२३ भाद्र २०८१, आईतवार
अन्तराष्ट्रिय मनोरन्जन मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्याण्ड

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय लोक नृत्य सम्मेलनमा मिनिल्याण्ड माध्यमिक विद्यालयले सहभागिता जनाएको छ। दिल्लीस्थित सृष्टि पर्फर्मिङ आर्ट्सद्वारा आयोजित उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कागेश्वरी मनोहरा नगरपालिका (५ थलीस्थित मिनिल्याण्ड माध्यमिक विद्यालय सहभागी भएको हो। नेपाली संस्कृति, भेषभुषा तथा परम्परालाई विश्वसामु परिचित गराउने उद्देश्यले उक्त विद्यालयका विद्यार्थीहरू महोत्सवमा सहभागी भएका हुन्।

मिनिल्यान्ड स्कुलका अध्यक्ष जयराम वाग्लेले हरेक वर्ष अन्तर्राष्ट्रिय कार्यक्रममा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको र यो वर्ष पनि त्यही क्रमलाई निरन्तरता दिएको बताए। विगतमा पनि यस्तै कार्यक्रममा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएका थियौं । यो वर्ष पनि सोही क्रमलाई निरन्तरता दिएका हौं, उनले भने, नेपालको संस्कृति तथा परम्परालाई विश्वसामु फैलाउनुका साथै विद्यार्थीहरूले विदेशी रहनसहन र चालचलनबारे बझ्ने मौका पाउने भएकाले विद्यालयले यस्ता कार्यक्रमलाई जोड दिँदै आएको छ।

महोत्सवमा विद्यालयका कक्षा ८,९ र १० का १२ जना छात्राहरूले नेपाली लोक नृत्य प्रस्तुत गरेका थिए। चार दिनसम्म चलेको उक्त सम्मेलनमा नेपालको तर्फबाट मिनिल्यान्डका विद्यार्थीहरूले गुरूङ्ग, सुनुवार र नेपाली भेषभुषामा तीनवटा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए।

सम्मेलनमा नेपाललगायत बेल्जियम, श्रीलंका, भारत, घानालगायत मुलुकका विद्यार्थी सहभागी थिए। महोत्सवमा सहभागी विद्यालय तथा डान्स एकेडेमीहरूले पनि उत्कृष्ट सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

भारतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा रियालिटी टी।भी।शो निर्णायक जग्गा मास्टरले वर्कशपमार्फत् भारतीय नृत्य सिकाएका थिए । उक्त सम्मेलनमा नेपालले ट्रफी प्राप्त गर्नुको साथै विद्यार्थीहरूले अन्य मुलुकका विद्यार्थीहरूसँग मायाको चिनो साटासाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्