५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

४ साउन, काठमाडौं । मध्य असारको सोमबार, थापाथलीस्थित प्रसूति गृहको बेड नम्बर २५७ । बेडमा सुतिरहेकी छिन्, सानिता तामाङ । छेउमा सासूआमा शकुन्तला बसिरहेकी छिन् । टाउकोमा कपडा बेरिएको छ । मलिन मुद्रामा एकोहोरो हेरिरहेकी छिन्, सानिता ।

चिकित्सकले अहिले कस्तो छ भनेर सोध्छन् ? उनको बोली फुट्दैन, मुन्टो तलतिर घोप्टाउँछिन् । आफैंले लगाएको कपडाको तुना यसो मिलाए झैं गर्छिन् । उभिइरहेका श्रीमान् सुशील पाख्रिनले जवाफ दिन्छन्– आज अलिकति पातलो झोल खाइन् ।

उनी १६ वर्षीया सुत्केरी आमा हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की सानिताले १३ असारमा शल्यक्रिया गरेर छोरो पाइन् । हामीले उनीसँग कुरा गर्ने प्रयास गर्‍यौं । तर उनले घोसेमुन्टो लगाइन् । ‘सरहरू भएर लजाएको हो कि क्या हो !’ सुशीलले जिस्काए । तर उनी बोलिनन् ।

८ कक्षामा पढ्दै भागी बिहे

२०८० असारमा भागेर बिहे गर्दा सानिता कक्षा ८ मा पढ्दै थिइन् । पछि परिवारकै संस्कार अनुसार बुहारी बनिन् । उमेर भर्खरै १५ वर्ष पुगेको थियो । विवाह भएको तीन महिनापछि नै गर्भवती भइन् । सुशीलका अनुसार त्यसबेला परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने हेक्का समेत भएन । ख्यालख्यालैमा बच्चा बस्यो ।

‘उनी ८ कक्षामा पढ्दै थिइन् । सानैदेखि नै चिनजान थियो’ सुशीलले बिहे गर्दाको दिन सम्झिए, ‘सानै उमेरमा विवाह गर्दा गाउँमा कानुन लाग्छ भन्न थाले अनि भागेर विवाह गर्‍यौं ।’

२० वर्षीय सुशीलको घरबाट थोरै दूरीमा सानिताको माइती घर छ । सानिताकी आमा दोस्रो विवाह गरेर १३ वर्ष अगाडि जुगल गाउँपालिकामा आएकी थिइन् । सानिता पनि आमासँगै आएकी थिइन् । उनका एक भाइ र एक बहिनी छन् ।

सात कक्षामा पढ्दै गर्दा सुशीलसँग देखाभेट भयो । भेटघाट बाक्लो हुनथाल्यो । ‘विवाह भएपछि एक पटक मात्रै महिनावारी भयो । त्यसपछि उनको पेट बसेछ’ सुशीलले सुनाए, ‘विवाह भइसकेपछि उनले पढाइ छाडिन् ।’

सुशीलले दुई वर्ष अगाडि एसईई दिएका थिए, उत्तीर्ण हुन सकेनन् । घरको आर्थिक अवस्थाले बनिबुतो गरेर पालिनुपर्ने अवस्था छ । उनी गाउँघरतिर ज्यामी काम गर्छन् । बाँकी समय खेतबारीमा काम गर्छन् ।

‘गाउँमा अरू के नै काम हुन्छ र ! ज्याला, मजदुरी गरेर भए पनि पालिनै पर्‍यो’, उनी भन्छन् ।

गर्भ बसेपछि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण भयो । घरमै व्यथाले च्यापेपछि श्रीमान्ले स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याए । दुई रात बस्दा पनि नर्मल डेलिभरी हुन सकेन । अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीले प्रसूति अस्पताल ‘रेफर’ गरे ।

‘कलिलो उमेरमा बच्चा पाउँदा धेरै गाह्रो हुने रहेछ । उनी धेरै छट्पटाइन्, आत्तिइन् । डर पनि लाग्यो’ प्रसव वेदनामा श्रीमतीलाई देखेको श्रीमान्ले समस्या सुनाए, ‘दुई दिनदेखि टोलाइरहेकी छिन्, राम्रोसँग खानेकुरा पनि खाएकी छैनन् ।’

उनले यसो भनिरहँदा १६ वर्षीया सानिता भित्तामा ज्यान अड्याएर छोरो काखमा लिंदै खुुट्टा सुम्सुम्याइरहेकी थिइन् ।

मन्द मुस्कान शैलीमा फिस्स हाँस्दै, चिकित्सकलाई दुई हात जोड्दै नेयाले भनिन्, ‘पेट दुखिरहेको छ, चक्कर लागिरहेको अनुभव भएको छ ।’

चिकित्सकले टेबुलमा राखिएको रिपोर्ट हेर्दै भनिन्, ‘आत्तिनुपर्ने केही छैन । विस्तारै ठीक हुन्छ ।’ उमेरले १८ वर्ष टेकिन् । तर बोली भने परिपक्व थियो ।

नेया घर्ती प्रसूति गृहको बेड नम्बर ‘५३’ मा अडेस लागेर छोरीलाई दूध खुवाउने कोसिस गरिरहेकी थिइन् । तर दूध आइरहेको थिएन । उनले पुनः प्रश्न गरिन्– ‘जति गर्दा पनि दूध आएन, के गर्ने होला खै ?’

बच्चाले दूध तानेपछि आउँछ भन्दै चिकित्सक पनि खुवाउने तरिका सिकाउन लागिन् ।

श्रीमान्, किरण घर्ती छेउमै मुडामा बसिरहेका थिए । बागलुङकी नेयाले २०८० भदौमा भागेर विवाह गरेकी हुन् । गाउँकै दिदी मार्फत सामाजिक सञ्जालमा किरणसँग जोडिएको छोटो समयमै प्रेम बस्यो । घरपरिवारले मान्छन्, मान्दैनन् थाहा थिएन । त्यसैले उनीहरू दुवैले भागेर विवाह गरे ।

कलिलै उमेरमा कसरी भयो त प्रेम ? किरणले भन्न लजाए । नेयाले पनि लजाउँदै भनिन्, ‘मैले पनि मन पराउँथें । उहाँले पनि मन पराउनुहुँदोरहेछ । कुराकानी हुन थालेको तीन महिनामै विवाह भयो ।’

नेया कक्षा ९ मा पढ्दै गर्दा बिरामी भइन् । पढाइ पनि छुट्यो । निरन्तरता दिन सकेकी थिइनन् । गएको भदौमा विवाह भयो । कात्तिक महिनातिर अचानक उनको पेट र कम्मरको भाग दुख्न थाल्यो । स्वास्थ्य संस्थामा परीक्षण गर्दा गर्भ रहेको पुष्टि भयो ।

‘असोजमै गर्भ बसिसकेको रहेछ । दशैं परेकाले महिनावारी रोकिने औषधि खाएकी थिएँ’ नेयाले भनिन्, ‘परिवारले पहिलो सन्तान नफाल्न सुझाव दिनुभयो ।’ बिहे गरेपछि भोग्नुपर्ने समस्याको अन्दाज नै उनलाई थिएन, कलिलो मानसपटलले माया मात्रै देखिरहिन् ।

६ महिना अघिदेखि दुवै जना काठमाडौंमा डेरामा बस्दै आएका छन् । किरण निजी कम्पनीमा काम गर्छन् । हतारमा बिहे गरेकोमा र उमेर नपुगी सन्तान जन्माएकोमा नेया खिन्न छिन् । उनी पढाइलाई निरन्तरता दिन चाहन्छिन् । ‘तर के गर्नु ? त्यति बेला बिहे गरे के–के न हुन्छ भन्ठानियो’ उनले गुनासो गरिन्, ‘अहिले आएर केही वर्षपछि मात्रै विवाह गरेको भए हुन्थ्यो भन्ने लागिरहेछ ।’

‘१४ प्रतिशत किशोरी गर्भवती’

कलिलै उमेरमा गर्भवती हुने ठूलो संख्यामध्ये सानिता र नेया दुई जना पात्र हुन् । नेपालको कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैरकानुनी मान्छ । कानुन अनुसार २० वर्षमा विवाह हुँदा पनि छिट्टै बच्चा जन्माउँदा महिलाको उमेर कम्तीमा २१ वर्षको हुनुपर्ने हुन्छ ।

तर, समाजमा यस्तो कानुनको खुलेआम अवज्ञा भइरहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको तथ्यांकले देखाउँछ । अस्पतालका अनुसार, वार्षिक रूपमा यो अस्पतालमा मात्र १८०० को हाराहारीमा १९ वर्षभन्दा मुनिका किशोरीहरूको डेलिभरी हुने गर्छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखाएको छ । यसलाई राष्ट्रिय जनगणना २०७८ को किशोरीको संख्या (१४ लाख ७१ हजार) सँग तुलना गर्दा यो अंक २ लाख ६ हजार हुन आउँछ ।

कलिलै उमेरमा विवाह गर्ने र गर्भवती हुने बहुआयामिक कारण छन् । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार, सानो उमेरमा विवाह हुने प्रमुख कारणमा शिक्षाको कमी, गरिबी, सामाजिक प्रचलन, बेरोजगारी सहितका पक्ष जोडिएर आउँछन् ।

‘पछिल्ला वर्षमा किशोरी उमेरमै गर्भवती हुने दर घट्न सकेको छैन’ सुवेदीले भने, ‘देशभर १४ प्रतिशत किशोरी गर्भवती हुनुले अहिले पनि कलिलैमा सन्तान जन्माउने आमाको भयावह अवस्थाको चित्रण गर्छ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सा समाजशास्त्री प्रा.डा. मधुसूदन सुवेदी किशोरी उमेरमा गर्भधारण भइरहेको विषयलाई विभिन्न पक्षसँग जोडेर हेर्नुपर्ने बताउँछन् । उनका भनाइमा, अझै पनि नेपालमा परम्परागत सोच कायम नै छ ।

‘जात, स्थानविशेषमा अझै पनि चाँडै विवाह गर्नुपर्छ भन्ने चलन छ । आमा, हजुरआमाले चाँडै विवाह गरेका थिए । छोरीहरूको पनि चाँडै विवाह गराइदिनुपर्छ भन्ने मानसिकता अझै छ’, डा. सुवेदीले थपे ।

कर्णाली र मधेश : सबैभन्दा धेरै  

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार सबैभन्दा धेरै समस्या कर्णाली प्रदेशमा छ । कर्णालीमा १५–१९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरी गर्भवती हुने गरेको सर्वेक्षणमा उल्लेख छ । यस्तैगरी मधेश प्रदेशमा यो संख्या २० प्रतिशत छ । गण्डकी, कोशी र सुदूरपश्चिममा १३/१३, लुम्बिनीमा १० र बागमतीमा ८ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको उक्त अध्ययनमा उल्लेख छ ।

यस्तो डरलाग्दो तथ्यांक आउनुमा प्रमुख रूपमा सामाजिक पक्षले प्रभाव पारिरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतका परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालको बुझाइ छ । त्यसैले कम उमेरमै बिहे हुनु र गर्भवती हुनुको कारण खोजिनुपर्ने उनको भनाइ छ ।

घरको पारिवारिक अवस्थाले पनि छिट्टै विवाह गर्नुपर्ने, विद्यालय उमेरमै बिहे गर्ने र पढाइ छाड्ने, गर्भवती भइसकेपछि पढ्न नजाने, जस्ता कारणले पनि यो विषयको सामाजिक अर्थ रहेको उनको भनाइ छ । ‘किशोरी अवस्था विस्तारै शारीरिक र मानसिक रूपमा परिपक्व हुने उमेर हो । आमा बन्न तयार नभइसकेको अवस्था भएकोले यसले दीर्घकालीन समयसम्म शारीरिक र मानसिक असर पर्छ’, डा. लाल भन्छन् ।

यस्तै बालविवाहको तथ्यांक पनि डरलाग्दो छ । ३ प्रतिशत किशोरीहरू र १ प्रतिशत हाराहारीका किशोरले १५ वर्ष उमेर नपुग्दै विवाह गर्ने गरेका हुन्छन् । सर्वेक्षणले १५ वर्ष नपुग्दै वा १५ वर्ष उमेर हाराहारीमा २ प्रतिशत किशोर र किशोरीले यौनसम्पर्क गरिसक्ने तथ्य उजागर गरेको छ । यस्तै १८ वर्षमै एक तिहाइ किशोरीले यौन सम्पर्क राख्ने गरेको सर्वेक्षणले देखाएको छ ।

औपचारिक शिक्षा नलिएका किशोरीमा बढ्यो गर्भधारण

सन् १९९६ मा गरिएको एनडीएचएसको तथ्यांकसँग अहिले तुलना गर्दा नेपालमा किशोरावस्थामै गर्भाधारण गर्ने किशोरीको संख्या घटेको देखिन्छ । २० वर्षभन्दा कम उमेर समूहका किशोरीको गर्भधारण प्रतिशत सन् १९९६ मा २३.९ प्रतिशत थियो । २६ वर्षपछि सन् २०२२ मा १० प्रतिशतले घटेर १३.६ प्रतिशतमा झरेको एनडीएचएस सर्वेक्षणले देखाएको छ ।

तर, औपचारिक शिक्षा नलिएको समूहमा पर्ने किशोरीहरूमा भने गर्भधारण हुने प्रतिशत उकालो लागेको छ । सन् १९९६ को एनडीएचएसको तथ्यांक अनुसार १५ देखि १९ वर्ष उमेर समूहका ३१.८ प्रतिशत अशिक्षित किशोरीले गर्भधारण गरेका थिए । २६ वर्षपछि सन् २०२२ मा आउँदा यो दर ३२.७ प्रतिशत पुगेको छ ।

सन् २००१ मा औपचारिक शिक्षा नलिएका किशोरीको गर्भधारण हुने प्रतिशत ३१.५ थियो । सन् २००१ बाट सन् २००६ मा आइपुग्दा बढेर ३२.७ प्रतिशत पुग्यो । त्यसपछि सन् २०११ मा ३१.६, सन् २०१६ मा ३२.६ प्रतिशत पुगेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्