८ आश्विन २०८१, मंगलवार
अर्थ खेलकुद मुख्‍य समाचार

बजेटको आकार सानो भएको कारण पूर्वाधारभन्दा कार्यक्रमलाई प्राथमिकता दिनुपर्यो : खेलकुदमन्त्री श्रेष्ठ

९ असार, काठमाडौं । युवा तथा रोजगारमन्त्री बिराजभक्त श्रेष्ठले क्रिकेटका सम्भावनालाई सम्बोधन गर्नेगरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रत्येक निर्वाचन क्षेत्रमा बजेट विनियोजन नगरिए पनि लायकको स्टेडियम भने बनाएरै छोड्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘क्रिकेटको क्रेज एकदमै बढेको र मूलपानी क्रिकेट रङ्गशालालाई सरकारले गौरवको आयोजनाका रुपमा लिएको हुँदाखेरि ५० करोड रुपैयाँ विनियोजन गरेको छु । हरेक माननीयज्यूको क्षेत्रमा बजेट जान सकेन होला तर राष्ट्रिय रुपमा गौरव गर्न लायकको स्टेडियम चाँहि बन्दैछ । कनिका छरेजस्तो बजेटले हुने पनि केही होइन । मूलपानीले क्रिकेटका सम्भावनाहरुलाई सम्बोधन गर्छ ।’

११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजना गर्ने बताउँदै मन्त्री श्रेष्ठले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट छुट्याएको बताए ।

यद्यपि सानो आकारको बजेट भएका कारण पूर्वाधार भन्दाबढी कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपरेको मन्त्री श्रेष्ठको भनाई छ ।

‘११ औं राष्ट्रिय खेलकुद मधेशमा हुँदैछ । त्यसको तयारीका लागि खेलकुद मन्त्रालयले चार करोड रुपैयाँ विनियोजन गरेको छ । रामजानकी रङ्गशाला पुनःनिर्माणका लागि पनि काम गरिरहेका छौं । यसपटक हामीले पूवार्धार भन्दा कार्यक्रममा बजेट विनियोजन किन गर्नुपर्यो भने मन्त्रालयको बजेट नै सानो छ । ६० करोड रुपैयाँ त हामीले १० औं राष्ट्रिय खेलकुदको लागि नै दिनुपर्ने भएको छ । कर्णाली सरकारले ५२ करोड रुपैयाँ खर्च गरेर संरचना बनाइसकेको भएर यसपटक कर्णाली सरकारले खेल सञ्चालन गर्न नसकेर कर्णालीवासीको पेट काटेर खर्च गर्नु न्यायोचित हुदैन । त्यसैले हामीले त्यो गर्नुपरेको छ,’उनको भनाइ छ ।

०००

प्रतिक्रिया दिनुहोस्