५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

प्राकृतिक विपत् परेकालाई उद्धार, राहतको प्रबन्ध गर्न माग

२४ असार , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुएको छ ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्ने अधिकांश सांसदले जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने राजनीतिक दलहरु सरकार परिवर्तनमा मात्रै केन्द्रित हुँदा निराशा बढेको बताए ।

सांसद रोशन कार्कीले अनियमितता नियन्त्रणको विषयलाई ‘बार्गेनिङ’को साधन नबनाउन आग्रह गरे । उनले विपद् प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद अमरबहादुर थापाले छोटो समयमा सरकार परिवर्तन गर्ने, एकलेअर्कोलाई घोचपेच गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनेतर्फ लाग्नुपर्नेमा सरकार परिवर्तनको सोच गलत भएको धारणा व्यक्त गरे ।

सांसद सुशीला श्रेष्ठले उदयपुरलगायत देशभर बाढीपहिराका कारण प्रभावित नागरिकको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए। जलवायु परिवर्तनको असर निरन्तरको वर्षामा देखिएको उल्लेख गर्दै उहाँले सुरक्षित बस्ती निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद अब्दुल खानले सरकार परिवर्तनका सम्बन्धमा जोडिएका संविधानका धारामा पटकपटक चर्चा भए पनि मौलिक हक र कर्तव्यका बारेमा कहिल्यै चर्चा नभएको गुनासो गरे । उनले मुद्रास्फीति घटाउनेतर्फ विशेष ध्यान दिन, आर्थिक असमानता घटाउने उपायाको खोजी गर्न आवश्यक भएको बताए ।

सांसद रामप्रकाश चौधरीले सुन तस्करीका आरोपीलाई सजाय छुट दिइएकामा आपत्ति जनाए ।

सांसद प्रभु साहले हुण्डी कारोबारका कारण मुलुक तहसनहस भएको, भ्रष्टाचार मौलाएको, अपराधका घटनामा वृद्धि भएको, लागुऔषधको कारोबारसमेत वृद्धि भएको पाइएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे । उच्च सरकारी ओहोदा तथा राजनीतिक नेतृत्वमा रहेका पनि हुण्डी कारोबारमा संलग्न पाइए पनि तिनलाई कारबाही गर्नेतर्फ ध्यान नदिइएको उनले टिप्पणी गरे ।

सांसद कुसुमदेवी थापाले बाढीपहिरामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्राभावितलाई उद्धार र राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद मनबहादुर गुरुङले पनि मनसुनजन्य विपद्का कारण जनधनको क्षति भएको प्रसङ्ग उठाउँदै प्रभावितलाई राहत सामग्रीको प्रबन्ध गर्ने दायित्व सरकारको हो भने ।

सांसद प्रेम सुवालले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको भनिएको सहमति आम जनतालाई जानकारी दिन आग्रह गरे ।

सांसद राजेन्द्र बजगाईले मनसुनका कारण गोरखाका विभिन्न क्षेत्रका पुलपुलेसा बगाएको, जनजीवन प्रभावित भएको, भूक्षय भएको जानकारी दिँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले बस्ती स्थानान्तरण र एकीकृत बस्ती बसाउने सन्दर्भमा ध्यान दिन नसकिएकाले समस्या बल्झँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्