२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न

११ साउन, काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्यसमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए । “सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौँ । यस विषयमा आगामी सोमबार सरोकार भएकासँग छलफल गर्नेछौँ । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिरुप दिने सहमति भएको छ”,उनले भने ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा आगामी सोमबार सरोकार भएकासँग सुझाव लिएर अन्तिमरुप दिनेगरी आजको बैठक सकिएको जानकारी दिए । “हामी यो विषयलाई अन्तिम रुप दिँदैछौँ । अन्तिम ढाँचा तयार गर्न आवश्यक पर्ने केही सुझाव सोमबारसम्म लिन्छौँ । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुङ्ग्याउँछौँ”,उनले भने ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले बताउनुभयो । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाउने उनले उल्लेख गरे । संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्