२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार सूचना प्रविधि

‘प्रविधिमैत्री नीति र राजनीतिक प्रतिवद्धता भए नेपाल ग्लोबल आइटी हब बन्न सक्छ’

३० असार, काठमाडौं । प्रविधिमैत्री नीति र राजनीतिक प्रतिवद्धता भए नेपाल ग्लोबल आइटी हब बन्न सक्ने सूचना प्रविधि विज्ञहरूले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तराष्ट्रिय आइसिटी कार्यशाला गोष्टिमा बोल्दै विभिन्न देशका सूचना प्रविधि विज्ञहरूले नेपाल आइटीमा विश्वको गन्तव्यस्थल बन्न सक्‍ने दाबी गरे ।

कार्यक्रममा मार्कएनी इन्कका कार्यकारी अधिकृत (सीईओ)  जोङ चोइले नेपाल सूचना प्रविधि क्षेत्रमा विश्वभरको ध्यान तान्न सक्‍ने र ग्लोबल आइटी हबको रुपमा स्थापित हुन धेरै समय नलाग्ने बताउँदै राजनीतिक रुपमा प्रतिवद्धताको खाँचो हुनु पर्ने बताए ।

‘ नेपालभन्दा कोरिया धेरै गरिब थियो सन् १९५० देखि १९७० को दशकमा। तर गरिबीदेखि समृद्धिसम्मको बाटोमा ल्याउन कोरिया सरकार, राजनीतिक दलले ऐक्यवद्धता जनायो र प्रविधिलाई नजिकबाट हेरेर लगानी गर्‍यो। अहिले त्यही प्रविधिको कमाल हो कोरिया,’ उनले भने, ‘तर, नेपाल त आफैमा प्राकृति सुन्दरताले भरिपूर्ण देश हो। यहाँ जो पनि आउन लालायित छन्। यहाँका हिमश्रृंखला, कला-संस्कृत त छदैछन्, प्रविधिमा पनि उत्कृष्ट गन्त्वय बन्न सक्छ। तर सरकारले प्रविधिमैत्री नीति र राजनीतिक दृढ इच्छाशक्ति वा प्रतिवद्धता जनाए पुग्छ ।’

उनले कोरिया सरकारले २०२२ देखि २०२६सम्म प्रविधिमा फड्को मार्ने दीर्घकालीन योजना बनाएजस्तै नेपालले पनि बनाउनुपर्नेमा जोड दिए । ‘कोरिया सरकारले ५ वर्षको सरकारको नयाँ प्रतिवद्धता कायम गरेजस्तै नेपालले पनि प्रविधिमा कामहरू गर्ने नयाँ प्रतिवद्धता जनाउनुपर्छ। कुन क्षेत्रमा के गर्ने भनेर स्पष्ट खाका ल्याएर सरकार र सरोकारवाला प्रविधिमा लगानी गर्न पछि पर्नुहुन्‍न।’ उनले भने ।

कोरिया अहिले प्रविधिका ६ आयामहरूमा केन्द्रित भएर खोज गरिरहेको भन्‍दै उनले नेपालले पनि भौतिक संरचनासँगै नयाँ क्षेत्रहरूमा लगानी गर्नु पर्ने बताए । उनले भने, ‘ कोरियाले हाल एआई, ६जी, सेमी कन्डक्टर, क्वान्टम कम्प्युटिङ, मेटाभर्स र साइबर सेक्युरिटीकशो क्षेत्रमा खोज गरिरहेको छ । नेपालले पनि भौलिक र आवश्यकताको आधारमा खोज गर्नुपर्ने क्षेत्र र आधारहरू तय गरे  प्रविधिमार्फत समृद्धि ल्याउन सकिन्छ।’ अहिले कोरियामा एआईको व्यापक रुपमा प्रयोग, अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यस्तै इन्फोडेभलपर्सका कार्यकारी अधिकृत प्रवीण सुवेदीले नेपालमा करिब २ हजारबढी आइटी कम्पनी, ७० हजार बढी आइटी प्रोफेशनल्स रहेको बताउँदै वार्षिक अर्बौ रुपैया बराबरको आइटी सर्भिसेस बाहिर निर्यात गर्ने गरेको बताए । उनले भने, ‘ नेपालमा हाल ७० हजार बढी आइटी प्रोफेशनल्सहरूले मात्रै वार्षिक अर्बौ रुपैयाँको आइटी सेवा निर्यात गरिरहेका छन् । सन् २०२२मा मात्रै नेपालबाट करिब ५१५ मिलियन डलर अर्थात करिब ६७ अर्ब रुपैयाँ बराबरको आइसीटी सेवा निर्यात गरिसकेका छौं।’हाल नेपालमा ५० बढी फिनटेक कम्पनीहरू स्टार्टअपको रुपमा काम गरिरहेको भन्‍दै उनले सरकारले यसलाई प्रवर्द्धन र संरक्षण गर्नु पर्ने बताए । ‘ नयाँ इमर्जिङ कम्पनीहरूलाई सरकारले प्रवर्द्धन र सरक्षण गरेर भविष्यमा आइटीमा छलाङ लगाउन सक्छ,’ उनले भने, ‘ प्रविधिमा ५० कम्पनीहरूले एक साथ काम गरे आइटी क्षेत्र नेपालमा ग्लोबल हब बन्न सक्छ।

हाल नेपालको आन्तरिक क्षेत्रमा सरकारी र निजी क्षेत्रले प्रविधिमार्फत काम गरिरहेको उनले बताए । उनले भने, ‘सरकारी क्षेत्रले जीटूबी र जीटूसी सेवा दिइरहेका छन् भने निजी क्षेत्रले स्वास्थ्य र शिक्षा, बैंकिङ र इन्स्युरेन्स,  बहुउद्देशीय तथा सहकारी क्षेत्रमा डिजिटलाइझड गर्न सहयोग गरिरहेको छ। फिनटेक सोलुसन्स् र व्यापार सम्बन्धी आइसीटीको प्रयोग गरेर राइडसेयर कम्पनीहरू पनि खुलिरहेका छन्।’

नेपालबाट सबैभन्दा धेरै अमेरिकामा आइसिटी सेवा निर्यात भइरहेको उनको भनाइ छ । उनले भने, ‘आइटी सेवा नेपालबाट सबैभन्दा धेरै अमेरिकामा निर्यात हुन्छ, जसमा सास, मोबाइल, वर्डप्रेस, आआई/एमएल, क्लाउड र डेभओपस सेवाहरू छन् ।’

यही रफ्तारमा सेवा कायम रहे नेपाल १० वर्षमा दक्षिण एसियाका लागि आइटी हब बन्‍न सक्‍ने उनको दाबी छ । उनले नास आइटीले निकालेको तथ्यांक देखाउँदै नेपालले १० वर्षमा ५ बिलियन डलर बराबरको आइसीटी सेवा निर्यात गर्न सक्ने, १५ लाख रोजगारी सृजना गर्न सक्‍ने र ५० वटा कम्पनी नेपालमै हुने बताए ।

यस्तै अशिसियोका अध्यक्ष ब्रियन शेनले नेपालमा प्राकृति स्रोत साधन, पर्यटन, कला र संस्कृतिलाई प्रविधिको माध्यमबाट प्रवर्द्धन गर्न सके नेपाल विश्वको गन्त्वयका साथै आइटीको पनि गन्तव्य बन्न सक्ने दाबी गरे । उनले भने, ‘ नेपालमा प्राकृति स्रोतहरू धेरै छन्। यहाँको कला र संस्कृति अत्यन्तै धनी छ, पर्यटन त विश्वमा चिनाउनै बाँकी छ। यदि यी कुराहरूमा ध्यान दिए नेपाल विश्वको ध्यान मात्रै तान्दैन की आइटीको पनि हब बन्न सक्छ।’

उनले यसबारेमा नेपाल सरकारले आइटीमार्फत समृद्धि ल्याउने समय सान्दर्भिक नीति बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने सुझाव दिए ।

यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैकले प्रविधिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहरेको बताए । उनले भने, ‘ राष्ट्र बैंक प्रविधिमैत्री वातावरणमा काम गर्न सबैलाई प्रोत्साहन गरिरहेको छ भने प्रविधि प्रयोगलाई प्राथमिकतामा राखेको छ।’

नास आइटीका उपाध्यक्ष सन्तोष कोइरालाले प्रविधिमा समृद्धि ल्याउन नेपाल सरकारबाट खासै सहयोग नपाइरहेको भन्दै निजी क्षेत्रले आफ्नै बलबुताले आइटी सेवा निर्यात गरिहरेको गुनासो गरे ।

उनले भने, ‘ आइसिटी सेवा निर्यातमा सरकारको कुनै भूमिका छैन। बरू निजी क्षेत्रले आफ्नै बलबुतामा आइटी सेवा निर्यात गरिरहेको अन्तराष्ट्रिय क्षेत्रमा ।’ विदेशमा आइटी सेवा निर्यात गर्न झन कठिन भइरहेको भन्‍दै विभिन्न देशका आइसिटी विज्ञहरूलाई नेपाललाई आइटी हब बनाउन सहयोग गर्न आग्रह गरे ।

जेनेरल टेक्नोलोजीकी कार्यकारी अधिकृत सुनैना पाण्डे घिमिरेले नेपालमा आइटीको अब बनाउर्न सबैभन्दा पहिला डाटा साइन्सको एकदमै खाँचो रहेको बताइन् । उनले भनिन्, ‘ आइटी हब नेपाल यतिकै हुँदैन। नेपालमा डाटा साइन्स चाहिन्छ। त्यो ल्याकत नेपाल सरकारसँग छैन । निजी क्षेत्र वा कुनै विदेशी यतिकै लगानी गर्न चाहँदैन। यसको लागि राजनीतिक र भौतिक रुपमा सुरक्षाको आवश्यकता चाहिन्छ।यो नेपालमा अहिलेसम्म छैन।’

नेपालमा डाटा सेन्टर स्थापना हुनु पर्ने र आइटी शिक्षालाई रोजगारीमा रुपान्तर अभियानमा सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा जोड दिइन्। ‘नेपालबाट वर्षेनि १० दखि १४ हजार विद्यार्थी दीक्षित भएर निस्किन्छन्। तीमध्य ३ हजार ५ सयले बल्लतल्ल इन्टर्नसीप पाउँछन् र सीप सिकेर ९० प्रतिशत त बाहिरको देश जान्छन् भने १० प्रतिशत मात्रै नेपालमा बस्छन्,’ उनले प्रश्न गरिन्, अब प्रविधिमार्फत रोजगारी कसरी दिन सकिन्छ ? के हामी पढाइलाई रोजगारी र सीपयुक्त दक्ष जनशक्तिमा लगानी गरिहरेका छौं ? वा हाम्रो पढाइ उद्योगको जनशक्तिसँग मेल खान्छ त ? ’

क्यानका महासंघका अध्यक्ष रन्जित पोदारले सरकार र निजी क्षेत्र मिलेर नेपाललाई आइटी हब बनाउन नीतिगत रुपमै लाग्नुपर्ने बताए । उनले भने, ‘ सरकारले नीति ल्याउनुपर्छ प्रविधिमार्पत समृद्धि ल्याउने र निजी क्षेत्रले त्यसमा साथ दिन्छ। नेपालमा प्रविधिमैत्री नियम कानुन बने १० वर्षमा आइटी हब बन्न सक्छ।’अशिसियोका उपाध्यक्ष नवराज कुँवरले नेपाल दक्षिण एसियामै पर्यटन क्षेत्र र प्रविधिमार्फत जोडन सके विश्वकै नमुना गन्तव्य र आइटी हब बन्न सक्‍ने विश्वास व्यक्त गरे । ‘ नेपाल प्रविधिमा भर्जिन ल्याण्ड हो। यहाँको पर्यटनलाई प्रविधिमार्फत जोड्न सके नेपालले समृद्धि हालिस गर्न सक्छ भने विश्वको गन्तव्यमा आफूलाई पहिलो स्थानमा कायम गर्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्