७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

रुपचन्द्र विष्टको २५ औँ स्मृति दिवस, थाहा नगरपालिकामा स्थानीय विदा

७ असार, हेटौंडा । थाहा अभियानका नेता स्वर्गीय रुपचन्द्र विष्टको २५ औँ स्मृति दिवस शुक्रबार मनाइदैछ । सो अवसरमा थाहा नगरपालिकाले स्थानीय विदा दिएको छ ।

मकवानपुरको साविक दामन गाविस–१ हालको थाहा नगरपालिका–३ मा जन्मिएका ‘थाहा’ रुपचन्द्र विष्टको २०५६ साल असार ७ गते वीर अस्पतालमा मृत्यु भएको थियो । कथनी र करनी एउटै भएका विष्ट २०३८ र ०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पंचायतका सदष्यमा विजयी भएका थिए । १९९० पुस २६ गते जन्मिएका विष्टले मुलुकमा ईमानको राजनीति गरेका थिए ।

निर्वाचन कसरी लड्नु पर्छ र जनप्रतिनिधि कस्तो हुनु पर्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनको त्याग तपस्यालाई चिरस्थायी राख्नका लागि ०७३ सालमा दामन, पालुङ, आग्रा, टिष्टुङ, चित्लाङ र बज्रवराही गाविस समेटेर थाहा नगरपालिका नामकरण गरिएको थियो ।

स्थानीयबासीले अहिले पनि विष्टलाई सम्झिएर सम्मान गर्ने गर्दछन् । थाहा नगरपालिकाको शिखरकोट बजारमा उनको पूर्णकदकको सालिक समेत निर्माण गरिएको छ ।

थाहा अभियानमा विष्टको योगदानलाई उच्च कदर गर्दै नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको मेयर विष्णु विष्टले बताए । विष्टको स्मृतिमा शुक्रबार थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका क्षेत्रमा प्रवचन, गोष्ठी वृक्षारोपणजस्ता विभिन्न कार्यक्रम गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्