२३ भाद्र २०८१, आईतवार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

बङ्गलादेशमा तनाव कम हुँदै गएपछि निशेधाज्ञा आदेशलाई खुकुलो पारियो

१० साउन, बङ्गलादेश । बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको बिरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निशेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो । विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन् ।

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता १९१ जनाको मृत्यु भएको प्रहरी र अस्पतालबाट एएफपीले पाएको तथ्याङ्कमा उल्लेख छ । हजारौं सैनिकहरू अझै पनि देशका विभिन्न शहरहरूमा गस्ती गरिरहेका छन् रअझै पनि राष्ट्रव्यापी इन्टरनेट अवरोध धेरै हदसम्म प्रभावमा छ । प्रदर्शनकारी नेताहरूले नयाँ प्रदर्शन अस्थायी रूपमा रोक्ने घोषणा गरेपछि झडपहरू कम भएका हुन् ।

हसीनाको सरकारले अशान्तिको चरमोत्कर्षमा रहेको कर्फ्युलाई फेरि खुकुलो बनाउने आदेश दिएको छ । सरकारको यो निर्णयले बिहान १० : ०० बजेदेखि साँझ ५ : ०० बजेसम्म सात घण्टा स्वतन्त्र आवागमन गर्न अनुमति दिएको छ । दुई करोड जनसङ्ख्या रहेको राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबीच भएको भीषण झडपको केही दिनपछि बिहीबार बिहान यात्रुको भीडले सडक भरिएको देखिन्थ्यो ।

गत हप्ता बन्द भएका बैङ्क, सरकारी कार्यालय र आर्थिकरूपले महत्वपूर्ण तयारी पोशाकका फ्याक्ट्रीहरू बुधबारदेखि नै खुलेका थिए । शुक्रबार समाप्त हुन लागेको आन्दोलनलाई फेरि लम्ब्याउने वा नबढाउने भन्ने बारे निर्णय गर्ने तयारीका लागि विद्यार्थी नेताहरूको बैठक बिहीबार बस्ने बताइएको छ । यस महिनाको र्‍याली आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले सरकारबाट धेरै छुटको अपेक्षा गरेको बताएको छ ।

समूहका एक संयोजक आसिफ महमुदले एएफपीसँग भने “प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीहरूको सामूहिक हत्याका लागि राष्ट्रसँग माफी माग्नुपर्छ भन्ने हाम्रो माग छ ।”
“हामी गृहमन्त्री र शिक्षामन्त्रीलाई पनि घटनाको लागि जिम्मेवार ठहर गर्दै बर्खास्त गरियोस् भन्ने चाहन्छौँ ।”महमुदले प्रदर्शनमा सहभागी भएको सङ्ख्यालाई कम आँकलन गरिएको बताए। एएफपीका अनुसार गत हप्तादेखि सुरु भएको हिंसामा प्रहरीले कम्तीमा दुई हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।

गत जुन महिनामा आधाभन्दा बढी सरकारी जागिर केही वर्गका लागि आरक्षित गर्ने योजना लागू भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका लडेका भूतपूर्व सैनिकका सन्तानका लागि करिब एक तिहाइ आरक्षणको व्यवस्था भएको भन्दै विद्यार्थी समूह आन्दोलित भएका थिए । सरकारी आँकडाअनुसार बङ्गलादेशमा करिब एक करोड ८० लाख युवाहरू कामबाट बञ्चित भएका छन्, यस कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीररूपमा दुःखी बनाएको छ ।

यो आरक्षण (कोटा) प्रणाली हसिनाको अवामी लिगका वफादारहरूलाई सार्वजनिक जागिरहरू दिलाउन प्रयोग गरिएको सरकारका आलोचकहरूले बताएका छन् । सर्वोच्च अदालतले आइतबार आरक्षित जागिरको सङ्ख्या कटौती गरेको थियो तर आरक्षणपूर्ण रूपमा खारेज गर्न प्रदर्शनकारीहरूको माग भने पूरा भएको छैन । सन् २००९ देखि देशमा शासन गरिरहेकी ७६ वर्षीया हसिना विपक्षीहरूको सहभागिताबिना जनवरीमा भएको निर्बाचनमा लगातार चौँथो पटक विजयी भएका थिए ।

उनको सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्