३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

१० वर्षपछि अरुणिमा लम्सालको कमब्याक

२३ असार , काठमाडौं । नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन् ।

उनले हालै मात्र  ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन् । सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् ।

यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । यसमा बिमलेश आफैंले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन् ।

एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेका छन् ।

सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले चलचित्र ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए ।

उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ चलचित्रमा अभिनय गरेका थिए भने म्युजिक भिडियोमा अभिनय र निर्देशन भने गरिरहेका थिए ।

सिचुएशनल कमेडी ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए ।

विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ ।

पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् ।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो । यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप रहेको छ ।

हाल पहिलो सिजन छायांकन भइरहेको यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन । निर्देशक अधिकारीले पहिलो सिजन छायांकन पश्चात् मात्र यसबारे जानकारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्