२२ भाद्र २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

भादगाउँ खानेपानी आयोजना नौ दिनपछि नियमित सञ्चालन

१० साउन, तनहुँ । बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्या‍एपछि बन्द रहेको भादगाउँ खानेपानी आयोजना नौ दिनपछि नियमित सञ्चालन भएको छ । व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप गत असार ३१ गते आएको बाढीपहिरोले बगाएको थियो ।

यही साउन १ गतेदेखि मर्मत थालिएकामा बुधबार काम सकिएपछि नियमित सञ्चालनमा ल्याइएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए । चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको मुख्य खानेपानीको जिआइ र एचडिपी पाइप बगाएपछि पानी आपूर्ति बन्द हुँदै आएकामा मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको उहाँले जानकारी दिए ।

असार अन्तिम साता परेको अविरल वर्षापछि गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि पानी आपूर्ति रोकिँदै आएको थियो । “संस्थाका चार कर्मचारी र बाह्य नौजना गरी कर्मचारी तथा कामदारले बाढीपहिरोले क्षति पुर्‍याएको पाइप मर्मतसम्भार गरेका हुन्”, उनले भने ।

कतिपय पाइप बाढीपहिरोले पुरिएको अवस्थामा रहेका जनाउँदै श्रेष्ठले सम्भव भएसम्म पुरिएका पाइप निकालेर पुनः प्रयोगमा ल्याइएको र केही नयाँ खरिद गरिएको जानकारी दिए । “माथि डाँडाबाट खसेको पहिरोले बगाएका कतिपय पाइप सेतीनदी किनारसम्म पुराएको थियो”, उनले भने, “जिआइ र एचडिपी गरी ५० मिटर पाइप बगाउँदा करिब रु तीन लाख बढीको क्षति भएको छ ।”

लामो दूरी र भौगोलिक विकटताका कारण काम गर्न केही कठिनाइ भएकाले नियमित पानी आपूर्तिमा ढिलाइ भएको संस्थाले जनाएको छ । संस्थाले साना ठूला गरी चारवटा योजनाबाट पानी सङ्कलन गरी व्यास–१ र १२ का दुई हजार छ सय ८० घरमा पानी आपूर्ति गर्दै आएको थियो ।

खिरखाँदी मुहानको पानी प्रतिसेकेण्ड नौ लिटर क्षमता रहेको जनाउँदै आयोजना पहिरोले अवरुद्व बनाएपछि पानी वितरणमा समस्या भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए । अहिले संस्थाले छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानको पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गर्दै आएको उनले बताए ।

“दैनिक बिहान र बेलुका दुई घण्टा पानी दिने गरिएको थियो । अहिले पानीको स्रोत घटेपछि समय घटाएर वितरण गर्न थालेका थियौँ”, उनले भने, “खिरखाँदी मुहानको पानी नियमित सुचारु भएपछि आपूर्तिमा पुनः सहज भएकाले अब साविकको रूपमा पानी वितरण गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्