५ आश्विन २०८१, शनिबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मृतकका परिवारलाई छ लाख ५० हजार राहत

३० असार, बागलुङ । मनसुनजन्य विपद्बाट बागलुङमा तीनजनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ ।

बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्बाट मृत्यु भएकाका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

यही असार २७ गते राति बागलुङ–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो । मृतक शर्माकी छोरी निर्मला शर्मालाई रु दुई लाख ५० हजार नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार सङ्घीय सरकारको रु दुई लाख र प्रदेश सरकारको रु ५० हजार रकम मृतकको परिवारलाई प्रदान गरिएको छ ।

यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्–श्रीमतीको मृत्यु भएको थियो । गलकोट–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो । मृतक श्रीमान्–श्रीमतीको परिवारलाई रु चार लाख एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्