४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

ज्ञानेन्द्रको साथले फेरिएको महिला क्रिकेटरको आत्मविश्वास

२१ असार, काठमाडौं । नेपालले तीन सातापछि श्रीलंकामा एसीसी वुमन्स टी–२० एसिया कप खेल्दैछ । गत फागुनमा एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएका नेपाल र थाइल्यान्डलाई एसियन क्रिकेट काउन्सिलले उक्त अवसर दिएको हो ।

नेपालको समूह ए मा पाकिस्तान, भारत र यूएई छन् । नेपालको लक्ष्य राम्रो क्रिकेट खेल्ने र एक टेस्ट टोलीलाई स्तब्ध पार्ने छ । नेपालका पूर्वकप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्ल यस पटक महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा छन् । सदाबहार कमजोर ब्याटिङले निराश हुने खेलाडी ज्ञानेन्द्रको प्रशिक्षणमा उत्साहित छन् ।

क्रिकेटको न्यूनतम कुराबाट माथि उठ्न संघर्ष गरेको महिला टोलीमा ज्ञानेन्द्रको प्रभाव अभ्यासमा झल्किन्छ । रुविना, सीता र इन्दु मात्रै नभएर अन्य ब्याटरहरु खुलेर खेल्न थालेका छन् । खेलाडीको आत्मविश्वास फरक देखिन्छ ।

‘तयारी अहिलेसम्म राम्रो छ । पहिलाको कमीकमजोरीलाई हटाउन धेरै सहयोग गरेको छ । ब्याटिङमा ज्ञानेन्द्र आएर सबै सहयोग गर्नु भएको छ’, मुख्य प्रशिक्षक मनोज कटवालले भने ।

वागमतीमा उपलब्ध पुरुषतर्फ यू–१६ र यू–१९ टोलीका बलर राखेर मुलपानीमा महिला टोलीले तीन–चार अभ्यास खेल खेल्नुको साथै नेटमा पनि अभ्यास गरेको थियो ।

आगामी आइतबार नेपाल श्रीलंका जाने छ, त्यहाँ तीन वा चार अभ्यास खेल खेल्ने सम्भावना छ ।

‘उहाँले (ज्ञानेन्द्र मल्लले) हेरेपछि एकदमै फाइदा भएको छ । किनभने उहाँ एउटा राम्रो ब्याटर हुनुहुन्छ । कतिपय कुराहरु पहिला हामीले सिक्न पाएका थिएनौं । दाइबाट सिक्न पाएका छौं’, कप्तान इन्दु बर्माले भनिन् ।

टोलीकी सर्वाधिक अनुभवी अलराउण्डर सीता एसिया कप ठूलो अवसर भएको बताउँछिन् । ‘यो एकदमै ठूलो अवसर हो । ठूला टोलीहरुविरुद्ध खेल्न जान लागेको हुँदा सबैको आँखा परेको हुन्छ । पुरुष टोलीको विश्वभर सबैले तारिफ गरेका छन् । हामीलाई पनि विश्वले नै हेर्नेछ । यहाँ राम्रो गर्न सकियो भने विश्वभरका लिगहरु खेल्ने अवसर हाम्रा खेलाडीहरुलाई खुल्न सक्छ’, सीताले भनिन् ।

पछिल्लो पटक नेपालले खेलेको सन् २०१६ को एसिया कपमा प्रदर्शन सम्झन लायक थिएन । नेपाल पाकिस्तानसँग४७ रनमा अलआउट हुँदै ९ विकेट, श्रीलंकासँग २३ रनमा अलआउट हुँदै ८ विकेट र बंगलादेशविरुद्ध १३४ रनको लक्ष्य पछ्याउने क्रममा ४१ रनमा अलआउट हुँदै ९२ रनले हारेको थियो ।

यस्तै थाइल्यान्डसँग ६३ रनमा अलआउट हुँदै ६५ रनमा अलआउट भएको थियो । भारतसँग १२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २१ रनमा अलआउट भएको थियो ।

नेपालले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाकी सीता नेपालको महत्वपूर्ण सदस्य हुन् । उनले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा ज्ञानेन्द्रसँग लामो समय अभ्यास गरेकी थिइन् । उनी ज्ञानेन्द्रलाई आफ्नो आइडल नै मान्छिन् ।

‘भन्दा त लाज हुन्छ । पहिला जुन हिसाबले हामीले अभ्यास गरेका थियौं र कसरी स्कोर गर्ने थाहा हुँदैन थियो । दाइले सिकाएर स्कोर गर्न अब एकदमै सहज भएको छ । समग्र क्रिकेट चाहिँ जान्ने हो भने सहजै रन बनाउन र पूरा गर्न सकिन्छ भन्ने सिकेका छौं, सीताले भनिन् ।

यस प्रतियोगितालाई ध्यानमा राख्दै चोटबाट फिट हुन रुविना क्षेत्रीले ललितपुर मेयर्स कप खेलेकी थिइनन् । गत फागुनमा मात्रै रुविनाले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध शतक हान्दै कीर्तिमान लेखाएकी थिइन् । रुविना नेपाली महिला क्रिकेट इतिहासमा अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने एक्लो खेलाडी हुन् ।

नेपालकी एक सर्वाधिक सफल अलराउण्डर रुविनाले ज्ञानेन्द्रको प्रशिक्षणमा धेरै परिवर्तन आएको बताइन् । ‘एउटा सिनियर खेलाडी र कप्तान जस्तो मान्छे हामीहरुकोमा आएर त्यसरी हेर्दाखेरी ब्याटिङमा धेरै ज्ञानहरु पायौं । धेरै कुराहरु थियो जहाँ हामीले गुमाएका रहेछौं । त्यो हामीले थप्न गर्न सक्यौं,’ रुविनाले भनिन्, ‘ज्ञानेन्द्र दाइले हरेक दिन सेसनहरु गराइराख्नु भएको छ । बोर्डमा लेखेर हरेक अवस्थामा यसरी जानुपर्छ भनेर कुरा भइराखेको छ ।’

प्रतिक्रिया दिनुहोस्