३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार

२० वर्षपछि विवाह गर्ने किशोरीलाई रु २० हजार

११ असार, सप्तरी । यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११ ‌औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ ।

“यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ”,नगरप्रमुख आतेशकुमार सिंहले भने, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।”

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ । नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरे ।

कृषि मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने

नगरपालिकाले सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानले प्रयोग गर्ने कृषि मिटरको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको छ । कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन कृषि मिटरको महसुल नगरपालिकाले नै तिरिदिने निर्णय गरेको नगर प्रमुख सिंहको भनाइ छ । कृषि विद्युतीकरणमा नगरपालिकाले ७० प्रतिशत काम पूरा गरिसकेको र बाँकी ३० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्