३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

अन्तिम खेलअघि ‘समूह–२’ को अवस्था : ‘गर या मर’ !

९ असार, काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आइतबार राति र सोमबार बिहान ‘सुपर–८’ चरणका दुई खेल हुँदैछन् । यी दुई खेलले ‘सुपर–८’ चरणको समूह–२’ बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लगाउने छ ।आइतबार रातिको खेलमा आयोजक राष्ट्र अमेरिकाले साबिक विजेता इङ्ल्यान्डलाई चुनौती दिँदैछ । उक्त खेल ब्रिजटाउनस्थित केनसिङ्टन ओभल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

अर्को खेल आयोजक राष्ट्र वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिच खेलिने छ । उक्त खेल एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान ६ः१५ बजे सुरु हुनेछ । त्यो खेलसँगै ‘सुपर–८’ चरणको ‘समूह–२’ को भिडन्त पनि सकिनेछ ।सुपर–८’ चरणअन्तर्गत ‘समूह–२’ को समीकरण रोचक मोडमा छ । चारवटै टोलीको अन्तिम चरणमा स्थान बनाउने सम्भावना जीवितै छ । यद्यपि, अमेरिका अझै अङ्कविहीन अवस्थामा छ । चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् ।

हालसम्म अपराजित रहेको दक्षिण अफ्रिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई–दुई अङ्क जोडेका वेस्ट इन्डिज र इङ्ल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अमेरिका तालिकाको चौथो स्थानमा छ ।

आइतबार राति खेलिने खेलमा अमेरिकाले इङ्ल्यान्डलाई हराए तीनवटा टोलीको दुई–दुई अङ्क पुग्नेछ । यस्तो स्थितिमा सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लगाउन दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।

तर, आइतबार रातिको खेलमा इङ्ल्यान्डले अमेरिकालाई हराएमा पनि समीकरण रोचक नै रहने छ । त्यसपछि अमेरिका उपाधि होडबाट बाहिरिने छ भने इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको चार–चार तथा वेस्ट इन्डिजको दुई अङ्क हुनेछ ।

यस्तो स्थितिमा पनि वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिच सोमबार बिहान खेलिने खेल निर्णायक बन्नेछ । सोमबार बिहान हुने खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हराए तीनवटा टोलीको अङ्क चार–चार पुग्नेछ । त्यसपछि नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाइने छ ।

तर, अन्तिम खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएमा दक्षिण अफ्रिका र इङ्ल्यान्ड सेमिफाइनलमा पुग्नेछन् । त्यसैले अहिले नै ‘सुपर–८’ चरणको ‘समूह–२’ बाट सेमिफाइनलमा पुग्ने टोलीको अनुमान गर्न गाह्रो छ ।

अङ्कमा पछाडि परे पनि दक्षिण अफ्रिकाभन्दा वेस्ट इन्डिजको नेट रन रेट निकै राम्रो छ । हाल दक्षिण अफ्रिकाको नेट रन रेट ०.६२५, वेस्ट इन्डिजको नेट रन रेट १.८१४, इङ्ल्यान्डको नेट रन रेट ०.४१२ र अमेरिकाको नेट रन रेट –२.९०८ रहेको छ ।

अमेरिकाविरुद्ध इङ्ल्यान्ड

अमेरिका र इङ्ल्यान्ड दुवै प्रारम्भिक चरणमा दुई फरक समूहको उप–विजेता बन्दै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगेका हुन् । अमेरिका समूह ‘ए’ को उप–विजेता बनेको थियो । अमेरिकाले प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रारम्भिक चरणमा आयोजक अमेरिकाले चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । अमेरिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो ।

अमेरिकाले आफ्नो दोस्रो खेलमा पूर्वविजेता पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएको थियो । सोही हारका कारण पाकिस्तान प्रारम्भिक चरणबाटै घर फर्कन बाध्य बनेको थियो । भारतसँग भने अमेरिकी टोली सात विकेटले पराजित भएको थियो । अमेरिका र आयरल्यान्डबिचको खेल वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो ।

इङ्ल्यान्ड भने समूह ‘बी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । इङ्ल्यान्डले पनि चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । इङ्ल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डको टोली अस्ट्रेलियासँग ३६ रनले पराजित भएको थियो ।

पछिल्ला दुई खेलमा इङ्ल्यान्ड लयमा फर्किएको थियो । तेस्रो खेलमा इङ्ल्यान्डले ओमानलाई आठ विकेटले हराएको थियो । चौथो खेलमा इङ्ल्यान्डले नामिबियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ४१ रनले पराजित गरेको थियो ।

‘सुपर–८’ चरणमा भने इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा इङ्ल्यान्डको टोली दक्षिण अफ्रिकासँग सात रनले पराजित भएको थियो । अमेरिका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले र दोस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएको थियो ।

टी–२० विश्वकपमा इङ्ल्यान्डको यो नवौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै इङ्ल्यान्डले टी–२० विश्वकप खेल्दै आएको छ । इङ्ल्यान्ड दुईपटक टी–२० विश्वकपको उपाधि जित्ने दोस्रो राष्ट्र पनि हो । इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्