९ आश्विन २०८१, बुधबार
मनोरन्जन मुख्‍य समाचार

नेपालमा ‘प्राइड मन्थ’ मनाउने विषय विवादमा

१४ असार ,काठमाडौं । सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्यो । समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो ।

प्रहरीले करिब दुईसय जना मानिसलाई सडकमा निकालेर कुटेको थियो । त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे । उक्त घटनापछि त्यहाँ साताभरि प्रदर्शन भए र त्यो समाचार सबैतिर फैलियो । त्यसपछि अधिकारवादी समूहहरू पनि प्रदर्शनमा मिसिन पुगे र त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरूले समानताको माग गर्दै खुला रूपमा पहिलो जुलुस निकाले ।

त्यसपछि लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको अधिकारका लागि अभियानहरू सुरु भए र जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउन थालियो । अमेरिका, युरोपले मनाएपछि उनीहरूकै सिको गरेर अहिले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउने चलन अरू विभिन्न देशमा पुगेको छ ।

पछिल्ला केही वर्षदेखि नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पनि अङ्ग्रेजी ‘जुन’ महिनालाई सप्तरङ्गी महिनाको रूपमा मनाउँदै आएका छन् । समुदायले नेपालमा प्राइड मन्थका रूपमा मनाउन थालेको भने धेरै भएको छैन ।

जुन महिनाभरि युरोप र अमेरिकामा असाध्यै राम्रो मौसम हुनुका साथै घाम लाग्ने, लामो दिन फूलैफूल फूलेका हुन्छन् । त्यसैले उनीहरूले विभिन्न झाँकी देखाउने, कार्यक्रमहरू गर्छन् ।

नेपालको मौसम भने ठिक विपरीत छ । अष्ट्रेलियामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पर्व भनेर फेब्रुअरी महिनामा मनाउँछन् । साउथ अफ्रिका, ब्राजिल, न्युजिल्याण्डमा उनीहरूको देशको मौसम अनुसार मनाउछन् । भारतको दिल्लीमा प्राइड मन्थ भनेर नोभेम्बरमा मनाउँछन् ।

तर नेपालमा भने आफ्नो देशको संघर्ष केही नभए जस्तो अरू देशको देखासिकी गरेर टन्टलापुर घाममा प्राइड मन्थ मनाउने गरिएको गुनासो आउने गरेको छ । डिसेम्बर २१ (पुस ६ गते) सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको मुद्दामा सर्वोच्च अदालतले पहिलोचोटी प्राकृतिक रूपमै महिला र पुरुष भन्दा अलग पहिचान छ भनेर आदेश दिएको दिन छ । सन् २००१ अगाडी नै दरवारमार्गको सडकमा निस्कँदा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जस्ता कहालीलाग्दो घटना नेपालमा धेरै छन् ।
तर जुन महिनामा जतिले कार्यक्रमहरू गरिरहेका छन्, उनीहरूले बुझेर भन्दा पनि देखासिकी गरिरहेको गुनासो गर्ने गरेका छन् । यहीकै मौलिकता र मौसमलाई मिलाएर वा यही समुदायका मुद्दालाई लिएर गर्न सकिनेतर्फ अहिलेसम्म कसैले ध्यान नदिएको अभियन्ताहरु बताउने गर्छन ।

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संस्थागत रूपमा आएको नै दुई दशकभन्दा लामो समय भइसकेको छ । तर, यो अवधिमा नेपालमा पनि आफ्नै मौलिकतालाई झल्काउने एउटा महिना तय गरेर मनाउने पहल समेत नभएको अभियन्ताहरुको गुनासो छ ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिलो संस्था नील हिरा समाजले सर्वोच्च अदालतले दिएको ऐतिहासिक आदेशलाई विर्सिएको आरोप लाग्ने गरेको छ ।
नेपालमा पहिलो पटक इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपालले यो वर्षदेखि अक्टोबर महिनालाई प्राइड मन्थको रूपमा मनाउने घोषणा गरेको छ । वार्षिक क्यालेन्डर नै सार्वजनिक गरेको मायाको पहिचान नेपालले दसैंको कोजाग्रत पूर्णिमादेखि दीपावलीसम्म गर्वको पर्व मनाउन लागेको जानकारी दिएको छ ।
नेपालमा कानुनी रूपमा पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान स्थापित भइसकेको छ । असार १५ गते मायाको पहिचान नेपालसहितका संस्थाले इन्द्रेणी रोपाई जात्रा मनाउँदै छन । नेपालमा पनि जुन महिना लैङ्गिक तथा अल्पसंख्यकहरूले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्छन् ।

एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ । यसै महिना विश्वका विभिन्न देशहरूमा ‘प्राइड परेड’हरू पनि हुने गर्छन् । तर नेपालमा मनाइँदै आएको प्राइड मन्थका विषयमा विवाद सुरु भएको हो ।

नेपालमा वर्गीय समस्या देखिएको, ट्रान्स म्यान, ट्रान्स वीमेन, क्वीयर भन्ने शब्द ग्रामीण भेगका वर्गले नबुझ्ने गरेको अझ संवैधानिक रूपमा पाएको अन्य लैङ्गिक पहिचानलाई भन्दा पश्चिमा देशको जस्तो पुरुष जन्मेकालाई महिलाको र महिला जन्मेकालाई पुरुषको नागरिकता माग्ने अभियान स्वार्थ समूहले चलाइरहेको केही अभियन्ताको भनाइ छ ।
नर्वेजियन दूतावासको फन्डमा कक्षा ७ को पाठ्यक्रममा नै पश्चिमा भाषा राख्न स्वार्थ समूह सफल भएकाले चौतर्फी विरोध भइरहेको बताइन्छ । यता, महिला र पुरुषभन्दा फरक भनेको पारलैङ्गिक भनेर जबरजस्ती स्थापित गराउने प्रयास भएकोमा समलिङ्गी तेस्रोलिङ्गीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्