२३ भाद्र २०८१, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीमा आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी प्रस्तुत

७ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यले आज मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरे ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ : ३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।

यसैअनुरुप प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्यले दाबी प्रस्तुत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीलगायतका सदस्यहरू पुगेका थिए ।

त्यसअवसरका प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्ति र मन्त्रिपरिषद्का नयाँ सदस्यहरुको सपथ कार्यक्रम बुधबार बिहान राख्ने गरी तयारी गर्न दलका नेताहरुलाई आग्रह गरे । सोहीअनुसार बुधबार बिहान ८ : ०० बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने एमाले प्रमुख सचेतक चौधरीले जानकारी दिए ।

नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम र उनीहरुको जिम्मेवारी एकैपटक टुङ्गो लगाइने गरी सरकारमा सहभागी दलहरुबीच छलफल भइरहेको मुख्यमन्त्री पदका प्रस्तावित नेता आचार्यले जानकारी दिए ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्यले यसअघि आन्तरिक मामिला तथा कानुन, ग्रामीण खानेपानी तथा सहरी विकास र आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्