४ आश्विन २०८१, शुक्रबार
खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार

मकवानपुर जिल्ला लिग फुटबल भदौ ७ गतेबाट

१३ साउन, हेटौँडा ।  मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको शनिबार बसेको कार्यसमितिको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताको भदौ ७ गतेबाट गर्ने निर्णय गरेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।

आर्थिक वर्ष २०८०।८१ मा एन्फा मकवानपुरमा नवीकरण गरेका क्लबले जिल्ला लिग प्रतियोगितामा सहभागिता जनाउने महासचिव सुवेदीले बताए । प्रतियोगितामा २८ वटा क्लबबाट ३५ बर्ष भन्दा कम उमेर समूहका खेलाडीहरु सहभागी हुन पाउने उनले बताए ।

बैठकले प्रतियोगिता दुईवटा खेलमैदानमा खेलाउने निर्णय गरेको छ । हेटौंडा–११, थानाभ¥याङस्थित खेलमैदान र हेटौँडा–६ स्थित गौरिटार रंगशाला र हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामध्ये दुई वटा खेलमैदानमा लिगका खेलहरु खेलाइने महासचिव सुवेदीले बताए ।

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमले असोज महिनामा हुने बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन् । २०७६ सालको कोरोनापछि हालसम्म जिल्ला लिग आयोजना हुन सकेको छैन । त्यसलाई एन्फा मकवानपुरले निरन्तरता दिन लागेको हो ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यसअघि भएको मकवानपुर जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो ।

प्रतियोगिताको खेल तालिका केही दिनमा सार्वजानिक गरिने जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता आयोजनाका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्