३१ भाद्र २०८१, सोमबार
ब्लग मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

प्रेमको लय (कथा)

मुना चौधरी

प्रेमको लय (कथा)

– मुना चौधरी

वसन्तले मधुको खुट्टा मिच्दै थिए । उनी निदाउनुको सट्टा वसन्तलाई अँगालो हालिन् । अँगालो हाल्दा वसन्तभित्र रहेका इच्छाहरु चलमलायो । उनले मधुको अनुहार स्पर्श गरे । गालामा चुम्बन गरे । ओठ स्पर्श गरे । कपाल सुम्सुम्याइदिए । टाउको दुखेर ओछ्यानमा पल्टिरहेकी मधु वसन्तको लयमा हिँडरहिन् । विरोध गरिनन् । उनको स्पर्शको विरोध गर्नुपर्छ भन्ने उनको मनमा आउँदै आएन । पटक्कै आएन त्यो सोच ।

वसन्तले उनलाई स्पर्श गरिरहे । उनले अनुभव गरिरहिन्  वसन्तको स्पर्शको लयात्मकता । उनी बगिरहिन वसन्तको वेगमा । उनले पहिला दाइ भनिरहेको वसन्तलाई अचानक प्रेमी देखिन् । त्योभन्दा पनि नजिकको अनुभव गरिन अर्थात् वसन्तलाई  लोग्नेको रुपमा देखिन् । उनलाई पराई पुरुष देख्दै देखिनन् । उनलाई वसन्तको स्पर्श पराई पुरुषको स्पर्श लाग्दै लागेन । उनी हराउँदै गइन वसन्तको प्रेमील साँझमा । हराउँदै गइन् वसन्तको स्पर्शमा ।

आफू कसैकी आमा हुँ भन्ने कुरा उनले थाहा पाएर पनि पचाइदिइन् । छोरीको अनुहार आँखामा आए पनि आँखा चिम्लिदिइन् । लोग्नेको अनुहार झलझली आँखामा आए पनि, के चासो त्यो अनुहारसित भनेर छेउ लगाइदिइन लोग्नेको अनुहार । देखिन केवल वसन्तको अनुहार । अनुभव गरिन केवल उनकै स्पर्श । यहीवेला उनीहरुबीच शारिरीक सम्बन्ध स्थापित भयो ।

उसो त मधुले वसन्तलाई दाइ भन्थिन् । उनीहरु साइनो पर्ने दाजु, बैनी होइनन् । मुखले बनाएका दाजुबैनी हुन् । देखावटी रुपमा आफैँले साइनो रचना गरेका दाजुबैनी हुन् । मुखले बनाएको दाजुबैनीको साइनोलाई प्रेमीप्रेमीकाको साइनोमा रुपान्तरण गर्न उनीहरुलाई कति पनि असहज अनुभव भएन । लागेन कुनै अप्ठ्यारो । मुखले बनाएका दाजुबैनीको सम्बन्धलाई बनाइदिए निसन्देह लोग्नेस्वास्नीको सम्बन्ध । फुकाइदिए दाजुबैनीको समबन्ध र बाँधे उनीहरुले लोग्नेस्वास्नीको सम्बन्ध । शारिरीक सम्बन्ध स्थापित भइसकेपछि वसन्तले मधुलाई भने,

अबदेखि मलाई दाजु नभन् है ।

किन नि ? मधुले हाँस्दै जवाफ फर्काइन् ।

पागल छेस् । यतिसम्म भइसकेपछि पनि दाजु भन्छेस् । वसन्तले भने

के भन्नू तँ ? मधुले भनिन्

माइ लभ भन् । बुढा भन् ।

त्यो दिनदेखि उनले वसन्तलाई माइ लभ भन्थिन् । वसन्तले उनलाई बुढी भन्थे ।

मधु र वसन्त दुबैजना नेपाली हुन् । दुबै फरक फरक गाउँबाट परदेश पसेका हुन् । दुबै विवाहीत हुन् । मधुकी एउटी छोरी छे । छोरीलाई नेपालमा लोग्ने र सासुससुरासित गाउँमै छोडेकी छिन् । वसन्तका दुईजना छोराछोरी छन् । परिवार पाल्न परदेश पसेका हुन् दुबै । दुबैका सपना फरक थिए । मनशाय अलग थियो ।  चाहना फरक थियो । मिल्थ्यो केवल एक थोक परिवार पाल्ने र पैसा कमाउने सपना तर, आज दुबैका सपना एक भए ।

टि. आर. कार्ड बनेपछि तुरुन्तै नेपाल फर्किन्छु अर्थात् लिन आउँछु भनेका थिए आआफना परिवारलाई तर, कार्ड पाएर पनि दुबै मौन छन् ।

मधुले छोरीलाई सुन्दर भविष्य दिन यहाँ पसेकी थिइन । लोग्नेलाई आफूकहाँ विदेश ल्याएर सुन्दर संसार यहाँ बसाउने सोचेकी थिइन् । धेरै पैसा कमाउने, सँगै सुख, दुःख गर्ने सोचेकी थिइन् । गाउँमा पक्की घर बनाउने, छोरी र लोग्नेलाई विदेश ल्याएर सुविधासम्पन्न जीवन जिउने सपना उनेर आएकी थिइन् । तर, आज उनी मौन छिन् । उनको सपना मौन छ । आँखाबाट ओझेल परेको छ । उनी बिराएकी छिन् बाटो । सपना देख्न छोडेकी हैन तर, अब उनी सपना छोरी र लोग्नेका लागि हैन वसन्तका लागि देख्छिन् ।

छोरीका लागि संसार किन्न तम्सेकी थिइन । दिनरात छोरीको अनुहार सम्झेर ऊर्जावान हुन्थिन् । दिनरात काम गर्थिन् छोरीको भविष्य श्रृङ्गार्न  तर अब उनलाई छोरी र लोग्ने बोझ लाग्न थालेको छ । व्यर्थमा बिहे गरिछु । मेरो भाग्य खराब छ । बाउछोरीले मेरो जीवन बर्बाद पारे ।  बिहे गरेर फसिछु भन्ने सोच समेत उनको मनमा आउँछ । उता वसन्तलाई पनि यस्तै हुन्छ ।

सुरुमा पोर्चुगल पस्दा एकै ठाउँमा काम गर्नेवेला भेटेका थिए मधु र वसन्त । पैसा थिएन उनीहरुसित ।  घरभाँडातिर्न धौधौँ भइरहेको थियो । दुबैजनाले एउटै घरमा बस्ने र आधा आधा पैसा घरभाँडा तिर्ने सोच बनाए । उनीहरुले पैसा बचाउन यसो गरे । बाँकी बचेको पैसा नेपाल पठाउन हुन्छ यही सोचेर दुबैजना एउटै घरमा साझेदारीमा बसे । उनीहरुले एउटा फल्याट भाँडामा लिए । दुबै फरक फरक कक्षमा सुत्थे ।

एक महिनासम्म ठिकै चल्यो । अर्को महिना मधु बिरामी परिन् । रुघा लाग्यो । उनी खोकिरहन्थिन् । ज्वरो पनि आउँथ्यो राति । उनलाई सन्चो नभएको देखेर तेल तताएर वसन्तले उनको खुट्टामा मालिस गर्न आए  । यही क्रममा उनीहरुबीच पहिलोपल्ट शारिरीक सम्बन्ध स्थापित भयो ।

दुबैजना एउटै फल्याटमा बस्दा पहिला पनि उनीहरुको मनमा वेलावेला अनैतिक भाव उत्पन्न हुन्थ्यो  । मन नबहकियोस् भनेर मधुले उनलाई दाजुको साइनो लगाएर कुरा गर्न थालिन् । साइनो गाँसेर बोल्दा उनी वसन्तसित सहज अनुभव गर्थिन् । उनीहरु दुबैजनाले आआफना परिवार नेपालमा रहेकाले एकअर्कासित अनैतिक सम्बन्ध स्थापना नगर्ने मनमनै वाचा पनि गरे तर वाचा पूरा गर्न सकेनन् ।

वेलावेला मधुलाई लोग्ने प्रेमराजको अनुहार सम्झिन मनपर्दैन्थ्यो । उनी प्रेमी वसन्तलाई आफनो लोग्ने प्रेमराजसित दाज्थिन् । लोग्नेलाई बेकम्मा, स्वास्नीको कमाइमा राजाई गर्ने, अल्छी, बसिबसि खाने धुर्त, कुरा मात्र चिप्लो गर्ने काममा शुन्य  पुरुष देख्थिन् ।

उनी विदेश आउनुभन्दा पहिला लोग्नेलाई धेरैपल्ट भनिन्, दुःख गरेर कति बस्ने ? विदेश जानुस् । अरुहरुका लोग्नेले टन्नै कमाइसके । पक्की घर बनाइसके । गहनाहरु पनि जोडिसके । आफू उही छाप्रोमा बस्नुपर्ने । सुनबिनाको जीवन नुनबिनाको खानाझैँ अधुरो लाग्छ मलाई ।

उनको गुनासो सुनेर प्रेमराजले अस्वीकृति जनाउँदै उनलाई भने्, तैँ जा । म विदेश जान्नँ ।

आजित थिइन् लाोग्नेको व्यवहार देखेर । जहिले झगडा मात्र हुने ।  कुरै नमिल्ने । छोरीको खर्च जुटाउन कठिन थियो । मधुले सासुससुरालाई छोरी र आफ्नो खर्च चलाउन पैसा माग्नुपथ्र्यो । प्रेमराज बेरोजगार थिए ।

प्रेमराजको कुरा सुनेर र व्यवहार देखेर उनी विदेश जान तयार भइन् । दुबई गइन् काम गर्न । त्यहाँ दुई वर्ष काम गरेर सिधैँ पोर्चुगल आइन् ।

उनी आफनो लोग्नेलाई गैर जिम्मेवार देखिन् । वसन्तलाई जिम्मेवार देखिन् । उनलाई वसन्त कर्णप्रिय लाग्यो  ।

मधु र वसन्त एकै ठाउँमा गुटमुटिएका छन्  । दुबैको सास एक भएको छ । कसैको भय छैन । कसैको गुनासो पनि सुन्नुपर्दैन । उसो त मधु भर्खर विदेश पस्दा उनलाई विरानो लागेको थियो परदेश तर, अब यही सबथोक छ । जहाँ वसन्त उही उनको संसार छ । लोग्ने र छोरीको संसार उनलाई पटक्कै मन पर्दैन । सम्झिन पनि मन लाग्दैन उनलाई ।

लाेग्ने, स्वास्नीझैँ मधु र वसन्त अब एउटै कक्षमा सुत्छन् ।  अर्को दुईओटा कोठा खाली थियो । ती दुईओटा कोठा महङ्गोमा  भाँडा लगाएर पुरै फल्याटको भाँडा असुल गर्ने सोचे बनाए उनीहरुले । दुईओटा कोठा भाँडामा लगाए । दुबै कोठाबाट पुरै फल्याटको भाँडा रकम असुल गर्ने गरी नेपाली ठिटाहरुलाई राखे बहालमा ।

दुईओटा कोठाको भाँडाबाट उठेको रकमले सिङ्गो फल्याटको भाँडा तिर्न सकिन्थ्यो । नेपालीले नेपालीलाई नै शोषण गरिरहेका छन् यहाँ । उनीहरु दुबैजना सित्र्तैमा बस्थे ।  भाँडा तिर्नुपर्दैन्थ्यो । उनीहरुले कमाएको सबै पैसा बचत गर्थे । अलिअलि मात्र नेपाल पठाउँथे ।

दुईओटा कोठामध्ये एउटा कोठामा वस्न मधुकै ससुराल गाउँका एकजना केटो  रविन आएका छन् । मधुले चिन्दिनन् । बिहेपछि मधु धेरै गाउँ बसिनन् । त्यही भएर ससुराल गाउँलेहरुलाई धेरै चिन्दिनन् ।  तर, त्यो केटोले मधुलाई चिन्छन् । उनले मधुलाई एक दिन सोधे्, वसन्त दाइ र हजुरको बिहे भाको हो ?

मधुले जवाफ दिइन्, हो, हामी लोग्ने, स्वास्नी हौँ ।

रविन मधुको कुरा सुनेर केही बोलेनन् ।

मधु नेपाल फर्केकी थिइनन् । ७ वर्ष भइसकेको थियो । उनका लोग्नेले गाउँले भाइ रविन पोर्चुगलमै रहेको थाहा पाए । उनले रविनलाई फोन गरेर,

ए, केटो ! भाउजूलाई भेट्छस् कि भेट्दैनस् हँ  ? सोधे ।

रविनले सत्य कुरा भने,

दाइ, भाउजूले मलाई चिन्नुहुन्नँ तर, म भाउजूलाई चिन्छु । उहाँकै घरमा कोठा लिएर बसिरहेको छु । उहाँ अरु केटासित बसिराख्नु भएको छ । बिहे पनि गरिसक्नुभएको छ । तर, मैले हजुरलाई कुरा लगाएँ भनेर भाउजूलाई नभन्नुहोला दाइ ।

रविनको कुरा सुनेर मधुका लोग्ने मधुप्रति आक्रोशित भए । तुरुन्तै मधुलाई फोन गरेर,

तँ त्यहाँ अरुसित लागेकी छेस् । बिहे पनि गरिसकेकी छेस् भन्ने कुरा सुन्दै छु । के यो सत्य हो ?

हजुरलाइृ कसले भन्यो यस्तो कुरा ?

तँलाई चिन्नेहरुले भन्यो ?

सबै झुटो हो । म कसैसित लागेकी छैन ।

तँ यस्तो कसरी गर्न सक्छेस हँ ? मेरो बारेमा सोचिनस् ठिकै छ तर एक पल्ट छोरीको बारेमा सोच्नुपथ्र्यो ? जे गर्दैछेस् गलत गर्दैछेस । तँ अब फर्किनपर्दैन । जे गर्न मन लाग्छ गर् । तर, मेरो आँगनमा टेक्नपर्दैन ।

उताबाट बोलिरहेकै थिए उनका लोग्ने तर, मधुले केही सुन्न खोजिनन् । फोन काटिन् ।

उनी वसन्तको प्रेममा अन्धी छिन् । उनलाई वसन्त बाहेक कसैलाई हेर्न मन पर्दैन । उनी बाहेक सकैलाई सुन्न मनपर्दैन । उनी बाहेक कसैका बारे सोच्न मनपर्दैन ।

मधुले फोन काटे लगतै छोरीले प्रेमराजलाई सोधिन्, बाबा आमा कहिले फर्किनुहुन्छ ?

छोरीको अबोध प्रश्न  सुनेर नगल्नुपर्ने थियो उनी तर गले । थकाइ महसुस नहुनुपर्ने थियो तर, भयो । आँसु नझार्ने अठोट लिएका थिए  तर, आँखा रसायो । नपोखिनुपर्ने थियो तर पोखिए । नदुख्नुपर्ने थियो तर दुखेछन् ।  नउजडिनुपर्ने तर भताभुङ हुने गरी उजडिएका छन् । हतार छैन तर हतार भइरहेको छ । समय नबितोस लाग्छ । उनी कतै हराएका छन तर आफूलाई भेटाइरहेका छैनन् ।

उनले मधुलाई भने, अब तँ मेरो जीवनमा फर्किन पर्दैन तर, उनको मन मानेको छैन । उनी आफनो बारे कम र छोरीबारे बढी सोचिरहेका छन् । मधु फर्किनन् भने छोरी अनाथ हुन्छे भन्ने भय पलायो उनको मनमा । उनी फर्किनन् भने उनको मुटुु फुट्छ । सास रोकिने छ । जीवन त्यही रन्थिनिएर बस्नेछ  । उनलाई एक्लो र ऊर्जाहीन अनुभव भइरहेको छ । सास लिन बिर्सेको अनुभव भइरहेको छ ।

अर्कोतिर क्रोध पनि उत्पन्न भइरहेको छ । मधुलाई भेटाएको भए उनी दुई टुक्रा पार्थे । सबै बिर्सिसकेकी मधुलाई विवाहको अर्थ सम्झाउथे । स्वास्नीको जिम्मेवारी बताउथे । आमाको कर्तव्य बोध गराउथे । बुहारीको तात्पर्य बुझाउथे ।

तर उनको कुरा सुन्न मधु तयार छैनन् । मधुले अरु पुरुषसित सम्बन्ध गासेको उनले सहन सकेनन् । धेरै  गारो भयो उनलाई सहन । मुटुमा ढुङ्गा राखेर आफूलाई सम्हाले । उनी कसरी सहेका छन् उनलाई मात्र  थाहा छ । छोरीको अनुहारमा गएर सबै कुरा अड्किएको छ ।

जति फोन गर्द पनि मधुले फोन उठाइनन् । उनले मधुलाई, मेसेज पठाएँ,

मेरी छोरीकी आमा मधु,

हेर् तैँले जे गर्दै छेस् त्यो सही होइन बा । तँलाई विदेश पठाउनु मेरो कमजोरी हो । मेरो कमजोरीको फाइदा उठाइस् । मेरा लागि सोचिनस् तर, छोरीका लागि सोच् । म आफ्नो लागि होइन छोरीका लागि सोच्दै छु ।  तेरो अनुपस्थितिमा म पनि लाग्न सक्थे अरु केटीसित । तर, मेरो मनले त्यस्तो गर्न कहिले मानेन । तँ मेरी छोरीकी आमा होस् सोचेर आफूलाई नियन्त्रण गरेर बसेको छु । सात वर्ष स्वास्नीबिना एक्लै बस्नु कुन लोग्ने मान्छेका लागि सहज हुन्छ र ? तँबिना एक्लै बस्नु मेरा लागि पनि सहज थिएन । यी सात वर्षमा मैले तँबिना कति तिता र तनावग्रस्त जीवन बिताएको छु मलाई थाहा छ । कुन पल त्यस्तो थिएन जुन पल तँलाई सम्झिनँ हँ ? ममा के कमी थियो ?

तँलाई कुन कुरामा साथ दिइनँ मैले ? विदेश जान्छु भनिस् । जान दिएँ । तँ अरुसित नै लागिस् । त्यो पनि सहेँ ? व्यवहारले मलाई नामर्द सावित गरिस् । तर्कले मेरो औकातमाथि प्रश्न उठाइस् । सिद्धान्तले मलाई एक कठपुतली प्रमाणित गरिस् । तेरो इच्छा के थियो ? बुझ्न सकिनँ ? यही न हो मेरो कमजाेरी । मलाई जीवनको बीच बाटोमा ल्याएर अलपत्र पारिस् । जे गुनासो थियो मलाई पोख्थिस् । गाली गर्थिस् । म सबै हाँसेर सहिदिन्थेँ तर मलाई जिउँदै मारिस् । मेरो आत्मा रोएको छ आज । म टुटेको छु तर खैर केही छैन । म आफूलाई सम्हाल्न सक्छु ।

मेरो मन आकाशजति फराकिलो छ । अब सुध्री प्रिया । अहिले पनि केही बिग्रेको छैन । तँ त्यहाँ अरुसित लागेको मलाई र तँलाई थाहा छ । यसको साक्षी अरु कोही भए पनि म मान्दिनँ । छोरीको लागि फर्की । जे गरिस् त्यसका लागि म तँलाई एकपल्टलाई माफी दिएँ । यससम्बन्धी कुरा तँलाई कहिले सोध्दिनँ । तर अब सुध्री । संसारले जे गर्छ त्यो नगर् बाबा । घर फर्की प्रिय ।

मेसेज पढेर मधु भावुक भइन् । उनको आँखामा छोरी, घर, लोग्ने झलझल्ती आयो । बिग्रिने मन थिएन तर बिग्रिइन् । अब सुध्रिने मन छ  । उनी सुध्रिन चाहन्छिन् । तर, मनले मानेको छैन । दुई वर्षकी छोरीलाई छोडेर आएको अवस्था सम्झिन् । विदेश आउनेवेला एयरपाेटमा मा छोरीले मधुको काख छोड्नै मानेकी थिइनन् । दुध चुसाउँदै गरेकी छोरीलाई छोड्ने मन उनको पनि थिएन तर, आर्थिक अभाव, बाध्यता र विवशताले उनी छोरीलाई छोड्न लाचार भइन् । छोरीलाई जबरजस्ती काखबाट छुटाएर लोग्नेको काखमा दिँदा छोरी बेस्सरी रोएकी थिइन् । उनी पनि भक्कानिँदै छोरीसित छुटिन् । प्लेनमा बाटोभरि आँसु पुछ्दै दुबई पुगेकी थिइन् ।

रोइरहेकी छोरीको अनुहार सम्झिन । उनको घाँटीको पोते खेलाइरहेको छोरीको मसिना औँला सम्झिन् । उनको अनुहारमा आँखा राखेर मुसुमुसु हाँसिरह्ने छोरीको कलिलो अनुहार उनको आँखाभरि छायो । उनी तुरुन्तै  लोग्नेलाई फोन गर्दै भनिन्,

त्यस्तो केही छैन बुढो । म अर्को महिना फर्किन्छु । अनि हजुरलाई र छोरीलाई पनि लिएर आउँछु । म कसैसित लागेकी छैन । कसले हजुरको कान भर्यो थाहा छैन तर, जसले भन्यो । गलत भन्यो । मैले त्यस्तो केही गरेकी छैन ।

लेग्नेसित गरेको सबै कुरा उनी वसन्तलाइ सुनाइन् । उनको कुरा सुनेर वसन्तले भने,

यस्तो हुनु नै थियो । मेरो पनि परिवार छ । एक दिन छुटने गरी नै हामी बस्यौँ तर, छुटिन यति गारो हुन्छ भन्ने सोच कहिले आएन । एकअर्काबिना कसरी बस्ने यार, म तँबिना बस्न सक्दिनँ ।

वसन्तको कुरा सुनेर उनलाई वसन्तको मायाले पनि तान्यो ।

उनी अर्को महिना नेपाल फर्किन् । छोरीलाई भेटिन् । छोरी नौ वर्षकी भइसकेकी थिइन् । छोरी र लोग्नेको कागजी प्रक्रिया पूरा गरेर फेरि विदेश फर्किन् ।

६ महिनापछि छोरी र उनका लोग्ने विदेश आउने भए । जति जति छोरी र लोने आउने दिन नजिकिँदै थियो उति उति मधुलाई खुसी कम र पीडा बढी हुन थाल्यो । उनलाई वेलावेला छटपटि लाग्थ्यो । मुटु पोल्थ्यो बेस्सरी । राति ऐँठन हुन्थ्यो । छोरी र लोग्नेलाई बोलाएकोमा उनलाई खुसी हैन दुःख लाग्थ्यो ।

उनलाई वसन्तसित छुट्न कति पनि मन थिएन । सारै कठिन थियो छुट्न ।  छोरी र लोग्ने आउनुभन्दा अगाडि उनी अन्तै घर सरिन् । वसन्त पनि अन्तै सरे ।  वसन्त र मधु अलग भए ।

उनका छोरी र  लोग्ने आए । तर उनलाई खुसी लागेन् । दिनभरि काममा जान्थिन् । राति घर फर्केर सुत्थिन् । छोरी र लोग्नेलाई घुमाउन कतै लग्दैनथिन् । उनी काममा गएको वेला दिउँसो प्रेमराजले छोरीलाई घुमाउन लग्थे । खेलाउन पार्क लग्थे । जतिसम्म छोरी हिँड्न सक्थिन् त्यतिसम्म मात्र छोरीलाई घुमाएर घर फर्किन्थे  ।

छोरी आमासित कम र बुबासित बढी झुम्मिन्थिन् । सबै कुरा बुबालाई सुनाउथिन् । केही किन्नु परे बुबालाई किनिदिन भन्थिन् । केही खानु परे बुबालाई पकाइदिन भन्थिन् । घुम्न जानुपरे बुबासँग जान्थिन् । किनकि आमाले समय दिइरहेकी थिइनन् ।

मधु वसन्तविना एक्लो अनुभव गरिरहेका थिइन् । मधुको सिङ्गो  संसार छोरी र लोग्ने उनीसँगै थिए तर उनलाई एक्लो अनुभव भइरहेको थियो । वसन्तबिना उनलाई खल्लो लागिरहेको थियो । उजाड लागिरहेको थियो । उनलाई मात्र वसन्तको अभाव खड्किरहन्थ्यो । वसन्तविना उनी अधुरो अनुभव गरिरहेकी थिइन् । छोरीसित रमाउनुभन्दा वसन्तसित जिस्किन उनलाई औधी मनपथ्र्यो । लोग्नेसित प्रेमिल समय बिताउनुभन्दा वसन्तसित गफिन सहज लाग्थ्यो । उनलाई लोग्नेसित हैन वसन्तसित बस्न मनपथ्र्यो । उनको जिउ लोग्नेसित हुन्थ्यो तर, मन, मुटु वसन्तसित । लोग्ने र छोरीले के खाए ? दिनभरि के गरे ? कहिले सोधेनन् । वसन्तले खाए कि खाएनन् ? एक्लै कसरी बसिरहेका छन् भन्ने चिन्ताले उनलाई पिरोल्थ्यो ।  उनी बस्नै सकिनन् ।  उनले वसन्तलाई फोन गरिन्,

म हजुरबिना बस्न सक्दिनँ माई लभ  ।

म पनि तँबिना बस्न सक्दिनँ बुढी । वसन्तले भने

म त्यहाँ बस्न आऊँ ?

आ । तेरै लागि यो ज्यान हाजिर छ ।

छोरीलाई लिएर आऊँ ?

अहँ नल्या छोरीलाई । छोरीलाई ल्याउने भएँ त्यही बस आउन पर्दैन ।

उनलाई छोरीको स्नेहभन्दा वसन्तको प्रेमले तान्यो  । छोरीको निर्दोष अनुहारको हार भयो । वसन्तको प्रेमको जीत भयो । उनी छोरी र लोग्नेलाई अलपत्र पारेर वसन्तसित भागिन् ।

उता, वसन्तले आफ्नी स्वास्नीलाई मेसेज पठाए, अब मेरो आस नगर् । म नेपाल फर्किन्नँ । नेपालको सबै सम्पत्ति तेरो । अब मलाई बिर्सिदे । मैले अर्को बिहे गरिसकेँ । छोराछोरीलाई मेरो बारेमा सबै कुरा बताइदे ।

उनले मोबाइल स्वीच्ड अफ गरे ।

उनका २२ वर्षकी छोरी र २६ वर्षका छोरा छन् नेपालमा ।

मधुले पनि लोग्नेलाई मेसेज गरिन्, मलाई खोज्ने प्रयास नगर्नुहोला । म मलाई मनपर्ने मान्छेसित जाँदै छु । अब हजुरको जीवनमा कहिले फर्किन्नँ ।

प्रेमराजको मोबाइलमा मधुको मेसेज आयो । उनले मधुको मेसेज पढेँ । छाङ्गाबाट खसेझैँ भए । जुनेली रात थियो । टहटह जुन लागेको थियो  । तर सहरको  बत्तीले जुनको उज्यालोलाई छेकेको थियो । झलमल बत्ती बलेको सहर उनलाई अँध्यारो लाग्यो । यतिविधि अँध्यारो लाग्यो कि उनले केही देख्न सकेनन् । केही सोच्न सकेनन् । गाउँमा जुनेली रात उनलाई सारै शीतल, सुन्दर, सफा र दागरहीत लाग्थ्यो तर यहाँको जुनेली रात उनलाई आँध्यारो लाग्यो । कुरुप लाग्यो । फोहोर लाग्यो । भतभती पोल्ने रापझैँ तातो लाग्यो ।

हारगुहार माग्ने कोही थिएनन् । मन बिसाउने ठाउँ थिएन । यस्तो एक्लो अनुभव उनले गाउँमा कहिले  गरेका थिएनन् । उनको मुटु फुट्यो भित्रभित्रै तर, देखाएनन् । गह भरियो तर, आँसु झर्न दिएनन् । मुखभरि आवाज आयो तर, बोली निस्किन दिएनन् । आफूलाई सम्हाल्न गारो भइरहेको थियो तर उनी आफूलाई थामे । मनलाई सम्हाले  । मधुलाई फेरि माफी नदिने सोच बनाए ।

बिहानै उठेर छोरीलाई भर्ना गराउन स्कुल बुझ्न गए । फर्केर खना पकाए । दिउँसो काम खोज्न निस्के ।

प्रेमराज एक हप्तादेखि निरन्तर काम खोज्न भौतारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्