३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाज

युद्ध अन्त्य गर्न भारतको आग्रह

२६ असार, रुस । रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।

युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा नभई वार्तामा निहित रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गरेका छन् ।

ह्वाइट हाउसका सञ्चार सचिव करिन जिन पियरेले भारतलाई अमेरिकाको ‘रणनीतिक साझेदार’ बताउदै उहाँले युक्रेनमा स्थायी शान्ति कायम गर्ने प्रयासलाई भारतसहित सबै राष्ट्रले समर्थन गर्नु महत्वपूर्ण रहेको बताए । “रूससँगको भारतको लामो समयदेखि रहँदै आएको सम्बन्धले राष्ट्रपति पुटिनलाई युक्रेनमा युद्धको अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको छ,” उनले बताए ।

“हाम्रो आउँदो पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति सबैभन्दा महत्त्वपूर्ण छ भन्ने एक मित्रको रूपमा मैले सधैं भन्ने गरेको छु । युद्धभूमिमा समाधान सम्भव छैन अर्थात बम, बन्दुक र गोलीको बिचमा समाधान र शान्ति वार्ता सफल हुँदैन । हामीले वार्ताको माध्यमबाट मात्र शान्तिको मार्ग अनुसरण गर्नुपर्नेछ,” बैठकमा प्रधानमन्त्री मोदीले बताए ।

सन् २०२२ मा मस्को र किएभबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रूस भ्रमण हो । भारतले युक्रेन र रूसबिचको द्वन्द्व समाधानका लागि सधैँ ‘शान्ति र कूटनीति’ को वकालत गरेको छ ।

यसअघि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति निराशा व्यक्त गर्दै यसलाई ‘शान्ति प्रयासमा विनाशकारी प्रहार’ भनेका थिए ।

प्रधानमन्त्री मोदी जुलाई ८ देखि ९ मा रूसको दुई दिने आधिकारिक भ्रमणमा रहेका थिए । आफ्नो भ्रमणको क्रममा उनले मङ्गलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गरे । प्रधानमन्त्री मोदीले मस्कोमा भारतीय समुदायलाई पनि सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्