२३ भाद्र २०८१, आईतवार
बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

सहकारी समस्या चाँडै समाधान नभए आर्थिक प्रणालीमै असर गर्छ

असार २५, काठमाडौं । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य बहादुर थापाले सहकारीहरुको समस्या छिटै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमा प्रभाव पर्ने भन्दै यसको छिटो समाधान आवश्यक रहेको बताए ।
उनले भने, ‘आज जतिपनि सहकारीहरु समस्यामा परेका छन्, उनीहरुको समस्या ठिक तरिकाले, कानून निर्माण गरेर, प्रस्तावित संरचना बनाएर समाधान गरिएन भने सिंगो आर्थिक प्रणालीमा यसको दुस्प्रभाव पर्छ । बैंकहरुमा पनि यसको प्रभाव पर्छ, सहकारीको मात्र समस्या हो भनेर सिंगो अर्थतन्त्रको हकमा भन्न सक्ने अवस्था नहुनसक्छ ।’
उनले नियमनप्रति बेखबर हुनु र कानून अनुसारका संरचना नबन्नु उचित नभएको भन्दै सहकारीहरु बढे अनुसार संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको बताए ।
उनले भने, ‘नियमनप्रति बेखबर हुनु र कानून अनुसारका संरचना नबनाउने कामहरु उचित भएनन् । अहिले सहकारीहरु बढि रहेको अवस्थामा त्यस अनुसारका संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको हो । सहकारीमा समस्या आउनुको कारण सहकारीको सिद्धान्त विपरित सहकारीहरु दर्ता गर्ने कामले गर्दा पनि भएको हो । सहकारीको संख्या धेरै भयो तर त्यसलाई नियमन गर्ने कानून त्यही अनुसार भएन ।’
कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षा कोष ऐनले व्यवस्था गरेपनि बन्न नसकेको भन्दै उनले यसप्रति ध्यानाकर्षण गराएका छन् ।
धेरै लामो समयदेखि सहकारी रजिस्ट्रारको कार्यालय र सहकारी मन्त्रालयले अर्थमन्त्रालयमा सहकारीसँग सम्बन्धीत बचत तथा कर्जा सुरक्षा कोष स्थापनाको लागि गरिएको सहमति पनि कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्