३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग

९ असार, गुल्मी । गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।
आगलागी घटनामा जिल्लामा सबैभन्दा प्रभावित इस्मा गाउँपालिकाका २८, मदाने गाउँपालिकाका १०, मुसिकोट नगरपालिकाका आठ, रुरुक्षेत्र गाउँपालिकाका सात र गुल्मीदरबार गाउँपालिकाका पाँच जनालाई आर्थिक सहयोग प्रदान गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिए ।
उहाँका अनुसार धुर्कोट गाउँपालिकाका पाँच, रेसुङ्गा नगरपालिकाका, छत्रकोट गाउँपालिकाका र मालिका गाउँपालिकाका दुई÷दुई र कालीगण्डकी गाउँपालिकाका एक जना गरी कूल ७० अग्निपीडित परिवारलाई रु १०÷१० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको हो ।
समाजले अग्निपीडितका लागि जापानमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सङ्कलित रकम गुल्मीका पत्रकार जनार्दन घिमिरेको नेतृत्वमा विभिन्न पालिकाका पीडितसमक्ष पु¥याइएको हो । केही स्थानमा आफैँ पुगेर र केही स्थानमा जनप्रतिनिधिमार्फत सहयोग पठाइएको घिमिरेले जानकारी दिए । उनका अनुसार समाजले जिल्लाका हरेक विपद्मा सहयोग र सहजीकरण गरिरहेको छ ।
कोभिडका बेला जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था र गुल्मी अस्पतालमा रु १५ लाख बराबरको स्वास्थ्यसामग्री समाजले प्रदान गरेको थियो । सोही अभियानमा नेपाल पत्रकार महासङ्घ गुल्मीले समाजलाई सहजीकरण गरेको थियो ।
विदेशमा भए पनि मातृभूमिप्रतिको सम्मान र नेपालीको माया भएकाले संस्थामार्फत लामो समयदेखि जिल्लावासीलाई सहयोग गरिरहेको भन्दै संस्थाका अध्यक्ष अधिकारीले खुसी व्यक्त गरे । उनले सहयोग सङ्कलन गर्ने सहयोगी मन र सहयोग प्रदान गर्न सहजीकरण गर्ने गुल्मेली पत्रकारलाई धन्यवाद दिए ।
अग्निपीडितलाई पठाएको सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले समाजले सामाजिक क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गरे। आगोले सबै सम्पत्ति जलेर नष्ट भएका परिवारको दुःखमा देखाएको सहानुभूति निकै उदाहरणीय रहेको भन्दै उनले आगामी दिनमा पनि सहयोग र सद्भावको निरन्तरताको आशा व्यक्त गरे ।
गुल्मेली समाज जापानले पठाएको उक्त रकम पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्