२३ भाद्र २०८१, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरका राना समुदायमा‘सावनको डोला’को रौनक

१० साउन, कञ्चनपुर  कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’भन्ने गर्दछन् ।
सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ । तीज सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै राना समुदायमा ‘सावनको डोला’को रौनक छाउँछ ।
परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकारहरु बताउँछन् ।
भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गतेदेखि नै राना गाउँमा सावनको डोला (पिङ) हाल्न सुरु गरेको बताए । “हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व लामो हुन्छ”,उनले भने, “तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ ।”उनले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिए ।
राना समुदायका महिलाले दाजुभाइ र भतिजाको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको स्थानीय राजमती रानाले बताए । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिनाअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उनले बताए ।
“हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ”,राजमतीले भने, “सावनकी डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ ।”छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन् ।
“राना समुदायका पर्वहरू पुस्तान्तरण हुन सकेका छैनन्”,समुदायका जानकार सेटसिंह रानाले भने, “बदलिँदो समयसँगै हाम्रा पर्व पनि लोप हुन थालेका छन् ।”उनले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताए ।
“अहिलेका युवालाई यसप्रति चासो छैन, धेरै रोजगारीका लागि बाहिर छन्, एक महिनासम्म मनाउने यो पर्व कम थालेको छ”,उनले भने, “हाम्रा परम्पराहरू अन्य समुदायको भन्दा पृथक छन्, यसको पुस्तान्तरण हुनु जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्