९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार विचार समाज

डिप्रेसन बारे नसुनिएका पक्ष

डिप्रेसन बारे नसुनिएका पक्ष

– अशेष अधिकारी

शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन निम्त्याउने गर्दछ । मानिसमा खुसी वा दुखी बनाउने ‘न्युरो ट्रान्समिट्स’ हुन्छ । मस्तिष्कमा पाइने ‘सेरोटोनिन’, ‘इपिनैफरिन’, ‘नौरडपिनैफरिन’, ‘डोपामिन’ जस्ता विभिन्न रसायनको कमीले गर्दा डिप्रेसनको अवस्था आउन सक्छ । ती रसायनहरुले हामीभित्रको भावना सन्तुलनमा राखेको हुन्छ । यिनै तत्वको कमी भयो वा तलमाथि भयो भने धेरै दुःख लाग्ने वा अत्याधिक खुसी हुने, मनमा निराशा छाउने, निद्रा नलाग्ने, चाहिनेभन्दा बढी जाँगर लाग्ने वा हराउने जस्ता व्यवहार देखिन थाल्छ। यो अवस्थालाई डिप्रेसन भएको मानिन्छ। डिप्रेसन अर्थात दिमागको मात्र नभएर मनको बिराम पनि हो । यसको उपचार गर्न मनको स्तर सम्म जानुपर्ने हुन सक्छ ।

डिप्रेसन भन्ने कुरा केही क्षणमा घट्ने होइन । यो घटित हुनको लागि पनि धेरै वर्ष लागेको हुन्छ । डिप्रेसन भनेको एउटा वृक्ष हो जुन फैलिन्छ बढ्छ र ठुलो हुन्छ । भनिन्छ कि जसले डिप्रेसनलाई जित्न सक्छ उसले सारा संसारलाई जित्न सक्छ ।

यदि डिप्रेसनमा हुनेहरू परिवार सँग छन् भने त उनीहरूलाई समय मै उपचारको व्यवस्था हुन सक्छ । तर जो विदेशमा आफ्नो परिवार भन्दा टाढा छ र डिप्रेसनमा गएको छ, उसलाई कसैको पनि सहयोग मिल्दैन । डिप्रेसनमा गएका मानिसहरूले क्षणिक समयको आनन्दको लागि कुलतमा फस्ने गरेका छन् । यसले मानिसको डिप्रेसन निको हुनुको सट्टा अझै बढ्दै र बल्झँदै जान सक्छ ।

हामी कसैलाई डिप्रेसन भएको छ भन्ने सुन्यौँ भने उ प्रतिको हाम्रो धारणा नै परिवर्तन हुन्छ । उनीहरूलाई हामी सधैँ गिराउन र होच्याउन चाहन्छौँ । तर कसैले पनि यो कुरा बुझेका छैनन् कि डिप्रेसन जो कोहीलाई पनि हुन सक्छ । पृथ्वी गोलो भएकाले आफैँलाई पनि कुनै दिन डिप्रेसन हुन सक्छ ।

डिप्रेसनमा भएका मानिसहरू धर्तीका बोझ होइनन्, धर्ती चाहिँ उनीहरूको लागि बोझ बन्न पुग्छ । यो संसारमा धेरै पक्षहरू छन् जसले मानिसको चेतनाको स्तरलाई दबाई रहन्छ । अन्त्यमा मानिस आत्म ग्लानि र नकारात्मक आत्म सुझावको चपेटामा पर्न पुग्छन् । यस्तालाई समाज र राष्ट्रले उठाउने भन्दा पनि अझै दबाउने काम गरी रहेका छन् ।

मानिसहरूमा मनोविज्ञानको ज्ञानको कमी छ । मनोविज्ञानको ज्ञान नभएको कारणले गर्दा मानिसहरू अरूलाई त के, आफैँलाई समेत चिन्न सक्दैनन् । एउटा मानिसले अर्को मानिसको भावना बुझ्न नसक्दा छेउ मै भएका साथीभाइ हरू बिच पनि एक आपसमा दरार उत्पन्न हुन्छ । उनीहरू आफ्ना मानिसहरूलाई आफ्नो अर्को रूप देखाउन बाध्य हुन्छन् ।

डिप्रेसनमा जाने मानिसले धेरै दुःख, सास्ती अन्यायहरू भोगेको हुन सक्छ । त्यो केही दिनको लागि मात्र नभएर कयौँ वर्ष देखि भोगिरहेको हुन सक्छन् । दसौँ बर्स सम्म अनेक मानसिक यातना भोगेपछि बल्ल डिप्रेसन हुन्छ ।

डिप्रेसन केवल साधनाबाट मात्र ठिक हुँदैन । यसको लागि औँसधी पनि सेवन गर्नुपर्ने हुन्छ । तर हामी औँसधीको साइडफेक्टले बिरामीहरूको जीवन शैलीमा ठोस दबाब परेको थुप्रै उदाहरणहरू भेट्न सक्छौँ । ध्यान साधनाले बिरामीलाई धेरै सहज बनाउने कुरा विभिन्न आध्यात्मिक व्यक्तिहरूबाट सुन्न सकिन्छ ।

डिप्रेसन भन्ने कुरा कुन क्षणमा कसरी हुन्छ, त्यसबारे सबै जना अनजान हुन्छन् । हामीले मानिसको बाहिरी आवरण मात्र देख्ने भएकाले डिप्रेसन भएको मानिस र नभएको मानिस छुट्टाउन मुस्किल पर्छ । तपाईँको वरपर पनि डिप्रेसनमा भएका मानिसहरू कयौँ वर्ष सम्म बिना जानकार घुमिरहेका हुन्छन् । कोही मानिस चाहिँ डिप्रेसनमा भएर पनि कसैलाई थाहा नदिन खोज्छन् ।

आजभोलि टेक्नोलोजीको विकास सँगै युवा वर्गहरू विभिन्न ग्याजेटमा झुम्मिन थालेका छन् । प्रकृति सँग टाढा भए सँगै मानिसहरू भित्री मनोभावमा हराउन थाल्छन् । यसले गर्दा डिप्रेसन सम्म पुग्ने आयाम खोलिन सक्छ । प्राय युवा वर्गबारे मानिसहरूमा गलत धारणा छ । धारणा यस्तो छ कि केवल माया प्रेममा बिछोड भएको बेला मात्र मानिसहरू डिप्रेसनमा जान्छन् ।

देख्नेलाई एक दुई दिनमा डिप्रेसन भए जस्तो लाग्छ तर त्यसको पछाडि लामो कहानी हुन्छ । जुन कहानी सुन्दा मानिसको आँखाबाट आँसु आउन थाल्छ । डिप्रेसनबारे आफ्नो कहानी सुनाउँदा एउटा महाकाव्य सृजना हुन सक्छ ।

हामीले मानिसलाई देख्दा उसको वर्तमान देख्छौँ, उसको व्यक्तिगत विगत देख्दैनौँ र जब उसलाई डिप्रेसन हुन्छ तब उसलाई बौलाईस भन्छौँ । तब उसलाई श्रापित मानिस भन्छौँ । जुन दिन बाट डिप्रेसनमा भएकालाई हामी बौलाएको भन्छौँ, कुरा बुझ्नुहोस् कि त्यो दिन बाट यो संसारमा मानवता भन्ने कुरा छैन ।

फेरि एक पटक भन्छु कि बुझ्नुहोस् त्यो दिनबाट संसारमा मानवता भन्ने कुरा छैन ।

प्रतिक्रिया दिनुहोस्