२ कार्तिक २०८१, शुक्रबार
अनौठो संसार अन्तराष्ट्रिय मुख्‍य समाचार

उडानमा एयरहोस्टेसले दिएका केही पनि खान नमानेका यात्री विमानस्थलबाटै पक्राउ, यस्तो छ कारण

काठमाडौँ । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे पाँच घण्टासम्म एयर इन्डियाको उडानका क्रममा ती यात्रुलाई एयरहोस्टेसले पटकपटक पानीदेखि खानासम्म ‘अफर’ गरेकी थिइन् । ती यात्रुले केही पनि खान अस्वीकार गरे ।

त्यसपछि एयरहोस्टेसले विमानका क्याप्टेनलाई ती यात्रुको बारेमा जानकारी गराइन् । सोही अनुसार विमानका क्याप्टेनले ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी)मार्फत सुरक्षा निकायलाई यसबारे जानकारी गराए ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानका क्याप्टेनले दिएको सूचनाका आधारमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले ती यात्रुको निगरानी गरे । उनी विमानस्थलको सुरक्षा जाँच पार गर्नै लाग्दा पक्राउ परेका हुन् ।

सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ती यात्रीले आफ्नो मलाशयमा सुनका क्याप्सुल लुकाएर ल्याएका थिए । यात्राका क्रममा केही खाँदा शौचालय जानुपर्ने अवस्था आउन सक्ने भयका कारण उनले एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान अस्वीकार गरेका थिए ।

केही पनि खान नमानेकै कारण एयरहोस्टेसलाई शङ्का लागेपछि क्याप्टेनलाई ती यात्रुको गतिविधिबारे जानकारी गराएको बताइन्छ । लामो दुरीमा यात्रीले केही खान नमानेको खण्डमा उसले मलाशयमा केही लुकाएको छ भन्ने आशङ्का बलियो हुन्छ ।

विमानस्थलमा सुरक्षा निकायले उनको मलाशयबाट एक हजार ९६ दशमलव ७६ ग्राम सुन बरामद गरेको छ । उक्त परिमाणको सुन उनले चार वटा क्याप्सुल बनाएर मलाशयमा लुकाएका थिए ।

प्रतिक्रिया दिनुहोस्