२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

डिप्रेसन बारे नसुनिएको पक्ष………

अशेष अधिकारी

१ साउन, काठमाडौँ । भनिन्छ कि डिप्रेसन भनेको दिमागमा विभिन्न केमिकलहरूको असन्तुलन हुनु हो । तर डिप्रेसन भनेको वास्तवमा दिमागको मात्र नभएर मनको बिराम हो । यसको उपचार गर्न मनको स्तर सम्म जानुपर्ने हुन सक्छ ।

डिप्रेसन भन्ने कुरा केही क्षणमा घट्ने होइन । यो घटित हुनको लागि पनि धेरै वर्ष लागेको हुन्छ । डिप्रेसन भनेको एउटा वृक्ष हो जुन फैलिन्छ बढ्छ र ठुलो हुन्छ । भनिन्छ कि जसले डिप्रेसनलाई जित्न सक्छ उसले सारा संसारलाई जित्न सक्छ ।

यदि डिप्रेसनमा हुनेहरू परिवार सँग छन् भने त उनीहरूलाई समय मै उपचारको व्यवस्था हुन सक्छ । तर जो विदेशमा आफ्नो परिवार भन्दा टाढा छ र डिप्रेसनमा गएको छ, उसलाई कसैको पनि सहयोग मिल्दैन । डिप्रेसनमा गएका मानिसहरूले क्षणिक समयको आनन्दको लागि कुलतमा फस्ने गरेका छन् । यसले मानिसको डिप्रेसन निको हुनुको सट्टा अझै बढ्दै र बल्झँदै जान सक्छ ।

हामी कसैलाई डिप्रेसन भएको छ भन्ने सुन्यौँ भने उ प्रतिको हाम्रो धारणा नै परिवर्तन हुन्छ । उनीहरूलाई हामी सधैँ गिराउन र होच्याउन चाहन्छौँ । तर कसैले पनि यो कुरा बुझेका छैनन् कि डिप्रेसन जो कोहीलाई पनि हुन सक्छ । पृथ्वी गोलो भएकाले आफैँलाई पनि कुनै दिन डिप्रेसन हुन सक्छ ।

डिप्रेसनमा भएका मानिसहरू धर्तीका बोझ होइनन्, धर्ती चाहिँ उनीहरूको लागि बोझ बन्न पुग्छ । यो संसारमा धेरै पक्षहरू छन् जसले मानिसको चेतनाको स्तरलाई दबाई रहन्छ । अन्त्यमा मानिस आत्म ग्लानि र नकारात्मक आत्म सुझावको चपेटामा पर्न पुग्छन् । यस्तालाई समाज र राष्ट्रले उठाउने भन्दा पनि अझै दबाउने काम गरी रहेका छन् ।

मानिसहरूमा मनोविज्ञानको ज्ञानको कमी छ । मनोविज्ञानको ज्ञान नभएको कारणले गर्दा मानिसहरू अरूलाई त के, आफैँलाई समेत चिन्न सक्दैनन् । एउटा मानिसले अर्को मानिसको भावना बुझ्न नसक्दा छेउ मै भएका साथीभाइ हरू बिच पनि एक आपसमा दरार उत्पन्न हुन्छ । उनीहरू आफ्ना मानिसहरूलाई आफ्नो अर्को रूप देखाउन बाध्य हुन्छन् ।

डिप्रेसनमा जाने मानिसले धेरै दुःख, सास्ती अन्यायहरू भोगेको हुन सक्छ । त्यो केही दिनको लागि मात्र नभएर कयौँ वर्ष देखि भोगिरहेको हुन सक्छन् । दसौँ बर्स सम्म अनेक मानसिक यातना भोगेपछि बल्ल डिप्रेसन हुन्छ ।

डिप्रेसन केवल साधनाबाट मात्र ठिक हुँदैन । यसको लागि औँसधी पनि सेवन गर्नुपर्ने हुन्छ । तर हामी औँसधीको साइडफेक्टले बिरामीहरूको जीवन शैलीमा ठोस दबाब परेको थुप्रै उदाहरणहरू भेट्न सक्छौँ । ध्यान साधनाले बिरामीलाई धेरै सहज बनाउने कुरा विभिन्न आध्यात्मिक व्यक्तिहरूबाट सुन्न सकिन्छ ।

डिप्रेसन भन्ने कुरा कुन क्षणमा कसरी हुन्छ, त्यसबारे सबै जना अनजान हुन्छन् । हामीले मानिसको बाहिरी आवरण मात्र देख्ने भएकाले डिप्रेसन भएको मानिस र नभएको मानिस छुट्टाउन मुस्किल पर्छ । तपाईँको वरपर पनि डिप्रेसनमा भएका मानिसहरू कयौँ वर्ष सम्म बिना जानकार घुमिरहेका हुन्छन् । कोही मानिस चाहिँ डिप्रेसनमा भएर पनि कसैलाई थाहा नदिन खोज्छन् ।

आजभोलि टेक्नोलोजीको विकास सँगै युवा वर्गहरू विभिन्न ग्याजेटमा झुम्मिन थालेका छन् । प्रकृति सँग टाढा भए सँगै मानिसहरू भित्री मनोभावमा हराउन थाल्छन् । यसले गर्दा डिप्रेसन सम्म पुग्ने आयाम खोलिन सक्छ । प्राय युवा वर्गबारे मानिसहरूमा गलत धारणा छ । धारणा यस्तो छ कि केवल माया प्रेममा बिछोड भएको बेला मात्र मानिसहरू डिप्रेसनमा जान्छन् ।

देख्नेलाई एक दुई दिनमा डिप्रेसन भए जस्तो लाग्छ तर त्यसको पछाडि लामो कहानी हुन्छ । जुन कहानी सुन्दा मानिसको आँखाबाट आँसु आउन थाल्छ । डिप्रेसनबारे आफ्नो कहानी सुनाउँदा एउटा महाकाव्य सृजना हुन सक्छ ।

हामीले मानिसलाई देख्दा उसको वर्तमान देख्छौँ, उसको व्यक्तिगत विगत देख्दैनौँ र जब उसलाई डिप्रेसन हुन्छ तब उसलाई बौलाईस भन्छौँ । तब उसलाई श्रापित मानिस भन्छौँ । जुन दिन बाट डिप्रेसनमा भएकालाई हामी बौलाएको भन्छौँ, कुरा बुझ्नुहोस् कि त्यो दिन बाट यो संसारमा मानवता भन्ने कुरा छैन ।

फेरि एक पटक भन्छु कि बुझ्नुहोस् त्यो दिनबाट संसारमा मानवता भन्ने कुरा छैन ।

प्रतिक्रिया दिनुहोस्