८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाचार समाज

पत्रकार महिलामाथि हिंसाका उजुरी सम्बोधन तत्कालः अध्यक्ष बस्नेत

१६ असार, काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडियामा पत्रकार महिलामाथि हुने जुनसुकै हिंसाबारे परेको उजुरीलाई सम्बोधन गर्न काउन्सिल हरदम तयार रहेको बताएका छन् ।

काठमाडौँमा आज काउन्सिल र सञ्चारिका समूहले गरेको ‘न्यू मिडिया र पत्रकार महिला : युट्युबसहित सामाजिक सञ्जालको पत्रकारिता प्रभाव’विषयक अन्तक्रियामा अध्यक्ष बस्नेतले मर्यादित आचारसंहितामा रही मर्यादित पत्रकारिता गर्न सझुाव दिएका थिए ।

पत्रकार निर्मला शर्माले सामाजिक सञ्जालमार्फत आएका सूचना तथ्य प्रमाणित गरेर मात्रै समाचार लेख्न पत्रकारलाई आग्रह गरे । त्यस्तै, पत्रकार बबिता बस्नेतले नयाँ प्रविधिसँगै अगाडि बढेर पत्रकार गर्ने पत्रकार महिलाले आफ्नो क्षमता तिखार्न सधैँ तत्पर हुनुपर्ने धारणा राखे ।

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले न्यू मिडियामा आफूलाई सुरक्षित राख्दै पत्रकारिता गर्नुपर्ने थुप्रै चुनौती रहेको उल्लेख गर्दै त्यसका लागि सधैँ तालिम र सचेतना जगाउने काम भइरहेको सुनाए ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष नितु पण्डीतले न्यू मिडियामा महिला पत्रकारले भोग्नु परेका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार न्यू मिडियामा पत्रकारितामा महिलाले विभिन्न प्रकृतिका साइबर बुलिङ सहनु परेको छ । उनले म्याग संस्थानको रिपोर्टअनुसार ८८ प्रतिशत पत्रकार महिला डिजिटल हिंसामा परेको तथ्य खुलाए । इकान्तिपुर डटकमका सम्पादक दुर्गा खनालले अबको पत्रकारिता जीवन्त हुने आधार न्यू मिडिया रहेको भए पनि पत्रकारिता मूल मर्म भुल्न नहुने बताए ।

पत्रकार दीपा रेग्मीले प्रस्तुतीकरणमाथि टिप्पणी गर्नुभएको थियो । त्यस्तै, अन्नपुर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, पत्रकार अनिता विन्दु, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नारी मासिकका सम्पादक उपासना घिमिरेले लगायतले न्यू मिडियाका चुनौतीमाथि सामूहिक छलफल गरिएको थियो । पत्रकार कृष्णा पौडेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्