानिसले राम्रो–नराम्रो,असल–खराब आदि छुट्याउन सक्छौँ ।

शिक्षालाई देशको विकासको लागी महत्वपूर्ण पूर्वधारको रुपमा लिइन्छ र शिक्षा विना मानिसको जीवन अन्धकार हुन्छ र शिक्षाले अन्धकारबाट उज्यालोको बाटो पहिल्याउन मद्दत गर्छ । जो मानिस शिक्षित हुन्छ उसले आफ्नो गाउँ, ठाउँ, समाज र व्यवहारलाई परिवर्तन गर्न सक्छ ।

“दिनप्रतिदिन विद्यार्थीहरुमा पनि सकारात्मक परिवर्तन आइरहेकै थियो भने विद्यालयको पढाई साथसाथै अतिरिक्त क्रियाकलाप पनि विद्यालयको निति नियम अनुसारनै संचालन भइरहेकै थियो र विद्यालयले नगरपालिकाको साथसाथै समाजमा छुट्टै पहिचान बनाउन सफल भैसकेको थियो ।” 

विश्वका विभिन्न देशको कुरा गर्ने हो भने शिक्षक र शिक्षण पेशालाई एक प्रतिष्ठित पेशाको रुपमा लिइन्छ र त्यही अनुसार शिक्षक र शिक्षण पेशालाई उच्च माया, मान, सम्मान, दाम पनि दिइन्छ र दिइएको पाइन्छ । विशेषगरी यूरोपियन मूलुक जर्मनीको कुरा गर्ने हो भने जर्मन देशमा शिक्षक, शिक्षक पेशालाई एक आदर र योग्य पेशाको रुपमा लिइन्छ र शिक्षक र शिक्षण पेशालाई त्यही अनुसारको सेवा सुविधा उपलब्ध गराइदिएको हामीले सुन्न, हेर्न र देख्न सक्छौँ जसको कारणले जर्मनीले शिक्षा क्षेत्रमा ठूलो छलाङ्घ र फड्को मारेको हामीले अनुमान गर्न सक्छौँ ।

अहिलेको युगलाई विज्ञान र प्रविधिको युग भनेर भन्ने गरिन्छ र विभिन्न विज्ञान र प्रविधिका आविष्कारहरुले हाम्रो दैनिकी जीवन चलाउन सहज र सहयोग पु¥याएको छ । उदाहरणको लागी हामीले फेसबुक, म्यासेन्जर, भाइबर, ह्वाट्सएप आदिलाई पनि विज्ञान र प्रविधिको वरदान र सुन्दर उपहारको रुपमा पनि लिन सक्छौँ जसको कारणले हामीले लेख्न, पढ्न र संसारमा भएको हरेक गतिविधिलाई क्षणभरमै हेर्न, देख्न र अध्ययन गर्न सक्छौँ र शिक्षा र शिक्षण क्षेत्रमा पनि ठूलो टेवा पु¥याएको देख्न सक्छौँ ।

शिक्षा र शिक्षण पेशाको कुरा गर्ने हो भने हाम्रो देश नेपालमा कमाइखाने भाँडोको रुपमा लिन सकिन्छ । राजनिति गर्ने साझा अखडा वा साझा चौतारीको उपनाम दिँदा पनि फरक नपर्ला भन्न सकिन्न किनभने शिक्षाको ज्योति जस्तो बाँड्ने मन्दिरमा पनि राजनितिक हालिमालीले कलिला अबोध बालबालिकाहरुको भविष्य अन्धकारमा धकेलिएको छ ।

“सायद  मलाई मेरो राजनितिक पहुँच कमजोर भएको हुनाले वा नगरपालिकाको अनुसार

म अर्कै नगरपालिकाको नगरबासी व्यक्ति भन्ने ठानेर

मलाई त्यो रिक्त दरबन्दीमा राख्न र दिन नखोजिएको होला ।” 

हुन त म विश्वको नाम कहलिएको र नामुख प्रशिद्ध लेखक, ब्लगर, गीतकार, कवि होइन तर यो लेखमार्फत आफ्नो अनुभवहरु साट्न, बाँड्न मन लागेको हुनाले आफ्ना तितामिठा अनुभवहरु लेख्दैछु र आफ्ना अनुभवहरु यसै लेखमार्फत प्रस्तुत गर्दैछु ।

OOO

कुरा आजभन्दा ३ महिना अगाडिको म घरनजिकैको एउटा सरकारी सामुदायिक विद्यालयमा विगत डेढ वर्ष अगाडिदेखी नगरअनुदान कोटामा अध्यापन गराउँदै आएको थिएँ र कामपनि राम्रै गतिमा चल्दै आएको थियो । विद्यालयको साथसाथै विद्यार्थीहरुमाझ, अभिभावकहरुमाझ र समाजिक काम गरी नाम कमाउन पनि सफल भएको थिएँ । नगरपालिकाको नगर अनुदान कोटामा पढाउने भएको हुनाले नगरपालिकामा भएका विद्यालयहरुमा भएका शिक्षकहरुको सूचिमा मेरो पनि नाम राखिएको थियो । काम राम्रोसँग चल्दै गएको थियो दिनहरु पनि राम्रैसँग बित्दै गएको थियो । दिनप्रतिदिन विद्यार्थीहरुमा पनि सकारात्मक परिवर्तन आइरहेकै थियो भने विद्यालयको पढाई साथसाथै अतिरिक्त क्रियाकलाप पनि विद्यालयको निति नियम अनुसारनै संचालन भइरहेकै थियो र विद्यालयले नगरपालिकाको साथसाथै समाजमा छुट्टै पहिचान बनाउन सफल भैसकेको थियो ।

“सायद म पनि कुनै राजनितिक दलको मान्छे , विद्यालय व्यवस्थापन समितिको नजिकको मान्छे ,

शिक्षक अभिभावकसंघको आफन्त वा नजिकको मान्छे भएको भएँ सायद त्यो कोटामा मैले जागीर खान पाउँथे होला

तर म यो सबै क्षेत्रबाट बाहिरको मान्छे परेको हुनाले होला विद्यालयको साथसाथै नगरपालिका,

व्यवस्थापन समिति र शिक्षक अभिभावक संघबाट साथ नपाएको ।”

एकदिन विद्यालयमा नयाँ शिक्षकको लागी रिक्त रहेको दरबन्दी कोटामा शिक्षक चाहिएको कुराको बारेमा मैलेपनि सुने र विद्यालय प्रशासनमा मैले मेरो पढाइ, काम गरेको कामको अनुभव र कागजपत्रको आधारमा म सक्षम भएको हुनाले मैले त्यो शिक्षक कोटा मलाई दिलाउन आग्रह गरेँ तर विद्यालको प्रतिउत्तरमा, सर तपाईलाई हामीले यो कोटामा शिक्षक नियुक्त गर्न सक्दैनौँ, तपाईलाई र तपाईको कागजपत्रहरु नगरपालिकामा लिनुभएन र लिन मान्नुभएन भन्ने उत्तर मैले विद्यालयको प्रशासनबाट पाएँ । सायद  मलाई मेरो राजनितिक पहुँच कमजोर भएको हुनाले वा नगरपालिकाको अनुसार म अर्कै नगरपालिकाको नगरबासी व्यक्ति भन्ने ठानेर मलाई त्यो रिक्त दरबन्दीमा राख्न र दिन नखोजिएको होला ।

आखिर हामीजस्ता सोझा साझा जनतालाई नगरपालिकामा नगरपालिकाले नगरवासीहरुलाई सेवा सुविधा दिने बेलामा नचिनेको जस्तो गर्ने, अर्कै अन्तरिक्षबाट आएको मान्छे जस्तो राम्रो व्यवहार नगर्ने तर त्यही व्यक्तिलाई जब स्थानीय चुनाव आउँछ तपाई मेरो पार्टिको मान्छे, तपाई हाम्रो पार्टिको सक्रिय कार्यकर्ता आगामी दिनमा हामी तपाईलाई यस्तो गछौँ, उस्तो गछौँ भनेर आश्वासन मात्र कति दिने र त्यस्ता बकुमफुसे आश्वासनमा हामी जस्ता सोझा साझ जनता कहिलेसम्म आश्वासनको भरमा बस्ने ।

सायद म पनि कुनै राजनितिक दलको मान्छे , विद्यालय व्यवस्थापन समितिको नजिकको मान्छे , शिक्षक अभिभावकसंघको आफन्त वा नजिकको मान्छे भएको भएँ सायद त्यो कोटामा मैले जागीर खान पाउँथे होला तर म यो सबै क्षेत्रबाट बाहिरको मान्छे परेको हुनाले होला विद्यालयको साथसाथै नगरपालिका, व्यवस्थापन समिति र शिक्षक अभिभावक संघबाट साथ नपाएको ।

यी र यस्ता विकृती तथा बेतिथिले गर्दा होला सायद नेपाली युवा/युवतीहरु रहरले नभइकन बाध्यताले पनि अर्को मुलुक जान बाध्य बन्नु परेको ।

 

अनिल लामा, नागर्जुन नगरपालिका ०८, भिमढुङ्गा, काठमाडौँ

 

प्रतिक्रिया दिनुहोस्