४ आश्विन २०८१, शुक्रबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

‘नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने’

९ असार, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताएका छन् । दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम् प्रयोग (कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रम शनिबार उद्घाटन गर्दै उहाँले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई देशमै उपयोग गर्नेबारे सबै पक्षले छलफल चलाउनुपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारले पर्यटन, पर्यावरण, कृषि, जलस्रोतलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी नेपाली श्रमबजारलाई यहीँ खपत हुने वातावरण सृजना गर्ने उनले जानकारी दिए । “नेपाली श्रमिकको श्रममूल्य नेपालमा कम रहेकाले विदेशिनुपर्ने बाध्यता रहेको छ”,मुख्यमन्त्री महराले भने, “नेपाली उत्पादनको वृद्धि र श्रममूल्य समयसापेक्ष बनाउन जरुरी देखिन्छ ।”

राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोड दिन सुझाव दिए ।

कार्यक्रममा विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षकलगायत सहभागी थिए । मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई सही रूपमा प्रयोग गर्न जरुरी भएको बताउँदै दुरुपयोग हुने विषयवस्तुलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।

“नेपालको शिक्षालाई प्रविधिसँग जोड्नु जरुरी छ”,उनले भने, “प्रविधि र सञ्चारसँग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।”नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी विदेशिने क्रम बढ्दो रहेकाले यस विषयमा अनुसन्धान र खोज गरी नेपालमा अध्ययन गर्ने वातावरण तयार गर्न उनले आग्रह गरे ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेख भण्डारी, पूर्व स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा शैलेन्द्र गिरी, नेपाल टेलिभिजनका नायब महाप्रबन्धक इन्जिनियर चिन्तामणि बराल र नेपाल टेलिकमका इन्जिनियर रविराज यादवले कृत्रिम बौद्धिकतासम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाइदाका विषयमा प्रशिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्