५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणमा समस्या

४ साउन, काठमाडौं । सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्रकार सम्मेलनको आयोजना गर्दै विकास निर्माण निर्देशनालयले गरेका कामहरूको प्रगतिबारे जानकारी दिएको हो ।

सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्रीले बताए ।

सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ । सो सडकको कूल लम्बाई दुई सय ७४ किलोमिटर रहेको छ । सेनाले खाँदबारी किमाथाङ्का (च्याम्ताङ्ग–घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ, दार्चुला–टिङ्कर सडक निर्माण गरिरहेको छ ।

सेनाले तराई÷मधेश द्रुतमार्ग निर्माणको ट्रयाक खोल्ने काम पूरा भएको जनाएको छ । सेनाले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको काम २०७४ बैशाख २१ गते जिम्मा लिएको थियो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाको फोटोहरु संलग्न गरि प्रगति विवरण जानकारी गराएको छ ।

त्यस्तै सेनाले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति ३५.३८ प्रतिशत सकिएको जनाएको छ । २०८१ असार मसान्तसम्मको दु्रतमार्गको ३८.३८ प्रतिशत भौतिक प्रगति र वित्तिय प्रगति मोबिलाइजेसनसहित ३६.६६ प्रतिशत रहेको जनाएको हो । आयोजनाको समष्टिगत कार्य योजना मुताविकका १३ वटा निर्माण प्याकेजहरु मध्ये द्रुतमार्गको ६.५ किलोमिटर देखि ७०.९७ किलोमिटर सम्मका प्याकेज नं १ देखि ७, ८, ८ख, ९क, ९ख र १० गरी १२ वटा प्याकेजहरु निर्माणाधीन तथा कार्यान्वयनमा रहेको सेनाले जनाएको छ ।

त्यसैगरी, खरिद प्रक्रिया बाँकी रहेको प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना इलाकाको ० कि.मि. देखि ६.५ कि.मि.मा द्रुतमार्गको शुरु बिन्दु निर्धारण गरि सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधान गर्दै खरिद प्रक्रिया शुरु गर्ने तयारीमा रहेको भनाइ सेनाको छ । आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको सेनाको दाबी छ । ललितपुरको खोकना प्रस्तान विन्दु रहेको आयोजना निजगढ अन्तिम विन्दु मानिएको छ ।

सुरुङ निर्माण धमाधम

परिमार्जित डीपीआर बमोजिम आयोजना अन्तर्गत रहेका ६ वटा सुरुङ्गहरु मध्ये हालसम्म तीन वटा सुरुङहरु निर्माणाधीन रहेका छन् भने अन्य तीनवटा सुरुङ्गहरुको डिजाइन तथा पूर्व तयारीका कार्यहरु भइरहेको सेनाले जनाएको छ ।

निर्माणाधीन निजगढ–काठमाण्डौ तर्फको महादेवटार सुरुङ्गको जम्मा लम्बाइ ३.३२२ किलोमिटर मध्ये हालसम्म २.०२९ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ भने काठमाण्डौ निजगढ तर्फको जम्मा लम्बाइ ३.३८६ किलोमिटर सुरुङ्गको २.२८८ किलोमिटर खन्ने कार्य सम्पन्न भई करिव एक किलोमिटर खण्ड बाँकी रहेको छ ।
उक्त सुरुङ्ग खन्ने कार्य यस बर्ष भित्र नै सम्पन्न गर्नेगरी रात्रीकालीन समयमा समेत कार्य भइरहेको सेनाले जनाएको छ ।

हालसम्म निर्माणाधीन तीन वटा सुरुङ्गमार्गहरुको जम्मा लम्बाई ६.६६९ किलोमिटर मध्ये ५.५२८ किलोमिटर अर्थात ८२.८९ प्रतिशत सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको बताइएको छ ।

आयोजना अन्तर्गत रहेका ८९ पुलमध्ये चारवटा पुल रहेको स्थानमा जग्गा अधिग्रहणमा समस्या रहेको नेपाली सेनाका सहायक रथी विकास पोखरेलले जानकारी दिए । विशेषगरी खोकना क्षेत्रमा जग्गा सम्बन्धी समस्या रहेको उनले बताए ।

आयोजना अन्तर्गत कुल अधिग्रहणका लागि आवश्यक १७ हजार ६५१ रोपनी जग्गामध्ये ५ हजार २०४ रोपनी जग्गा व्यक्तिगत रहेकोमा ३९४ रोपनी अधिग्रहण गर्न बाँकी रहेको पोखरेलले जानकारी दिए । अधिग्रहण हुन बाँकी खोकना–बुङ्गमति क्षेत्रलगायतमा मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी र मूल्य निर्धारण हुन बाँकी १६५ रोपनीसहित ३७१ रोपनी रहेको छ । काठमाडौं ४ र मकवानपुरमा १६ रोपनी जग्गा अझै अधिग्रहण बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्