३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

‘मुक्तकम्लरीलाई समाजमा स्थापित गर्न उचित पहल आवश्यक’

२१ असार, तुलसीपुर । मुक्तकम्लरीले मुक्तिको घोषणा गरिए पनि समाजमा स्थापित हुननसकेको गुनासो गरेका छन् । न्यायोचित पुनःस्थापना गर्न सरकारले पर्याप्त ध्यान नदिएका कारण आफूहरू घरेलु हिंसामा पर्न थालेको उनीहरुको गुनासो छ ।

मुक्तकम्लरी सुलोचना चौधरीले सरकार र सरोकार भएकाहरूले न्यायिक पुनःस्थापनाका लागि उचित पहल गर्नुपर्ने आवश्यकता औँल्याए । “मुक्त भए पनि हामीलाई शिक्षा र आयआर्जनमा जोड्न उचित पहल भएन, त्यसैमा सानै उमेरमा विवाह गर्नुपरेपछि अहिले दैनिकी चलाउन निकै समस्या भएको छ । धेरै जना घरेलु हिंसा भोग्न बाध्य छन्”, उनले भने ।

मुक्तकम्लरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरामती चौधरीले कम्लरी राख्नेलाई कारबाही नहुँदा आफूहरूले न्यायको महशुस नगरेको बताए । “सरकारले मुक्तिको घोषणा त गर्‍यो तर हिजोका दिनमा हामीलाई काममा राख्नेहरूलाई कुनै कारबाही गरेन, त्यसकारण न्यायको अनुभूति गर्न सकेका छैनौँ । पठनपाठनका लागि छात्रवृत्ति दिने गरेको छ त्यो पनि पर्याप्त र समयमा नदिँदा समस्या हुने गरेको धेरै दिदीबहिनीहरुको गुनासो छ”,उनले सुनाए ।

दाङमा तीन हजार छ सय ५८ मुक्तकम्लरी छन् । उनीहरुको हकहितका लागि मुक्त विभिन्न सङ्घसंस्थाले काम गरिरहेका छन् । मुक्तकम्लरी विकास मञ्च पनि त्यसैका लागि स्थापित भएको हो । हाल यो संस्थाले घोराही उपमहानगरपालिकाका–२, ४, ८ र १२ मा कार्यक्रम उनीहरुको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

आगामी आर्थिक वर्षदेखि तुलसीपुर उपमहानगरपालिकाका–१५, १६ र १८ तथा लमही नगरपालिकाका–३, ४ र ८ मा कार्यक्रलम सञ्चालन गर्ने तयारी भएको छ । “मुक्तकम्लरीसहित पिछडिएका समुदायको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेका छौँ । आयआर्जनमा सुधारका लागि विभिन्न प्रकारका आयमूलक तालिम, नीतिनिर्माण तहमा सहयोग, सामग्री सहयोगलगायत भइरहेका छन् । कार्यक्रम सन् २०२८ सम्म चल्नेछ”,अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्