६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

हरित मटिहानी अभियानअन्तर्गत एकै महिनामा ४१ हजार वृक्षरोपण

४ साउन, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले ‘हरित मटिहानी’अभियानअन्तर्गत एक महिनामा ४१ हजार वृक्षरोपण गरेको छ ।गत असारमा एक महिनाको अवधिभित्रै यहाँका किसानले विभिन्न जातका ४१ हजार वृक्षरोपण गरेका हुन् । मटिहानीमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’कार्यक्रमअन्तर्गत एक महिनामा ४१ हजार बिरुवा रोपिएका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

“हामीले यस अभियानमा नगर क्षेत्रका नागरिकलाई परिचालन गरेर ४१ हजार बिरुवा पोप्न सफल भएका हौँ, उनीहरूले आआफ्ना बारीमा बिरुवा रोपेकाले संरक्षणको सुनिश्चितता पनि बढेको छ, नभए विगतमा रोप्न तर संरक्षण नगर्ने भन्ने आरोप लाग्ने गरेको थियो”,मण्डलले भने ।

यस अभियानअन्तर्गत असार दोस्रो साताभित्र १० हजार कागती, तेस्रो सातामा १० हजार उन्नत जातका केरा र चौथो सातामा घाँस प्रयोजनका लागि कटहर, बकाइनो र इपिलिपिलसहित २१ हजार नयाँ बिरुवा रोपिएका उहाँले जानकारी दिए । कटहर भने फल र घाँस प्रयोजनमा प्रयोग हुने बहुउपयोगी वनस्पति हो ।

नगरपालिकाले साना किसानको जीवनस्तर उकास्न हेफर इन्टरनेशनलसँगको सहकार्यमा किसानलाई फलपूmल र घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको हो । यसमा विपन्न किसान परिवारलाई प्राथमिकता राखिएको नगरपालिकाले जनाएको छ ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले नगरक्षेत्र हराभरा, फलमा आत्मनिर्भर र पशुपालन व्यवसाय सञ्चालन गर्न यस अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे। “हामीले गरिब किसान पहिचान गरेका छौँ । पछिल्लो साता रोपिएका २१ हजार बिरुवा घाँस प्रयोजनका छन्, यसले किसानलाई पशुपालन सहज बनाउने छ”,उनी भन्छन्, “यसैगरी फलमा आत्मनिर्भर बनाउन यसअघि आँप र लिच्चीका बिरुवा रोप्न लगाइएको छ, गत असारमा मात्रै नगरक्षेत्रका किसानले १० हजार कागतीका बिरुवा रोपेका छन् ।”

नगरपालिकाले साना किसानलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले पछिल्ला पाँच वर्षयता अन्नबाली (धान, गहुँ)को उन्नत बीउ, फलफुल र घाँसका बिरुवा वितरण गर्दै आएको उनले जानकारी दिए । “हाम्रो ध्येय साना किसानको आर्थिक गतिविधि बढाउँदै फलफुल, मासु, दूध र अन्नबालीमा आत्मनिर्भर बनाउनु हो । यसका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध काम थालेका छौँ ।”

मटिहानी तरकारी र आँपको पकेटक्षेत्र मानिन्छ । यसैगरी यहाँ सघन रूपमा मखान (पोखरीको पानीमा लगाइने फल) खेती पनि हुँदै आएको छ । त्यसैले नगरपालिकाले किसानको सहजताका लागि कृषि उत्पादन टिपेर राख्ने टोकरी, डिजिटल तराजु, वर्षाबाट जोगाउन त्रिपाल र बोरा सिउने फलामे सियोसहितका सामग्री परियोजनाको सहयोगमा उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त आकासे पानीका भरको खेतीलाई सिँचाइमा आत्मनिर्भर बनाउन बोरिङ जडानका तथा पशुबस्तुको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था पनि गरिएको नगरप्रमुख मण्डल बताउछन् ।

यस्ता सहयोगले यहाँका किसान पनि उत्साहित छन् । मटिहानी–७ का किसान वैजनाथ कापर भन्छन्, “नगरपालिकाले विभिन्न सहयोग र सहजीकरण गरिरहेकाले हामीमा कृषिकर्म गर्ने जाँगर र विश्वास जागेको छ । अब आफ्नै यहाँका उत्पादन भण्डारणका लागि चिस्यानघर बनाइदिन धेरै राहत हुन्थ्यो, यस विषयमा नगरको नेतृत्वसँग माग गरिरहेका छौँ ।”

मटिहानी–७ कै भदैया मण्डलले पनि अबको आवश्यकता चिस्यानघर भएको बताए । “उत्पादनका लागि नगरपालिकाबाट थोरै भए पनि सहयोग पाएका छौँ, अब कोल्डस्टोर (चिस्यानघर) भए हुन्थ्यो, त्यसपछि हाम्रा उत्पादन भण्डारण गरेर राम्रो बजार भाउ पाउने बेला बेच्न सकिन्थ्यो ।”

नगरपालिकाले सञ्चालन गरेको हरित मटिहानी अभियानअन्तर्गत किसानले आफ्ना खेतबारीमा फलफुल र घाँसका रुख हुर्काउन थालेसँगै यहाँका सार्वजनिकस्थल तथा खाली चउरमा पनि विभिन्न प्रजातिका सौन्दर्य बढाउने फुल रोपिएका छन् । यसले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ ।

उनी तीन सय पाँच वर्ष पुरानो गुरुकूल पाठशाला, लक्ष्मीनारायण मठ, पिरबाबा मजार, लक्ष्मीनारायण मन्दिर, लक्ष्मीसागर महाआरती, तस्मैयाबाबाको खन्ती र सधैँ फर्फराइरहने एक सय १० फिट अग्लो राष्ट्रिय झण्डालेसमेत आकर्षण थपिरहेका छन्, जसको दर्शन र अवलोकनका लागि श्रद्धालु भक्तजनको बाक्लै उपस्थिति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्