३ आश्विन २०८१, बिहीबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

१२ असार, झापा । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा रु तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।

चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार नौ सय ५७ कार-जिपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार सात सय ४१ मोटरसाइकल चालक, नौ हजार सात सय ७४ ट्रक चालक, एक हजार पाँच सय ३३ टिपर चालक, दुई हजार ६ सय २२ बस चालक तथा दुई हजार ६ सय १३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायब निरीक्षक गौतमले बताए ।

यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन् । सो अवधिमा चार सय ९० सवारीसाधन दुर्घटना हुँदा एक सय ५३ जना सख्त घाइते तथा ६ सय ३२ जना सामान्य घाइते भएका प्रहरी नायब निरीक्षक गौतमले बताएका छन् । सबैभन्दा बढी चार सय ५१ मोटरसाइकल दुर्घटना भएका थिए । यसैगरी ३४ ट्रक, ३३ बस, ७४ जिप-कार, २५ ट्रयाक्टर र ५० टेम्पो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्