प्रेमको लय भाग–चार (कथा)
प्रेमराज दोधारमा छन् । काम पाउने कि नपाउने । उनी सोचिरहेका छन्, काम पाए भने धेरै इमानदारीपूर्वक काम गर्ने छु । मेसिन जसरी हात चलाउने छु । केटाहरुले गोलभेँडा टिपेझैँ फटाफट काम गर्ने छु । त्यहीँ कुराले उनी रातभरि राम्ररी निदाउन सकेनन् । उनलाई गाउँको याद झलझली आइरह्यो । आमा, बुबाको सम्झनाले सताइरह्यो । उनी जति जति निदाउन खोज्थे मधुको अनुहार उनको आँखामा आउँथ्यो । उनलाई सम्झिन नखोज्दा नखोज्दै उनी मधुलाई सम्झिन पुग्छन् ।
मधुसित बिताएका ती पलहरु कति मिठा थिए । बीचमा कोही थिएनन् मात्र प्रेम थियो । पहिलो रात जब मधु उनीदेखि डराइरहेकी थिइन् । उनी मधुलाई सुरक्षित अनुभव गराउन उनलाई स्पर्श समेत गरेनन् । मधुको छेउमा चुप लागेर सुतिदिए । बिहान उठ्नेबित्तिकै मधुले भनिन्,
यति इमानदार केटा मान्छे संसारमा हजुर बाहेक कोही हुनै सक्दैन ।
पछि मलाई छोडेर गइस् भने नि ?
मैले हजुरलाई छोड्ने ? सोच्न पनि सक्दिनँ ।
हजुर मेरो राम हुनुहन्छ । म हजुरकी सीता ।
मलाई राम नबना । प्रजाका खुसीखातिर आफ्नी गर्भवती श्रीमतीलाई वनवास पठाएको मलाई चित्तै बुझेको छैन । सीतालाई उनको साथ चाहिएको वेला उनले साथ दिएनन् ।
लोकलाज र मर्यादाको कारणले हो नि रामले सीतालाई अपनाउन नसकेका । मधुले भनिन् ।
लोकलाज र मर्यादा फरक कुरा हुन ?लोकलाजलाई खण्डन गर्न सकिन्छ । स्पष्टिकरण दिन सकिन्छ । व्याख्या गर्न सकिन्छ । तर्क दिएर हटाउन सकिन्छ । गलत काम गरे लोकलाज हुन्छ तर, मर्यादा कर्म र व्यवहारले स्यम् बनाउने कुरा हो । मर्यादा कसैले बनाइँदिदैन र कसैले झुटो आरोप लगाउँदैमा तोडिने कुरा होइन । मर्यादाको बाटो सधैँ सत्य र निष्पक्ष हुन्छ ।
भो म त सक्दिनँ हजुरसित लड्न । उनको कुरा सुनेर मधुले भनिन् ।
मधु हारेको जस्तो निन्याउरो अनुहार लगाइन् । त्यतिवेला प्रेमराजले मेरी प्यारी मधु भन्दै, मधुको गालामा पहिलो पटक चुम्बन गरे । मधुलाई चुम्बन गर्दा उनको ओठ र जिउ कामिरहेको थियो । मधु मुसुक्क हाँसेकी थिइन् । प्रेमराजप्रतिको विश्वासले मधु उनको हात स्पर्श गरिन् । गालामा चुम्बन गरिन् । धेरैबेर उनको न्यानो काखमा बाँधिरहिन् । अनुभव गरिरहिन प्रेमराजप्रतिको विश्वास ।
कुनै वेला प्रेमराजसित बाझ्न नखोज्ने र उनलाई छोड्न कल्पना समेत गर्न नसक्ने मधु आज उनलाई आधी बाटोमा अल्झाएर गएकी छिन् । पहिलेको कुरा सम्झेर उनको अनुहार उज्यालो भयो । लगतै अहिलेको परिस्थिति सम्झेर उनको मन खिन्न भयो । यस्तै यस्तै कुराहरु उनको दिमागमा खेलिरह्यो ।
रातभरि राम्ररी निदाउन सकेनन् । बिहानै उठेर खाना पकाए । छोरीलाई खाना खुवाए । स्कुल पोसाक लगाइदिए । कपाल कोरिदिए । छोरीलाई स्कुल पु¥याए ।
हिजो बोलाएको ठाउँमा कामका लागि गए । सारिकाले भनेको समय सम्झे, ९ः३० बजे काममा पुग्नुपर्ने थियो । उनी रेस्टुरा पुगे । भर्खर रेस्टुरा खुलेको थियो । कुकहरु र वेटरहरु पोसाक परिवर्तन गर्न पोसाक परिवर्तन गर्ने कक्षतिर दौडिरहेका थिए ।
उनले रेस्टुरामा सजिएका ¥याकहरुतिर हेरे, काँचको ¥याकमा, अस्टन, ड्रिउ स्टेट, ओलिभा, पाद्रोन, काहिबो, ड्याभिडोफ, मोन्तेक्रिस्तो, अरतुरो फियुन्ते र कारिल्लो सिगारहरु सजिएका देखे ।
छेउको अर्को ¥याकमा हवीस्कीका बोतलहरु, जे.डि., बल्याक लेबल, रेड लेवल, कारदु, सिवाश्रेरिगाल, फेमस ग्राउज, जे.बि.ले दराज सजिएको छ ।
बियरका बोतलहरु, सुपर बक, कार्लस वर्ग, हाइनेकेन, एस्त्रेला र सागरेसले सजिएका छन् ।
अर्को ¥याकमा भएका हुक्काहरु काचिम्बो मान्चा, समादो, सोलितेरासाउ, क्यानल र लेतो लहरै राखिएका छन् । हुक्काकाहरु हरिया, पहेँला, निला, खैरा रङका छन् । हेर्दै लोभलाग्दा ।
किचेनतिर छिर्छन्, थाल र कपहरु सजिएको देख्छन् ¥याकमा । काँटा, चम्चाहरुको रहर लाग्दो उभ्याइ । कचौराहरुको सजिएको बसाइ निकै सुन्दर देख्छन् ।
रेस्टुरा दुई तल्ले छ । तल र माथि हल जत्रा ठुलठुला कोठाहरु छन् । कोठाहरु काउच र टेबलले सजिएका छन् । काउन्टर पछाडि ठुलो आकारमा लेखिएको छ ओसावि । ओसावि लेखिएको अक्षरमा रातो र हरियो बत्ती बलिरहेको छ । उनले थाहा पाए रेस्टुराको नाम ओसावि हो । उनले रेस्टुराको सजावट लोभलाग्दो देखे । रेस्टुरा बाहिर धुम्रपान स्थान छुट्याइएको देखे ।
उनलाई तरकारी काट्ने ठाउँमा लगे । उनले किचेनभित्र देखे सालमोन, अलबाकोर, बिग आइ, ब्लु फिन, बुनितो, स्किपज्याक, टुना माछाहरु सुसि बन्न सजिएका छन ¥याकमा ।
उनको अगाडि तरकारीहरु र काक्रो, गाजर, मुला, लेटुस छन् ।
उनी चकु समात्छ । चपिङ बोर्डमा काक्रो राख्छन् । काट्न खोज्छन् । यताबाट उता चिप्लिन्छ । काक्रो काट्छन् तर बेढङ्गको । बाक्लो चाना । हेर्दै भद्दा, नमिलेको । त्यस्तो चानो ग्राहकलाई कसरी पस्किने ? चकु समात्न आएन उनलाई । हात पनि चलेन । हेर्दा कति सजिलो । काट्नुपर्ने मात्र त हो तर, काट्न कति गारो । उनले काट्नै सकेन । घरमा कहिलेकाही आमालाई चुलेसीमा तरकारी काटिदिन्थे । चकुले कहिले तरकारी काटेका थिएनन । भान्साको काम गर्न उनलाई गारो लाग्यो । उनले जीवनभरि भान्सा र घर धन्दामा बिताएकी आमालाई सम्झे । मनमनै भने, यति गारो काम आमाले जविनभरि कसरी गरिन् होला ।
उनी मनमनै सोच्छन्, विदेशमा गरी खान निकै गारो छ । कुनै पनि काममा सफल हुनका लागि, अभ्यास र साधनाको खाँचो हुन्छ । उनले कहिले चकुले तरकारी काट्ने अभ्यास गरेका थिएनन् । एकछिनको अभ्यासले साधना हुँदैन । साधना गर्न निरन्तर अभ्यास जरुरी हुन्छ । । उनले ठाने बरु भाँडा माझ्छु । उनले तरकारी काट्न छोडेर सारीकालाई भने, बैनी मलाई तरकारी काट्ने अभ्यास छैन । बरु म भाँडा माझ्छु ।
आउनुस् । भनेर उनी भाँडा माझ्ने ठाउँमा लगिन् ।
त्यहाँ एकजना मोटी, काली स्वास्नी मान्छे फटाफट माकिना दि लोइजा (भाँडा माझ्ने मेसिन) मा भाँडा हालिरहेकी थिइन् । उनलाई देखाउँदे भनिन्, उसको नाम मार्था हो । उसले तपाईँलाई काम गर्न सिकाइ दिन्छे । उसितै मिलेर तपाईले काम गर्नुपर्छ । मार्थाले भाँडा माकिना दि लोइजामा हालेर त्यसभित्र भाँडा माझ्ने तरल पदार्थ हालेर चलाइन । टिङ्रिङ्टिङ्रिङ् बज्दै भाँडाहरु घुम्न थाले ।
त्यसपछि उनले थाहा पाए भाँडा भाझ्ने मेसिन हुँदो रहेछ ।
उनले मार्थातिर हेरे, अग्ली, काली, मोटी, भद्दा जिउडालकी, बाक्लो कालो ओठ, ठुलठुला आँखा, चौडा निधार, घुमाउरो बाक्लो कालो कपाल र भुँडी लागेकी मार्था उनलाई निकै कुरुप लागिन् । उनले मनमनै भने, छि ! कस्तो घिन लाग्दो काली स्वास्नी मान्छे, हेर्दै डरलाग्दो । तर, उनी केही बोलेनन् ।
तरकारी काट्नुभन्दा उनलाई भाँडा माझ्न सजिलो लाग्यो ।
धोइसकेपछि प्रेमराजले माकिना दि लोइजाबाट भाँडाकुडा निकालेर बाटामा हाले । मार्थाले थाल, कचौरा, चम्चाहरु ¥याकमा सजाएर राखिन् । ग्राहकले खाना खाइसकेपछि जुठो थालहरु टिपेर ल्याउने, जुठो सोहोर्ने, टेबल सफा गर्ने र भाँडा धुने काम उनको थियो । कुनै ग्राहकले थालभरि जुठो छरेका हुन्थे । घिनै लाग्ने गरी खाएका हुन्थे । टेबलभरि जुठो लगाएका हुन्थे । उनलाई घिन लाग्थ्यो जुठो सोहोर्न तैपनि काम र छोरीको अनुहार सम्झेर उनले सोहोर्थे ।
काम गर्दागर्दै उनी टोलाउँथे । टोलाउँदै मनमनै सोच्थे, यस्तो काम गर्दिनँ । म भोलिदेखि काममा आउँदिनँ । यति सोच्दा छोरीको अनुहार र रित्तो खल्ती आँखामा आउँथ्यो । उनी फेरि काममा हात चलाउँथे फटाफट ।
काम गर्न घिन लागे पनि उनी खुसी थिए । भौतारिँदा भौतारिँदा तीन महिनापछि काम पाएका थिए । भौतारिएर काम पाउँदा गर्व लाग्ने । मन खुसी हुने । आत्मा सन्तुष्ट नभए पनि मन ढुक्क हुने । आफनो देशमा थाल धुने कामलाई हेयको दृष्टिले हेरेर त्यही काम विदेशमा गर्दा गर्व कहाँ लाग्छ र ? खुसी र सन्तुष्टि कहाँ मिल्छ र ? यी सबै काम भोकले गराउने रहेछ । गरिबीले गराउँछ । पैसामा गज्जवको तागत हुँदो रहेछ । पैसाले सबै काम गराउँछ । भोको पेट भर्न पैसाको तगतले गरिबलाई गुलाम समेत बनाउन पछि हट्दैन ।
बिहानदेखि काम गरिरहेका थिए । दिउँसो तीन बजे ब्रेक भयो दुई घन्टाका लागि । त्यतिवेला छोरीलाई फोन गरे । छोरी स्कुलबाट आइसकेकी थिइन । छोरीलाई भने,
खाजा र खाना पकाएर फ्रिजमा राखिदिएको छु । तताएर खा । अनि एक्लै बाहिर कतै नजा । पढेर बस् । म राति घर फर्किन्छु । निद्रा लाग्यो भने सुतेस् है छोरी । मलाई पर्खिनुपदैन ल ।
हस बाबा भनेर उनकी छोरीले फोन काटिन् ।
उनको मन वेलावेला आतिन्छ । छोरीलाई कहिले एक्लै छोडेका थिएनन् यति लामो समयसम्म । छोरीले राम्ररी खाइन् कि खाइनन । खाना ताताउन सक्छे कि सक्दिनँ । भोकै वस्ने त होइन । उनी विचलित हुन्छन् ।
दुई घन्टाको विश्रामपछि फेरि काम सुरु भयो । उनी दिनभरि जुठा थालहरु उठाए, जुठो सोहोरे, थालहरु धोए, र टेबलहरु सफा गरे । रातिको १२ बज्यो । उनी घर फर्किने वेला भयो । दिनभरि दिउँसोको अनुहार हेर्न पाएनन् ।
भाँडाकुँडा धुनेवेला पानी छुँदाछुँदा उनका हात र औँलाहरु सुनिएका छन् । सुनिएर कालो, निलो भएका छन् । पुरै जिउ दुखिरहेको छ । थकाइले लखतरान छन् ।
परदेश कस्तो शब्द रहेछ । परको देश । टाढाको देश । सुन्दा जाउजाउ लाग्ने । मनै रमाउने । केके पाउँछु लाग्ने । रमाइलो लाग्ने, सुखको कल्पना हुने । सुख पाइन्छ भन्ने सोच आउने । सुविधा भोग्छु भन्ने आसा जाग्ने । डलरे जीवन बिताउछु भन्ने अनुभव हुने । सामन्त बन्छु भन्ने घमन्ड जाग्ने । विदेश बस्छु भनेर अहम आउने तर यहाँ आएपछि वास्तविकता थाहा हुन्छ । गुलाम बन्नुपर्छ । गाली खाएर चुप लागेर काम गर्नुपर्छ । गुलाम त हो चुप लाग्नै प¥यो । ईशारामा चल्नै प¥यो । नत्र काम खोसिने भय हुन्छ । फर्काएर जवाफ दिन सकिँदैन । गाँस खोसिन्छ । विदेशमा रुखबाट पात टिपेसरी पैसा टिप्न पाइन्छ भनेर देशमा बस्ने आफन्तहरुलाई लाग्छ तर, पसिना बगाएको कसैले देख्दैनन् ।
आफ्नो देश झलझली आँखामा आइरहने । आफ्नो देश फर्किन मन लागिराख्ने तर फर्किन नसकिने । चाडपर्व झुकिएर पनि दैलामा नटेक्ने तर, मनाउन मन लाग्ने । साथी समूह, छरछिमेक, गाउँघर, बाआमा याद आइरहने तर, भेट्न नपाउने । काम नगरी खान नपाइने । निद्रा चपाएर मध्य रातसम्म काम गरिरहनुपर्ने । राति पनि रात नहुने , रातैभरि काम गर्नुपर्ने । पसिनाको खोलै बगाउनुपर्ने । थकाई बिर्सेर मेसिनजसरी जोतिएर काम गर्नुपर्ने । राति कामबाट घर फर्किने । सूर्योदय हुन नपाउँदै बिहानै उठेर फेरि काममै फर्किनुपर्ने । सुत्ने समयको ठिगान नभएको । राति अनिदो बस्नुपर्ने । भोक लागे पनि खाना खाने समय नभएको । परिवारको जिम्मेवारी र बोझले थिचिएको । रहरहरु मरेको, सपना डुबेको, आफ्नै बारे सोच्ने समय नभएको देश । यो हो परदेश ।
उनी घर फर्किनेवेला सारिकालाई सोधे,
बैनी भोलिदेखि काममा आऊँ कि नआऊँ ?
आउनुस् न दाइ ।
काम पक्का सम्झूँ ?
पक्का नै हो ।
मेरो काम कस्तो लाग्यो ?
राम्रै छ । तर, वेलावेला टोलाउनुहुन्छ । टोलाउनु चै भएन । काममा केन्द्रित हुनुपर्छ ।
म आफूलाई सुधार्छु ।
कार्ड बनेको छ कि छैन ?
छ । बनेको छ ।
मधुले उनको कार्ड बनाउन दिएर वसन्तसित गएकी थिइन् । एक महिनापछि उनको र छोरीको कार्ड पोस्ट बक्समा आएको थियो ।
सारीकाले भनेपछि उनले बल्ल थाहा पाए उनी वेलावेला टोलउँछन् । उनलाई पनि अनुभव हुन्छ । मधु वसन्तसँग लागेको सुनेदेखि उनी नेपालबाटै टोलाइरहेका थिए । उनी आफूलाई कति धेरै पल्ट नियन्त्रण गर्न खोजे तर सक्दैनन आफूलार्य नियन्त्रण गर्न । उनी आफूलाई जति बलिायो बनाउन खोजे पनि सकिरहेका छैनन । बाहिरबाट हेर्दा उनी धेरै बलियो खदेखिन्छन तर, मानसिक रुपमा उनी भित्रभित्रै टुटेका छन् । गलेका छन् । थाकेका छन् ।
उनी घर फर्किँदा रातिको १ बजिसकेको थियो । लखतरान भएर फर्के । छोरी सुतिसकेकी थिइन् । दिनभरि छोरीको अनुहार देख्न पाएका थिएनन । उनले मनभरि छोरीलाई हेरे । उनले छोरीको निधारमा चुमेँ । उनका गह भरिए । छोरीले पेटभरि खाइन् कि खाइनन भन्ने पीरले सतायो । उनी भान्सा कोठा गए । फ्रिज खोलेर हेरे । छोरीले खाजा र खाना फ्रिजबाट झिकेर खाइसकेकी थिइन । खाएर थाल समेत धोएर राखेकी थिइन् । छोरीले खाएको देखेर उनी ढुक्क भए ।
मध्य रातमा उनलाई केही खानै मन लागेन । भोक लागेको थियो तर खानै मन लागेन । दिनभरि जुठो सोहोर्दा उनको मन घिनाएको थियो । उनी केही नखाइ सुते ।
भोलि बिहान उठ्दा उनको पुरा जिउ दुखिरहेको थियो । जिउले आराम खोजिरहेको छ तर आवश्यक्ताले पैसा खोजिरहेको छ । मनले स्वास्नी खोजिरहेको छ । तर समयले काम खोजिरहेको छ । संवेदनाले छोरीको हेरचाह खोजिरहेको छ । तर, बाध्यताले परिश्रम खोजिरहेको छ ।
उनी उठेर खाना बनाए । छोरीलाई खुवाएर स्कुल पु¥याए । आफू काममा गए ।
काममा गएको एक हप्ता भइसकेको छ । उनलाई वेलावेला निकै थकाइ लाग्छ । काम गर्न समेत ऊर्जा नभएको अनुभव गर्छन् ।
यो समय उनको जीवन सिधैँ ओरालो ओर्लिँदै गरेको अुनुभव हुन्छ उनलाई वेलावेला । ओहो ! ओरालो ओर्लिन पनि कति सकस हुँदो हो । अचानक, उनको अगाडिका दृश्यहरु सबै धमिँलिँदै गइरहेको देख्छन् । भाँडा माझ्दै दिमागमा बल लगाएर पुराना कुराहरु सम्झिँन खोज्छन् । धमिलो देख्छन् । कसम सम्झिँन सक्दैनन् । उनी एक किसिमले तनावग्रस्त हुन्छन् ।
उनी अहिले ब्रेकमा छन् । उनी कफी पिइरहेका छन् । उनको अगाडि राखिएको एक्सप्रेसो कफीको चुस्की लिन्छन् । फेरि उनको मस्तिष्कले विगतलाई कोट्याउन चाहन्छ । तर, उनी भने आफूलाई अस्थिर बनाइराख्ने प्रयास गर्छन् ।
यो समय उनको मस्तिष्क व्यस्त तरिकाले चलिरहेको छ । कहि कतै रोकिने छाटकाट छैन । कफीको अर्को चुस्की लिन्छन् फेरि । उनी दोधारमा परेको अनुभव गर्छन् । उनी एक्लै भावुक हुन्छन् मनमनै । आफूलाई निकै सकसमा पाउँछन् । उनी मनमनै सोच्छन्, मेरो साथमा कफीको चुस्की र छोरीको साथ छ । बाँकी साथहरु त बेकार हुन् मैले जीवनको यो क्रममा यति बुझेँ ।
जतिवेला उनको मनमा कुरा खेल्छ उनी काम्छन् । उनी आफ्नो मन एकाग्र गर्छन् तर, सक्दैनन् । कफीको चुस्की लिन्छन् । आफूलाई सकेसम्म वर्तमानमा उभ्याउँछन् ।
लामो सास तान्छन् । हात, खुट्टा कटक्क दुख्छ । घाँटी यताउता फर्काउन सकस हुन्छ । जतिवेला पनि जिउ थरर कामिरहेको अनुभव हुन्छ । कम्मर पनि कटक्कै दुख्छ । धेरै बेर बस्न सक्दैन । लाग्छ उनको जिउ कुँजो परेर थला पर्छ कुनै वेला वा अचानक उनको सास बन्द हुने छ कुनै वेला । आफनै मृत्युको खबर उनलाई आफैँ भइरहेको छ जस्तो लाग्छ उनलाई । उनी यस्तो सैवेदनशील कहिले थिएनन् । उनी किन विक्षिप्त हुन्छन् ? यसरी विक्षिप्त बन्न सुहाउँदैन थाहा हुँदाहुँदै पनि वेलावेला निकै भावुक हुन्छन् ।
उनी आफूलाई बलियो बनाउन गीताको श्लोक मनमनै भटभट्याउँछन्
उद्धरेदात्मात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्त्रधुरात्मैव रिपुरात्मनः ।।
(मानिसले आफनो मनको सहायताद्धारा आफ्नो उद्धार गर्नुपर्छ । आफूलाई तल खस्न दिनुहुँदैन । यो मन बद्ध जीवको मित्र पनि र शत्रु पनि हो ।)
श्लोक मनमनै भटभटट्याएर आफैँलाई भन्छन्, म ठिक छु । मलाई केही भएको छैन । म खुसी छु । मनमनै उनी हाँस्न खोज्छन् । तर, हाँस्न सक्दैनन् । उनको मनले भन्छ, तेरो सबै खुसी खासिएको छ । कुन खुसी सम्झेर हाँस्छस् ? उनी झस्किन्छन् । आफ्नो टाउको छाम्छन् गाला छाम्छन् । आफूलाई चिमोट्छन् । दुख्छ । उनी मनमनै फेरि भन्छन्, म ठिकठाक छु ।
सबै कामदारहरु ब्रेकमा थिए । कोही जिम गर्न गए । नजिक घर हुनेहरु घर गए, कोही बजारतिर उनी भने कफीको चुस्कीमा एक्लै हराइरहेका छन् रेस्टुराको एउटा कुनामा बसेर । घोतलिरहे आफनै जीवनका रङ्हरु नियाल्न । निसन्देह अफनै विगतमा डुलिरहे । आत्था ! छाती पोल्छ । उनको छाती चरक्क चिरिन्छ । कस्तो घाउ हो यो । मलमपट्टीले पनि निको नहुने । । ओहो ! उनको टाउको घुम्न थाल्यो । रिंगटा लाग्ला जस्तै भयो । ओहो । मस्तिष्कका नशाहरु तीव्र प्रवेगमा चलिरहेका छन् । नियन्त्रण गर्न सकेका छैनन् । कस्तो गारो भाएको उनलाई ? एकाग्र गर्न सकेका छैनन् । टाढाटाढासम्म विगत मात्र उनको दिमागमा चलमलाइरहेको छ । ओहो ! उनको मस्तिस्क फुट्छ । उनलाई लाग्छ, उनी पक्षघातले थलिन्छन् होला । सबैथोक धमिलो मात्र देख्छन् ।
अचानक अघिकै गीताको श्लोक मनमनै उच्चारण गर्छन् ।
उनको दिमाग थोरै भए पनि स्थिर हुन्छ । रेस्टुरा अगाडिको व्यस्त सडकमा कारहरु व्यस्तै तरिकाले गुडिरहेका छन् । अगाडि भएको मुन्दियाल होटेलमा चहलपहल बढेको देख्छन् ।
अंश आउँदै गरेको देख्छन् । उनी आएपछि बल्ल उनलाई हेक्का भयो उनी दिमागमा कुरा खेलाउँदै बिताइसकेका रहेछन् । फकीको घुटकीमा आफूलाई मिसाउँदै समय गएको पत्तो पाएका रहेनछन् ।
अंश उनीभन्दा सानो उमेरको भएकाले उनी अंशलाई केटो नै भन्छन् । अंश भर्खरको ठिटो हो । उनी त्यही रेस्टुरामा वेटरको काम गर्छन् ।
उनलाई देख्नेबित्तिकै प्रेमराजले भन्छन्,
आइस् केटो ?
आएँ दाइ । घर बस्नै मन लागेन ।
अरुहरु खै त ?
आउने समय भएको छैन नि बुढा ।
दुई घन्टाको ब्रेक होइन ? भर्खर त एक घन्टा बित्यो । दिमागले काम गर्न छोड्यो कि के हो बुढाको ?
अंशको कुरा सुनेर उनी झस्किन्छन । गाला छाम्छन । घडीतिर हेर्छन् । बल गरेर सम्झिन्छन् । भर्खर १ घन्टा बितेको चाल पाउँछन् ।
उनका हात, खुट्टाका नशाहरु चलमलाएको अनुभव हुन्छ । उनी आफूलाई शान्त बनाउने प्रयास गर्छन् ।
के भन्दैथिस् केटो ? घर बस्नै मन लागेन रे किन ?
त्यो साला पाकिस्तानीलाई नकुटी छोड्दिनँ आज ।
भर्खर २६ वर्षका ठिटो हुन् उनी । ५ वर्षकी छोरी र श्रीमती छन् उनका ।
खुल्ला हृदयका केटा हुन उनी । सोझो पनि । मनमा जे हुन्छ लुकाउँदैनन् । सबै बोल्छन् साँचो । उनी अंशकको कुरा सुन्नुभन्दा सम्झाउन खोज्दै भन्छन्,
अर्काको देशमा कसैमाथि हात नउठा केटो । प्रहरी केस भयो भने कार्ड पाउन गारो हुन्छ । हात उठाउनेमाथि हत्याको केस लाग्छ यता । यो नेपाल होइन । होस गर् ।
म सुसाइड गर्छु दाइ । बाँच्नु छैन मलाई ।
धत् । नामर्द कुरो गरिस् केटो । मर्द होस् यति याद राख् ।
के गरुँ त दाइ ?उसलाई घरबाट निकालिदिऊँ ? कि म घर छोडूँ ? कि मेरो घर बिगार्नेको घाँटी रेटूँ ?
प्रेमराजले सम्झाउदै भन्छन् के भयो ? भन् ।
यो भन्ने कुरा हैन दाइ । यति मात्र बुझ्नुस् म तनावमा छु । तपाईँको जीवनमा यस्तो घटना घटेको भए पो थाहा पाउनुहुन्थ्यो ?
उनको कुरा सुनेर प्रेमराज केही बोल्दैनन् । उनको मन गरौ हुन्छ । उनको बारेमा अंशलाई के थाहा छ र ? उनी अल्लारे ठिटो । अंशको कुरा सुनेर मधुलाई सम्झिन्छन् । उनको मन भक्कानिन्छ ।
प्रतिक्रिया दिनुहोस्