९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति

कामु लीलादेवी गड्तौलालाई नै मुख्य सचिव बनाउन सांसदको आग्रह

११ असार, काठमाडौं । प्रतिनिधि सभा सदस्य रञ्जु कुमारी झाले कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै मुख्यसचिव पदमा नियुक्त गर्न आग्रह गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोलेकी सांसद झाले अब महिलालाई देशको ब्युरोकेसीको उच्च पदमा लाने समय आएको बताइन् । उनले सरकारसँग गड्तौलालाई नै मुख्यसचिव बनाउन आग्रह गरेकी हुन् ।

‘महिला आन्दोलनको उपलब्धिको रुपमा राष्ट्रपतिको रुपमा महिलालाई देख्यौं, सभामुखको रुपमा महिलालाई देख्यौं, प्रधानन्यायाधीशको रुपमा महिलालाई देख्यौं अब पालो छ मुख्य सचिवको ।’ उनले थप भनिन्, ‘ब्युरोक्रेसीको हेडको रुपमा जुन कामु महिला जानुभएको छ, उहाँलाई नै मुख्यसचिव बनाउन म सरकारलाई आग्रह गर्छु ।’

उनले महिला मुख्य सचिव नियुक्त भए निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याल जस्तो भ्रष्टाचार प्रकरणमा उनी नफस्ने विस्वास समेत व्यक्त गरिन ।

आइतबार विशेष अदालतमा अख्तियारले मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सरकारले सोमबार कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै जिम्मेवारी दिएको थियो ।

यस्तै, निलम्बित अर्याललाई भने राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेण्ीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी सरकारले सरुवा गर्ने निणर्य गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्