३ आश्विन २०८१, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण

२३ असार, कर्णाली । कर्णाली प्रदेशका सञ्चारकर्मीलाई संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज, सुर्खेतको समन्वयमा क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै मन्त्रालयका सचिव रविलाल शर्माले उन्नत लोकतन्त्र, सभ्य एवं समृद्ध समाजका लागि वस्तुनिष्ठ पत्रकारिता आवश्यक रहेको बताए । “पत्रकारिता संवेदनशील क्षेत्रको हो”,उनले भने, “हरेक कुरामा पत्रकार संवेदनशील हुनुपर्दछ । यसका लागि अध्ययन आवश्यक छ ।”

प्रदेशसभा सञ्चालन नियमावली, कार्यविधि र ऐनका विषयमा सही तरिकाले समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्दै सचिव शर्माले नागरिकका आवाज सरकारसँग र सरकारका गतिविधि नागरिकसम्म पुर्याउन पत्रकारको अहम् भूमिका रहने बताए ।

प्रशिक्षक रामकृष्ण भण्डारीले संसदीय पत्रकारिताको इतिहास र विकासक्रमका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिए । उनले संसद्मा पत्रकारको भूमिका कस्तो हुने भन्नेबारेमा पनि प्रष्ट्याए । नेपालमा संसदीय पत्रकारिताको सुरुआत र त्यसले आजसम्म आइपुग्दा खेलेको भूमिकाका विषयमा उहाँले जानकारी दिए ।

प्रदेशसभा सचिवालयका कानुन उपसचिव अर्जुन भुसालले प्रदेश तहको कानुन निर्माणको प्रक्रिया, प्रत्यायोजित अधिकार, विधेयकको प्रकार, सङ्घ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसमन्वय) ऐन, २०७७ र विधेयक तर्जुमका लागि १३बुँदे अवधारणापत्रबारे जानकारी दिए । उनले सरकारी तथा गैरसरकारी विधेयक, त्यसका प्रकृति, स्वरुप र विशेषताका बारेमा समेत अवगत गराउनुभएको थियो । प्रशिक्षणमा कर्णालीका ४१ सञ्चारकर्मीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्