४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो : सांसद भट्टराई

२३ असार , काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गरेको समेत आरोप लगाएका छन् । उनले भने, ‘अस्थिरता हुन्छ भनेर हामी तलै बस्यौँ र प्रधानमन्त्रीजीलाई सहयोग ग¥यौँ । तर, गाइँगुइँ के सुन्यौँ भने प्रधानमन्त्रीले कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गर्नुभयो । राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा नराम्रो होइन तर त्यसबेला एमालेलाई बाहिरै राख्ने भन्नेखाले कुरा भएको सुन्यौँ ।’

उनले प्रधानमन्त्री प्रचण्डले चाँडै नै राजीनामा दिँदा उचित हुने समेत बताए ।  उनले भने, ‘हामीले एक पटक फेरी फर्केर हेर्ने बेला भएको छ । ०४६ सालको जनआन्दोलनमा  नेकपा एमाले  र  कांग्रेसबीच सहकार्य  नभएको भए  देशमा बहुदलीय व्यवस्था आउँदैनथ्यो । तर २८ गतेसम्म प्रधानमन्त्रीले के कुर्नुभएको हो थाहा छैन ।’

साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई ढिलागरी प्रधानमन्त्रीको प्रस्ताव गरेको बताए । ‘असार १८ गतेजस्तो लाग्छ, उहाँले हाम्रो अध्यक्षलाई बोलाएर यही गठबन्धनबाट प्रधानमन्त्री बन्नुस् भन्नुभयो । तर, त्यसबेला निकै ढिलो भइसकेको थियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्