२३ भाद्र २०८१, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

नकुहिने फोहर कार्यालय परिसरमै व्यवस्थापन

९ साउन, तनहुँ । तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्था नभएसम्म कार्यालय परिसरमा फोहर व्यवस्थापन गर्न लागेको हो ।

नकुहिने र पुनः प्रयोगमा ल्याउन सकिने सामग्री व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा रहेकाले त्यसको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालय परिसरमा राखेर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

उहाँका अनुसार फोहर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन नहुँदा दमौली बजार क्षेत्रसँगै विभिन्न स्थानबाट साउन १ गतेदेखि उठाउन नसकिएको फोहर सङ्कलन गर्न थालिएको छ । उनले भने, “नगरपालिकाले फोहर उठाउनुभन्दा यहीँ खाली ठाउँ रहेकाले कार्यालय परिसरबाट व्यवस्थापन गर्ने निर्णय गरेका छौँ ।”नगरपालिकाले फोहर उठाउन नसकेपछि अधिकांश चोकमा फोहर थुप्रिँदा दुर्गन्धित र कुरुप हुने गरेकाले अहिले उठाएर व्यवस्थापन गरिरहेको नगर प्रमुख न्यौपानेले बताए ।

नगरपालिकाले यसअघि व्यास नगरपालिका–३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएकामा सम्झौता अवधि सकिएपछि फोहर व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ । नगरपालिकाको भत्काइएको पुरानो सभाहलमा नकुहिने फोहर राखेर वर्गीकरण गरी बिक्री वितरण गर्ने योजना बनाएको व्यासका प्रवक्ता एवं व्यास–६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

उहाँका अनुसार फोहरमैला व्यवस्थापनका लागि व्यास–१३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । उनले भने “जग्गा दिँदा फोहर मैलाले दुर्गन्ध हुन्छ भन्ने जनमानसको भ्रम र त्रासलाई चिर्न नगरपालिकाले उदाहरणीय किसिमले काम थालनी गरेको हो ।”

व्यास नगरपालिकामा नकुहिने करिब दैनिक पाँच टन र कुहिने तीन टन फोहर सङ्कलन हुने गरेको छ । नगर प्रमुख न्यौपानेले भने, “कुहिने फोहरलाई व्यास–१० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गर्दै आएका छौँ । नकुहिने फोहर व्यवस्थापनमा समस्या भएको हो ।”

प्रतिक्रिया दिनुहोस्