७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाज

६ महिनाको अवधिमा १२ ओटा मानवअधिकार उल्लंघनका घटना

९ असार, मुगु । मुगुमा ६ महिनाको अवधिमा १२ ओटा मानवअधिकार उल्लंघनका घटना भएका छन् ।

आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका जिल्लाका विवरणमाथि  गरिएको अर्धवार्षिक समीक्षामा मुगुमा २०८० मंसिर ३१ गते देखि २०८१ जेठ १९ गतेसम्म १२ ओटा घटनाका उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले जानकारी गराए ।

मुगुको सदरमुकाम गमगढीमा सम्पन्न कार्यक्रममा शाहीले प्रस्तुत गरेको विवरणमा महिला हिंसाका घटना बढी छन् ।

६ महिनाको तथ्यांक अनुसार जिल्लामा महिला हिंसाको ७ ओटा, कुटपिट सम्बन्धि ४ वटा र दुव्र्यवहार सम्बन्धि एउटा घटना भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय मुगुका प्रमुख नायब उपरीक्षक बिरेन्द्र थापाले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पारेका थिए । साथै,  उनले जिल्लामा हुने मानव अधिकार उल्लंघनका घटनाहरुमध्ये सबै प्रहरी समक्ष नपुग्ने र पुगेका घटना पनि दर्ता नभएर मेलमिलापमा टुङ्ग्याउने गरेको भन्ने इन्सेक प्रतिनिधिले गरेको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे । थापाले आगामी दिनहरुमा सबै विवरण स्पष्ट राख्ने प्रतिबद्धता समेत जनाए ।

नागरिक समाज मुगुका अगुवा रुप बहादुर मल्लले इन्सेकले मानव अधिकार उलंघन सम्बन्धिका घटना दर्ताका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।  मल्लले नागरिकमा रहेको कम चेतनाका कारण जिल्लामा घटेका कतिपय घटना बाहिर नआउने र बाहिर आए पनि उजुरी गर्ने प्रकृया सम्म नपुगी गाउँमै घटना मिलाउने हुने गरेको धारणा राखे । स्थानीय तहका न्यायिक समिती कमजोर भएको कारण मानव अधिकार उल्लंघनका घटनामा पनि उजुरी नै नपर्ने गरेको भनाई उनको थियो ।

नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले पनि मुगुका नागरिकमा आफ्ना अधिकारबारे चेतना फैलाउनुपर्नेमा जोड दिए ।

मल्लले मुगुमा अखाद्य (मिति सकिएका) खाद्यान्न आउने गरेको, अभाव र अज्ञानका कारण जनताले त्यही अखाद्य खानेकुरा प्रयोग गर्ने गरेको भन्दै खाद्य अधिकारबारे विशेष जोड दिएर जनचेतना फैलाउन इन्सेकलाई आग्रह गरे ।

कार्यक्रममा उपस्थित पुर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवाल र सरकारी वकिल कार्यलय मुगुका अधिवक्ता चन्द्र बहादुर खत्रीले मुगुमा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु हुने गरेता पनि ति घटना स्थानीय तहको न्यायिक समिति र प्रहरी चौकिमै मेलमिलाप गराइने भएकाले इन्सेक सम्म नपुग्ने गरेको अनुभव सुनाए ।

 

 

प्रतिक्रिया दिनुहोस्