३१ भाद्र २०८१, सोमबार
अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार

मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोड बढी

१३ साउन, झापा । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।

नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय ९७ सङ्कलन भएको जानकारी दिए । एक वर्षमा रु दुई करोडको हाराहारीमा आन्तरिक आयश्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उनले बताए ।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व सङ्कलन गर्दै आएको छ । सम्पत्ति करतर्फ रु तीन करोड ४० लाख १९ हजार छ सय ४५ र अन्य सेवा शुल्कबापत रु दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ सङ्कलन भएको छ । व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर सङ्कलन गरिने उनले जानकारी दिए ।

मेचीनगरमा रहेका १५ वडामध्ये वडा नं ६ ले उक्त अवधिमा सबैभन्दा बढी रु एक करोड ७६ लाख २७ हजार सात सय एक राजस्व सङ्कलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । दोस्रोमा वडा नं १० रहेको बताउँदै यसले रु एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ राजस्व सङ्कलन गरेको उनले बताए ।

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नं १० ले रु ५९ लाख ७९ हजार ४३ सङ्कलन गरेको छ । नगरपालिकाले चालु आवमा रु १६ करोड ७७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए । चालु आवमा नगरको कूल बजेट रु दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्