१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

संविधानको धाराबाटै सरकार बन्छ’

२५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले कतिपय पार्टी र नेताले नयाँ बन्ने सरकारका विषयमा प्रश्न उठाएको भन्दै संविधानको सीमाभन्दा बाहिर गएर कुनै कार्य नगरिने स्पष्ट पारे । “संविधानको धाराबाटै सरकार बन्ने हो, बालाजुको २२ धाराबाट बन्दैन । एमालेसहित होस् वा एमालेकै नेतृत्वमा सरकार बनोस्, हाम्रा आफ्नै मूल्य र मान्यता छन्, त्यहीअनुसार अगाडि बढ्छौँ”, उनले भने ।

सांसद रिजालले वर्तमान प्रधानमन्त्रीले चारपटक विश्वासको मत लिइसकेकाले यस्तो किन भइरहेको छ भन्नेबारे उहाँले नै समीक्षा गर्नुपर्ने धारणा राखे । उनले भने, “वर्तमान प्रधानमन्त्री गतिशील मान्छे हुँ भन्नुहुन्छ तर व्यवहार हेर्दा त्यस्तो देखिँदैन । चारपटक यही थलोबाट विश्वासको मत लिइसकेका छन् । छोटो समयमै यस्तो सहयात्री दलहरूका कारणले मात्रै भएको होला कि उनमा पनि केही कमजोरी होलान्, समीक्षा आवश्यक छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले लामो समय शासन गरेका ठूला दलका नेताले राजनीतिक व्यवस्था परिवर्तनका लागि गरेको योगदानबाहेक कुशासन पनि मौलाएको टिप्पणी गरे । उनले संसद्का दुई ठूला दलबीच सत्ता सहकार्यका लागि भएको सहमतिपछि नयाँ सरकार नबनेसम्म आफूहरू सरकारमा रहेर कार्यसम्पादनमा लागिरहने बताए ।

कांग्रेस सांसद डा आरजु राणाले विगत १० वर्षदेखि नेपालका हिमताल सुक्ने क्रम बढ्दै गएका र अनियमित वर्षाले बाढी बढिरहेको बताए । हिमताल फुट्दा पनि ठूलो विपद् आउन सक्ने उल्लेख गर्दै उनले जलस्रोत मन्त्रालयले दीर्घकालीन योजना बनाउन जरूरी रहेको बताए । डा राणाले भने, “जलस्रोत मन्त्रालयमा अहिले वेबसाईडमा जलस्रोत शाखा छ तर त्यहाँ केही पनि तथ्याङ्क छैन । हिमतालका बारेमा अध्ययन गराउन जरूरी छ ।” भूमिसुधार मन्त्रालयले जनताको सुरक्षाका लागि व्यवस्थित बस्ती बसाउन र खेती गर्ने योजना बनाउन अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नेपालको संविधानअनुसार विश्वासको मत लिन लागेको बताउँदै सदनको फेस गर्छु भन्नु अनैतिक नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्