४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मुकुल भन्छन्– रविले देश बनाउने विश्वासमा गलत कुरा पनि मानेँ, आज सत्य बोल्दा कारबाही भयो

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्वित महामन्त्री मुकुल ढकालले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई कारबाही भएको बताएका छन् ।

अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा बुधबारको रास्वपाको केन्द्रीय समिति बैठकपछि मुकुललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।

‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाही भएको छ,’ मुकुलले सामाजिक सन्जालमा लेखेका छन् ।

पद गौण हो र जनताका कुरा बोलिदिँदा कारवाही भए पनि बोल्नपर्छ भन्ने लागेर आफूले बोल्दा कारबाही भोग्नुपरेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।’

सभापति रवि लामिछानेले देश बनाउने विश्वासमा उनले गरेका कतिपय कुरा गलत लाग्दालाग्दै पनि मानिदिएको र केही कुरा पार्टीमा लागू गरिदिएको पनि मुकुलले लेखेका छन् ।

‘दुई वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ,’ मुकुलले लेखेका छन्, ‘कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ । पेल्ने मान्छे म थिएँ वा केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो भन्ने कुरा आज (बुधबार)को बैठकले छर्लङ्ग पारेको छ ।’

सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग सरकारमा जाने सहमति गरेर आइसकेपछि रविले देश बनाउने विश्वासमा उनलाई साथ दिए पनि सरकारमा पुगेपछिका कुराहरुका कारण शंका उब्जिन थालेको ढकालले लेखेका छन् ।

‘सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने त्यही बोलिदिएँ,’ मुुकुलले लेखेका छन्, ‘सोचें कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ । मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ ।’

सरकारमा हुँदा प्रतिवेदनहरु लुकाएको देखेर मिडियाबाजी गर्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्