२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार समाज साहित्य/ समाचार

बुढो आँपको रुख

बुढो आँपको रुख

– सन्तोष कार्की मौसुफ

चितवनको बिच जंगलमा एउटा ठूलो आँपको रुख थियो। दु:खको कुरा त्यस आपले अहिलेसम्म कुनैपनी फल दिएको थिएन। त्यसैले उसलाई धेरै पीडा थियो। आफ्ना साथीहरू जस्तो उसले उमेर छदा कुनै पनि फल दिन सकेको थिएन। चितवनको जंगलका अन्य रूखहरूले उस आँपको रुखलाई अपमानजनक व्यबहार गरे, जिस्काए कुड्याए आँप मध्यको बेकार आँपको रुख भनेर खिसी गरे। उनिहरुले फल फलाउन नसक्ने कारणले उसलाई हप्काउदै सडेका फलहरू फ्याँके।

एकदिन निकुञ्जको हाकिमले आफ्नो नयाँ भवन बनाउनका लागि आफुसँग सिपाहीहरु लिएर जंगलमा रुख काट्न आए। हाकिमले सकेसम्म चर्को स्वरमा रुखहरूलाई सोधे, “हामी काम नलाग्ने रुख काट्न आएका हौं। ल भन्नुहोस् त, तपाईंहरु मध्य कुन रुख बेकामे छ?” सबै रूखहरूले बूढो आँपको रुखलाई औंल्याए र कराउन थाले: “यो आँपको रुख सबैभन्दा बेकामे छ। ऊ पूर्णतया बेकार र काम नलाग्ने छ। यो श्रापित आँप हो यसले अहिलेसम्म कुनै फल दिन सकेको छैन। त्यसैलाई काटेर लानुहोस। कुनै संकोच बिना हाकिमले आफ्नो सिपाहीलाई काट्नको लागि आदेश दिए। तर बन्चरो प्रहार गर्न लाग्दा बुढो आँपको रुखले बिन्ती गर्न थाल्यो, “म तपाइँहरूलाई बिन्ती गर्छु , कृपया मलाई नकाट्नुहोस्। म बाँझो हुन सक्छु, तर कसम खान्छु कि म बेकामे छैन। यहाँ वरपर भएका जनावरहरूलाई सोध्नुहोस् यदि तिनीहरूले म बेकामे छु भनेमा मलाई काट्नुहोस्।

” हाकिम र उनका रुख काट्न लागेका सिपाहीहरु एक छिनको लागि रोकिए हाकिमले नजिकैका सबै जनावरहरूलाई बोलाएर सकेसम्म चर्को स्वरमा सोधे, “हे जनावरहरू, म तिमीहरू सबैलाई एउटा साधारण प्रश्न सोध्न चाहन्छु। यो आँपको रुख काम नलाग्ने बेकामे रुख हो कि हैन?” बाँदरले भन्न थाल्यो: “यो आँपको रुखले मलाई धेरै सहयोग गरेको छ। उसले मेरो र मेरो परिवार बस्नको लागि एउटा घर दिएको छ। हामी उहाँप्रति धेरै आभारी छौं।” चराले कराउदै भन्न थाल्यो: “आँपको रुख मेरो लागि धेरै सहयोगी छ। उहाँले मलाई आफ्नो बलियो हाँगाहरूमा गुँड बनाउन दिनुभएको छ। म उहाँको गुन कहिल्यै तिर्न सक्दिन।” त्यसैगरी लोखर्के ले पुच्छर उचाल्दै भन्यो: “आँपको रुखले मलाई र मेरो भाइलाई यो जाडोमा ठूलो सहयोग गरेको छ। उसले हामीलाई तातोसँग बस्न आफ्नो खोक्रो प्वाल भित्र सुत्न दिएका छन्। उहाँको सहयोगको लागि हामी उहाँप्रति ऋणी छौं।” चितल रुन थाल्यो, “यो आँपलो बुढो रुख मेरो र बथानको लागि अविश्वसनीय रूपमा सहयोगी भएको छ।

गर्मीका दिनहरूमा, हामी उसको छायामा आराम गर्न आउँछौं। उहाँले हामी सबैको तर्फबाट आशीर्वाद पाउनुभएको छ।” यो सबै सुनेपछि हाकिमले मुस्कुराए र भने: “वाह, आँप तिमी धेरै उपयोगी रूख रहेछौ। तिमी काट्नको लागि योग्य छैनौ। हामी काट्नको लागि अरुनै रूख खोजी गर्छौं।” कथाले दिन खोजेको शिक्षा: “साँच्चैभन्नुपर्दा यो संसारमा कोही पनि मान्छे बेकामे हुँदैन, केही व्यक्तिहरू काम नलाग्ने छन् वा अरू धेरै महत्त्वपूर्ण छन् भन्नेकुरा भ्रम हो, सबैले खेल्ने फरक-फरक भूमिकाहरू हुन्छ, समय र अवसर हामीलाई हुन्छ। र सही समयमा हाम्रो उपयोगिता खुल्नेछ। हरेक नराम्रो परिस्थितिहरुमा केही न केही सकारात्मक पाटो हुन्छ।

ब्याट्री सकिएको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ। अन्य मानिसहरूको प्रशंसा गर्न सिक्नुले उनीहरू उपयोगी छैनन् भन्ने मानसिकता मेटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, यसले उनीहरूलाई उनीहरूको आत्म-मूल्य उनीहरू कत्ति मूल्यवान हुनसक्छन् भनी सम्झाउन मद्दत गर्दछ र आफूलाई अधिक फाइदा उठाउन सिकाउछ।”

प्रतिक्रिया दिनुहोस्