२३ भाद्र २०८१, आईतवार
अन्तराष्ट्रिय मुख्‍य समाचार

दक्षिण कोरियासँगको हवाई अभ्यासबाट क्षमता ‘तीव्र’हुने अमेरिकाको भनाइ

१० साउन, अमेरिका । अमेरिकी सेनाले बिहीबार दक्षिण कोरियासँगको जारी हवाई अभ्यासले उनीहरूको संयुक्त युद्ध क्षमतालाई ‘तीव्र’बनाउने बताएको छ । सोल र वासिङ्टनको हवाई सेनाले मङ्गलबार सोलको दक्षिणी भागमा रहेको सुवनमा करिब तीन साताको संयुक्त अभ्यास सुरु गरेका छन् । अभ्यासमा युएस एफ-ए–१८ र एफ–३५बी लडाकू विमान संलग्न छन् ।
अमेरिकी मरिन लेफ्टिनेन्ट–कर्नल जारोड एलनले विज्ञप्तिमा भने, “यो अभ्यासले हाम्रो लडाकू क्षमतालाई अझ तीव्र बनाउने छ ।”सामान्यतया आक्रमणको पूर्वाभ्यासका रूपमा हेर्ने प्योङयाङलाई संयुक्त राज्य अमेरिका–दक्षिण कोरिया अभ्यासले क्रुद्ध बनाउँछ । विशेषज्ञहरूका अनुसार उत्तर कोरियाको वायु सेना उसको सेनामा सबैभन्दा कमजोर कडी भएकाले प्योङयाङ विशेषरूपमा लडाकू जेट अभ्यासप्रति संवेदनशील छ ।
उत्तर कोरियाले फोहोर बोकेका हजारौँ बेलुन दक्षिण कोरियातिर पठाएको र सोलको सेनाले सीमामा लगाइएको लाउडस्पिकरबाट के–पप र शासनविरोधी सन्देश पठाइरहेकाले दुवै कोरियाबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि सबैभन्दा न्यून विन्दुमा पुगेको छ । नोभेम्बरको निर्वाचनका लागि रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसँगको आफ्नो सम्बन्धलाई जोड दिँदै गरेको टिप्पणीलाई जवाफ दिँदै प्योङयाङले बुधबार ‘अमेरिकासँगको हरेक प्रकारका टकरावका लागि पूर्णरूपमा तयार रहेको’बताएको छ ।
ट्रम्पले भनेका थिए, “मलाई लाग्छ उहाँले मलाई ‘मिस’गर्छन् र धेरै आणविक हतियार भएको कसैसँग भेट्न पाउँदा मलाई राम्रो लाग्छ ।” राष्ट्रपति पदमा रहँदा ट्रम्पले तीन पटक किमसँग भेट गरेका थिए । यसको सुरुआत सन् २०१८ जुनमा सिङ्गापुरको ऐतिहासिक शिखर सम्मेलनमा भएको थियो । तर यो जोडीले उत्तर कोरियालाई आणविक निशस्त्रीकरण गर्ने प्रयासमा धेरै प्रगति हासिल गर्न सकेन ।  सिङ्गापुरको केही महिनापछि ट्रम्पले आफ्ना समर्थकहरूको र्यालीमा प्रसिद्ध रूपमा दुई व्यक्ति ‘प्रेममा परेको’ बताएका थिए ।
तर प्रतिबन्धमा राहत र त्यसको बदलामा प्योङयाङले के त्याग गर्न तयार छ भन्ने कुरामा हनोईमा भएको उनीहरूबीचको दोस्रो शिखर सम्मेलन सन् २०१९ मा असफल भएको थियो । बुधबार जारी एक टिप्पणीमा उत्तर कोरियाले ट्रम्पले राज्य प्रमुखहरू बीचमा ‘विशेष व्यक्तिगत सम्बन्ध’प्रतिबिम्बित गर्ने प्रयास गरे पनि उनले ‘कुनै सकारात्मक परिवर्तन नल्याएको’बताएको छ । टिप्पणीमा भनिएको छ, “अमेरिकामा कुनै पनि प्रशासनले पदभार ग्रहण गरे पनि दुई पार्टीको आन्तरिक कलहले अन्योलमा परेको राजनीतिक वातावरण परिवर्तन हुँदैन र सोअनुसार हामीले त्यसको वास्ता गर्दैनौँ ।”

प्रतिक्रिया दिनुहोस्